१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्तत तातोपानीको विकल्प तातोपानी नै

सिन्धुपाल्चोक– भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सबैभन्दा पुरानो तातोपानी नाका बुधबारबाट सञ्चालनमा आउँदै छ। त्यो पनि चीनले नै बनाइ दिएको अत्याधुनिक सुख्खा बन्दरगाहबाट। तर कुन ‘मोडालिटी’मा नाका सञ्चालनमा आउन लागेको हो भन्ने चाहिँ खुलाइएको छैन। नाका पूरानै आकार र परिमाणमा व्यापार हुने गरी सञ्चालनमा आउन लागेको हो या नेपाललको हार्दिक, बिनम्रतापूर्वकको अनुरोधमा ‘बन्द नाका खुल्यो’ भन्नका लागि मात्र खुलाउन लागिएको हो?

पुरानै लयमा फर्काउने गरी खुलाउन लागिएको हो भने उत्तरी नाकामध्येमा तातोपानीको बिकल्प तातोपानी नै हो। मुलुकको केन्द्रीय राजधानी काठमाडौँलाई राजमार्गद्धारा सिधा जोड्ने, कम दुरी र भौगोलिक अवस्थाका कारण तातोपानीको बिकल्प अरु नाका हुन सक्दैन। चीनले अहिले भूकम्पअघिसम्म सहायक नाका रहेको रसुवागढीलाई तातोपानीको बिकल्पको रुपमा प्रोत्साहन गरिरहेको छ। यसमा उसको प्रष्ट स्वार्थ छ, ऊ रसुवागढी नाका भएर दक्षिण एशियामा आफ्नो व्यापार छेड्न चाहन्छ।

तर नेपाल–चीन व्यापार विस्तार, दीर्घकालीन सहज आपूर्ति गर्न र एउटा मात्र मुलुकसँगको व्यापार परनिर्भरता हटाउन तातोपानी जति अनुकुल नाका अरु छैनन्। भौगोलिक हिसावले तातोपानीको तुलनामा रसुवागढी झनै कठिन रहेको आयातकर्ताहरुको अनुभव छ। दुरीका हिसाबले पनि रसुवागढी तातोपानीभन्दा टाढा पर्छ। रसुवागढी–काठमाडौँ दुरी एक सय ७० किलोमिटर छ। रसुवागढी–केरुङ दुरी २६ किमि छ । केरुङ–रसुवागढी–काठमाडौँ दुरी एक सय ९६ किमि हुन आउँछ। तातोपानी नाका योभन्दा ७० किमि छोटो देखिन्छ। काठमाडौँबाट तातोपानीको दुरी एक सय १४ किमि छ भने खासासम्मको दुरी एक सय २६ किमि हुन आउँछ। तिब्बत–राजधानी काठमाडौं सबैभन्दा छोटो सडक दुरीले जोड्ने अरनिको राजमार्गलाई फास्ट ट्रयाक (द्रुत्ततरमार्ग) बनाएर हामी चीनसँग व्यापारिक लाभ लिन सक्छौँ। यसको पहिलो उपयुक्त विकल्प नजिकको तातोपानी नै हो।

नाकामा अत्याधुनिक सुख्खा बन्दरगाह बनिसकेको र नजिकै तिब्बतको सिगात्से सहरसम्म रेलमार्ग आइपुगेकाले एक सय १४ किमी दुरीको तातोपानी–काठमाडौं सडकलाई ‘फास्ट ट्रयाक रोड’को रुपमा विकास गर्न सकिन्छ। तर यसका लागि अरनिको राजमार्गलाई थप फराकिलो बनाउनु पर्ने भने हुन्छ। सडक विस्तार गर्न तातोपानीको भूगोल कमजोर र कठिन रहे पनि रसुवागढी जति होइन । काठमाडौं–बाह्रविसे ८८ किमि सडक अहिले पनि राम्रै छ। समस्या बाह्रविसे–तातोपानी २६ किमि दुरीमा मात्र हो।

बाह्रविसे–तातोपानी खण्ड मर्मत तथा सुधार गरे मात्रै आयात÷निर्यात निकै सहज हुन्छ। पूरै राजमार्गलाई चार लेनमा विस्तार गर्न सके सुनमा सुगन्ध थपिन्थ्यो।  भक्तपुरसम्मको सडक आठ लेनमा विस्तार भइसकेको छ भने त्यहाँबाट धुलिखेलसम्मको सडकलाई तत्काल चार लेनमा बिस्तार गर्न चीनले नै चासो दिइरहेको छ। त्यतिमात्र होइन भूकम्पअघि तातोपानीसम्मकै सडक सुधार र फराकिलो बनाउन उसैले प्रारम्भिक सर्वे गरेको थियो। राजमार्ग दायाँ/वायाँ २५–२५ मिटर क्षेत्राधिकार कायम गरी तातोपानी–काठमाडौं सडक फराकिलो बनाउने सरकारकै पूरानो योजना छँदै छ।

आधुनिक शैलीमा विकास भइरहेको सिगात्से तिब्बतको क्षेत्रीय कार्यालय रहेको सहर हो। तातोपानी नाकाबाट सबैभन्दा नजिकको सिगात्से खासाबाट चार सय ९१ किमि दुरीमा पर्छ । दुरी लामो रहेपनि फराकिलो र राम्रो सडक रहेकाले खासाबाट सवारी साधन छ–सात घण्टामै पुग्छन्। त्यहाँबाट करिब तीन सय किमि दुरीमा तिब्बतको राजधानी ल्हासा पर्छ। केही वर्षअघि नै त्यहाँ रेलमार्ग आइपुगेकाले सबैखाले आपूर्ति सम्भव छ। पेट्रोलियम पदार्थ र चामलबाहेक दक्षिणी नाकाबाट आपूर्ति हुने सबैखाले सामग्री चीनबाट आपूर्ति हुने सरकारी तथ्यांकले देखाउँछ। चीनले ठूलो परिमाणमा चामल र पेट्रोलियम पदार्थ तेस्रो मुलुक निर्यात गर्छ।

खासा–काठमाडौं एक सय २६ किमी दुरी चार–पाँच घण्टाको सवारी बाटो हो। सिगात्सेबाट एकै दिन काठमाडौंमा आपूर्ति सम्भव देखिन्छ । सिगात्से–काठमाडौं दुरी ६ सय १७ किमी हो। यो दुरी काठमाडौं–मेची नाकाभन्दा कम हो। काठमाडौं–मेची नाका दुरी ६ सय ७१ छ। ६७ प्रतिशत व्यापार हिस्सा बोकेको भारतबाट सबैभन्दा धेरै आपूर्ति हुने नाका बिराटनगर, बीरगंञ्ज र मेची नै हुन्। सिगात्से–काठमाडौं दुरी विराटनगर र मेची नाका भन्दा धेरै छैन्।

तातोपानी नाकाबाट वार्षिक २० अर्बको आयात र साढे २ अर्ब रुपैयाँको निर्यात व्यापार हुँदै आएको थियो। राज्यले वार्षिक पाँच अर्व रुपैयाँ राज्य पाउँथ्यो। पूर्वाधार अभावकै बीच हरेक चार–पाँच वर्षमा आयात, निर्यात र राजस्व असुली दोब्बर भएको भन्सार तथ्यांक छ। परम्परागत तातोपानी नाका हुँदै कृषि उपज र नुन सटहीबाट सुरु चीन–नेपाल व्यापारले छोटो समयमै ठूलो फड्को मारेको थियो। नेपालले बिगतमा निर्यात गर्ने कृषि उपज अहिले चीनबाटै आयात हुन्छ।

स्याउ, लसुन, प्याज, तयारी पोशाक, कपडा, इलेक्ट्रोनिक्स समान, गाडी, तिनका पार्टपूर्जा चीनबाट आयात हुने सरकारी तथ्यांक छ। पछिल्लो सयम चिनियाँ कम्पनीद्धारा नेपालमा निर्माण भइरहेका पूर्वाधारमा छड, सिमेन्ट, फलाम उतैबाट आयात हुन थालेका छन्। चीनले एक अर्ब २० करोड रुपैयाँ खर्चेर बनाइ दिएको उत्तरी नाकाको पहिलो बन्दरगाहबाट फाइदा लिन नेपालले अवसर चिन्न सक्नु पर्छ।

सिगात्सेबाट सिधै पेट्रोलियम पदार्थसमेत तातोपानी नै भएर आपूर्ति गर्न सम्भव छ। तर यसका लागि विद्यमान कानुनी अड्चन फुकाउनु र व्यापारिक सम्झौता भने गर्नु पर्ने हुन्छ। चीनबाट सरकारले नै पेट्रोलिम आपूर्ति गर्नु पर्छ भन्ने छैन। निजी क्षेत्रलाई दिने हो भने सुलभ र सहज प्रक्रियाद्धारा पेट्रोलियम आपूर्ति हुन्छ। त्यो भारतबाट आउने भन्दा सस्तोसमेत पर्न जान्छ।

 

प्रकाशित: १४ जेष्ठ २०७६ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App