१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्ध र महत्वबारे छलफल गर्ने बताएका छन्। ओली बिहीबार दिउँसो भारत जाँदैछन्। 

रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा सल्लाहकार भट्टराईले सपथ ग्रहणका क्रममा मोदी र ओलीबीच भेटवार्ता हुने जानकारी दिँदै नेपाल–भारत द्विपक्षीय महत्वका विषयमा सामान्य छलफल हुने बताए। नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ। 

सल्लाहकार भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्ने विश्वास दिलाए। उनले भने, ‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मत प्रतिवेदन तयार पारेका हौं। भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो। अब छिट्टै बुझ्नुहुन्छ।’

भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने विश्वास व्यक्त गरे। 

भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ। 

सिंहले मोदी प्रधानमन्त्री बन्नुपूर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भए पनि मोदी आएपछि सुदृढ भएको सुनाए। उनले भने, ‘पहिले हामी भारतसामू निरीह थियौं, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ। अहिले सम्बन्ध राम्रो छ।’

उनले नेपाल–भारत परराष्ट्र नीतिमा अब आन्तरिक राजनीति खेलौना बन्न नहुनेपनि सुझाव दिए। भारतसँगको सम्बन्धको विषयमा नेपालले राष्ट्रिय सहमति कायम गर्नुपर्ने पनि उनको धारणा छ।

प्रकाशित: १४ जेष्ठ २०७६ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App