१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वैदेशिक सहायता ४३ अर्ब घट्यो

काठमाडौं - दुई तिहाइको स्थिर सरकार आएपछि विदेशी दातृ निकाय तथा विकास साझेदारले नेपालमा लगानी बढाउने अपेक्षा गरिए पनि विदेशी सहायता प्रतिबद्धता घटेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता ४३ अर्ब ७० करोड रुपैयाँले घटेको हो।

यो वर्षको पहिलो आठ महिनामा एक खर्ब सात अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७५÷७६ अनुसार यो वर्ष १३ अर्ब ४९ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण सहयोगको प्रतिबद्धता आएको छ । वैदेशिक सहयोगमध्ये १२.६ प्रतिशत अनुदान र ८७.४ प्रतिशत ऋण छ ।

गत वर्ष सोही अवधिमा एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको थियो । सरकारले आफ्नै साधन, स्रोतले पूर्ण रुपमा विकासका आयोजना सञ्चालन गर्ने अवस्था नरहेकाले विदेशी ऋण तथा अनुदान लिएर विभिन्न परियोजना सञ्चालन गर्छ । वैदेशिक सहायता प्रतिबद्धतामा अनुदानको अंश क्रमशः घट्दै जाँदा सरकारले ऋणको अंश बढाउँदै लगेको छ । पछिल्ला वर्ष सरकारको ऋण उपयोग गर्न सक्ने क्षमतामा सुधार हुँदै जानु तथा कुल वैदेशिक सहायता उपयोगमा बहुपक्षीय सहायताको हिस्सा धेरै हुनुले पनि ऋणको अनुपात बढ्दै गएको हो ।
सरकार ऋण तिर्न सक्षम भएर अुनदान घटाउँदै ऋण बढाउँदै लगे पनि समग्र वैदेशिक सहयोगको प्रतिबद्धता घट्नुलाई विदेशीले वर्तमान सरकारलाई विश्वास नगरेको रुपमा हेर्न सकिन्छ । एक खर्ब सात अर्ब १८ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आए पनि सरकारले फागुनसम्म अनुदान र ऋण गरी ५० अर्ब ८४ करोड रुपैयाँमात्र उपयोग गरेको छ । गत वर्षको सोही अवधिमा एक खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता उपयोग भएको थियो । वैदेशिक सहायता परिचालनमा बजेट संयन्त्रबाट परिचालन हुने विकास सहायताको अंश ७७.९ प्रतिशत छ ।

सरकारले यो वर्ष भुक्तानी गर्ने खुद सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । फागुनसम्म संघीय सरकारले ५० अर्ब ४३ करोड बराबरको वैदेशिक ऋण प्राप्त गरेको छ भने वैदेशिक ऋणको साँवा भुक्तानीबापत नौ अर्ब २२ करोड र ब्याजबापत दुई अर्ब १२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

यस अवधिमा नेपाली रुपैयाँको अमेरिकी डलरसँगको विनिमय दरमा कमी आएका कारण २८ अर्ब ३० करोड बराबरको थप वैदेशिक ऋण दायित्व सिर्जना भएको छ ।  फागुनसम्म प्रतिव्यक्ति सार्वजनिक ऋण ३३ हजार एक सय ७४ रुपैयाँ छ । खुद वैदेशिक ऋण प्राप्तिमा वृद्धि भएको कारण प्रतिव्यक्ति सार्वजनिक ऋण २०७५ असारसम्मको तुलनामा फागुनसम्म ५.३ प्रतिशतले बढेको हो ।

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App