१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रज्वललाई डाक्टर बनाउने सपना अधुरो

बझाङ - ‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें। डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ।’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको।

आइतबार बेलुका काठमाडौंको घट्टेकुलाेस्थित कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो। उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ। ‘गरिबीको मार खेपिरहेको छु। भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें। अब कसरी कहाँबाट तिर्न हो ! आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए। ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु। सानो काम पनि गर्छु भन्थ्यो। पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ। अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो। काठमाडौं म जान सक्दिनँ।’

प्रज्वलकी हजुरआमा ९२ वर्षकी छिन्, बाबु विजयलाई पनि दमको व्यथाले करापेको छ। ‘नातिको चिन्ताले आमाको र छोराको चिन्ताले मेरो पनि बाँच्ने दिन अब धेरै छैन भन्ने लागेको छ,’ उनले भने, ‘म आफू एमाले समर्थक हुँ। छोरा माओवादी समर्थक हुँ भन्थ्यो। कुन समूह हो थाहा थिएन। आफनो कमाइले बसेको छ जस्तो लागेको थियो। छोरा त खराब काम पो गर्दो रहेछ।’

‘छोरालाई डाक्टर पढाएँ, आफू बिरामी हुँदा उपचार पाउँला भन्ने थियो। तर उपचारका नाममा उसको हातबाट एक चक्की सिटामोल पनि खान पाइनँ,’ शाहीले भने।

स्थानीय रिठे सिंहका नुसार प्रज्वलको पढाइ राम्रो थियो। पढेर जागीर खाएर ठूलो मान्छे बन भन्दा राजनीतिक परिर्वतन गर्ने लक्ष्यमा लागेको छु, व्यक्तिगत स्वार्थ छैन भन्थे। विप्लव समूह बझाङका सदस्य जोग कठायत (विश्वास)ले विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रज्वलको मृत्युले पार्टीमा ठूलो क्षति भएको बताए।

प्रकाशित: १४ जेष्ठ २०७६ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App