१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुर्खेतमा ‘बन्द’ भएनन् विद्यालय

सुर्खेत– सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यकर्ताको हत्या विरोधमा सोमबार देशभर बन्दको आह्वान ग-यो। बन्दको पूर्व सन्ध्यामा राजधानी काठमाडौंसहित विभिन्न जिल्लाहरुमा हिंसात्मक घटनाहरु भए। सुर्खेतमै सवारी साधनमाथि आक्रमण भयो। अरु क्षेत्रमा बन्दको पूर्ण प्रभाव देखिए पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सामुदायिक विद्यालयहरुमा भने त्यसको प्रभाव देखिएन्। यहाँका सामुदायिक विद्यालयहरु निर्बाध चले। 

‘जति ठूलो बन्द आह्वान गरिए पनि हामीले विद्यालय सञ्चालन गर्दै आएका छौं’, श्रीकृष्ण संस्कृत तथा साधारण माविका प्रधानाध्यापक यामलाल घिमिरेले भने, ‘अहिलेसम्म विद्यालयमा बन्दको प्रभाव पर्न सकेको छैन।’ २०७० सालमा यहाँका सामुदायिक विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो। त्यसयता यहाँका कुनै पनि विद्यालय राजनीतिक कारणले ‘बन्द’ गर्नुपरेको छैन। सुरुसुरुमा बन्दकर्ताहरुले फोन तथा भेटेरै बन्द सफल बनाइदिन ‘आग्रह’ गर्थे। पछिल्लो समय त्यस्ता आग्रह पनि कसैले गर्दैनन्।

‘शान्तिक्षेत्रको मर्म विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि हुन नदिने, राजनीतिक बन्दको असर विद्यालयमा पर्न नदिने भन्ने हो’, प्रधानाध्यापक घिमिरेले भने, ‘शान्ति क्षेत्र घोषणा गरिएयता एक दिन पनि राजनीतिक कारणले विद्यालय भन्द भएका छैनन्।’ सुरुसुरुमा बन्दका कारण विद्यालयमा विद्यार्थी संख्या कम हुन्थ्यो। ‘आजभोलि जुनसुकैको बन्दमा पनि विद्यार्थीहरु नियमित आउँछन्, सधैंझै कक्षाहरु सञ्चालन हुन्छन्’, जनमाध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक गोपीकृष्ण ढकालले भने, ‘विद्यालय हाताभित्र बन्दको कुनै प्रभाव देखिँदैन्।’ जनमाविले विद्यार्थी बोक्नका लागि बसको व्यवस्था गरेको छ। बन्दमा बस भने सञ्चालन नगरिएको उनले बताए।

सुरुसुरुमा भने बन्दमा विद्यालय सञ्चालन गर्दा समस्या भोग्नु परेको उनको अनुभव छ। ‘बन्दमा विद्यालय चलाउने भन्दै कतिपयले धम्की दिन्थे, विद्यार्थी आउन मान्दैनथें’, उनले भने, ‘अहिले अवस्था फेरिएको छ, विद्यार्थी आउँछन्, नियमित कक्षा सञ्चालन हुन्छ।’

सोमबारको बन्दमा यहाँका सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या नियमित जस्तै थियो। ‘छ वर्षयता हामीलाई कुनै पनि बन्दले प्रभाव पारेको छैन्’, निमित्त प्रधानाध्यापक ढकालले भने, ‘बन्दमा पनि निर्वाध विद्यालय सञ्चालन गरिरहेका छौं।’

प्रकाशित: १३ जेष्ठ २०७६ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App