१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चन्द्रागिरीमा सरकारी जग्गा हडप्ने मालपोत अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको चन्द्रागिरी नगरपालिकामा सरकारी जग्गा कब्जा गर्न खोज्ने ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

चन्द्रागिरीस्थित पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा व्यक्तिको नाममा गएपछि अख्तियारले मालपोत कार्यालय कलंकीका अधिकृत शिवप्रसाद रिमालसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २ करोड २१ लाख १० हजार रुपैयाँ मूल्यको साविकको बाडभञ्ज्याङ गाविस ३(क) कित्ता नम्बर १०१, क्षेत्रफल ९२–२–०–० को सरकारी जग्गा व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा गैरकानूनी रूपमा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको भेटिएको छ। 

भूमाफिया मनोवृत्तिले सयौं रोपनी सरकारी जग्गा व्यक्तिरकम्पनीका नाममा दर्ता गराई लिने खाने बदनियत राखी सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक राम कुमार सुयल थापासमेतले परिपञ्च मिलाई आफ्नै एकाघरकी दिदी मिना कुमारी थापालाई निजको भोगचलन र स्वामित्वमा नै नभएको १२ कित्ता सरकारी जग्गाको जग्गाधनी बनाएको कोइरालाले बताए।

उनका अनुसार उक्त जग्गाहरू लिने दिनेगरी घरायसी करारनामाको कागज बनाई उक्त कागजमा कित्ताको क्षेत्रफल तथा लिने र दिने गरेको रकमसमेत उल्लेख नगरी मिना कुमारी थापाको नाममा किर्ते गरी नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई अदालतमा पेस गरेको र मिलापत्रको नाममा मालपोत कार्यालय कलंकीका कर्मचारी समेतलाई अनुचित प्रभावमा पारी गैरकानूनी रूपमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ। 

सरकारी जग्गा निजी कम्पनीका नाममा जग्गाधनी दर्ता श्रेस्ता खडा गराउने कार्यमा संलग्न मालपोत अधिकृत रिमालसहित नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिना कुमारी थापा, हाउजिङ्ग कम्पनी सञ्चालक थापा, नक्कली जग्गाधनी मिना कुमारी थापाको वारेस दिपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। 

प्रकाशित: १३ जेष्ठ २०७६ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App