१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बर्दियाको राजापुर सबस्टेसन सञ्चालन, विद्युत् आपूर्ति सुधार हुने

काठमाडौं -– बर्दियाको राजापुर क्षेत्रको विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन  सञ्चालनमा आएको छ।नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको नौ करोड ३६ लाख रुपैयाँ लगानीमा निर्माण भएको ३३÷११ किलोभोल्ट (केभी) राजापुर सबस्टेसन बुधबारदेखि सञ्चालनमा आएको हो। यसबाट त्यस क्षेत्रका करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन्।

कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारदेखि सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुने लगायत समस्या थिए,’ उनले भने।

‘अब टिकापुरबाट ३३ केभीबाट राजापुर सबस्टेसन विद्युत् जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत्् आपूर्तिको विश्वनसीयता बढ्ने छ।’ राजापुर सबस्टेसनबाट तीनवटा फिडर राखिएको छ। त्यसमध्ये ११ केभीका दुईवटा फिडरबाट विद्युत् आपूर्ति गरिएको प्राधिकरणका नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए। प्राधिकरणले सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष ०७१÷७२ मा ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौता २०७२ को असारदेखि कार्यान्वयनमा आएको थियो। 

प्राधिकरणले विद्युत् पहुँच बढाउन, गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसन निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ।मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसन निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ।

चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शितलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलियालगायत सबस्टेसन सञ्चालनमा आइसकेका छन्।चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन्। प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरेको छ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायत काम गरिरहेको छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App