१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मन जित्दै सामुदायिक विद्यालय

रेखा भुसाल/बुटवल
मुक्तिप्रसाद न्यौपाने/पाल्पा
शमशेरविक्रम जिसी/प्युठान
दिनेश सुवेदी/रोल्पा

रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब्बरले प्रवेश परीक्षा दिएपछि विद्यालयले उच्च अंकका आधारमा भर्ना लियो। सुजन एक अंकले पछि परे।

केही वर्षअघिसम्म बुटवल र भैरहवाका बोर्डिङ स्कुलले भर्ना नलिएका विद्यार्थी मात्र सामुदायिकमा जान्थे। तर अचेल उत्कृष्ट भनिने निजी स्कुलका विद्यार्थीले समेत सामुदायिक विद्यालयमा भर्ना पाउन मुस्किल छ। सामुदायिक पनि उत्कृष्ट भनिएका बोर्डिङसँग प्रतिस्पर्धामा खरो उत्रन सक्छन् भन्ने उदाहरण बनेका छन् रुपन्देहीका केही विद्यालय। तिनै उदाहरणमध्येको एक हो– बुटवलको सामुदायिक कालिका उच्च मावि। चालु शैक्षिक सत्रमा विद्यालयले कक्षा १ देखि ८ सम्म ६ सय ६८ विद्यार्थी भर्नाका लागि आवेदन मागेको थियो। करिब तीन हजारको आवेदन प¥यो। चाप बढेपछि भर्नाका लागि जनप्रतिनिधि, कर्मचारी र नेताको दबाबसमेत आयोे।

प्रदेश ५ का केही सामुदायिक विद्यालय उत्कृष्ट भनिएका बोर्डिङसँग प्रतिस्पर्धामा खरो उत्रन सक्छन् भन्ने उदाहरण बनेका छन्।

भौतिक र शैक्षिक क्षमता अनुसार विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले आवदेन दिएका सबैलाई लिन नसकिएको प्रधानाध्यापक घनश्याम पाठकले बताए। भनाका लागि दबाब आउन थालेपछि शिक्षक कर्मचारीले मोबाइल बन्द गर्नुपर्ने अवस्था आएको पाठकले बताए। यो विद्यालयमा अहिले साढे ५ हजार विद्यार्थी अध्ययनरत छन। बाहिरी जिल्लाबाट समेत विद्यार्थी पढ्न आएका छन्। दशकअघिसम्म औषत विद्यालयको रुपमा रहेको यसले २०६५ देखि अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गर्दै शैक्षिक सुधार अभियान चलायोे। जुन अभियानले विद्यालयलाई देशकै अब्बल बन्न सघायो। यस विद्यालयमा कक्षा १ देखि १२ सम्म अंग्रेजी र नेपाली माध्यममा पढाइ हुन्छ। ५ वटा स्कुल बस छन। कक्षाकोठामा सिसी क्यामेरा छ। विद्यालयमा कम्प्युटर ल्याब, इलाइब्रेरी, सभाहल छ। खेलकुद र अतिरिक्त क्रियाकलाप पनि निरन्तर गराइन्छ।

शिक्षक, विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकबीच सहकार्य भएकै कारण उक्त विद्यालय छोटो समयमै शैक्षिक गुणस्तर उकास्न सफल भएको हो। कालिका उच्च माविले देशभरका ३० हजार सामुदायिक विद्यालयलाई पछि पार्दै २०७१ देखि ०७३ सम्म लगातार नेपाल प्रथम भई राष्ट्रिय शिक्षा पुरस्कार पायो। गत वर्ष तेस्रो पुरस्कार पाउन सफल भयो। प्राविधिक विषयतर्फ गत वर्ष पनि नेपाल प्रथम नै भयो। ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्ड पनि यसले प्राप्त गरेको छ। २०१८ सालमा स्थापना भएको यो स्कुलको भौतिक पूर्वाधार विकासका लािग गुरुयोजना बनाई काम सुरु भएको छ। झन्डै ८९ करोड रुपैयाँ लागतको गुरुयोजना अनुसार स्विमिङ पुल, छात्रावास, शिक्षक आवासगृह खेलकुद मैदान आदि निर्माण हुनेछ।

बुटवलकै अर्को सामुदायिक नवीन औद्योगिक कदरबहादुर रिता माविमा पनी चालु शैक्षिक सत्रमा एक सय नयाँ भर्ना कोटामा दुई हजार बढीको आवेदन प¥यो। यो विद्यालयले कक्षा ९ देखि ऐच्छिकमा सिभिल इन्जिनियरिङ विषय राखेको छ। जसमा विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए। बुटवलकै कान्ति मावि र मणिग्रामको शान्ति नमुना मावि पनि शैक्षिक गुणस्तर उकास्न लागिपरेका छन्। विद्यालय शिक्षा सुधारका लागि स्कुल प्रशासन र शिक्षकमा समर्पणभाव हुनुपर्ने बताउँछन् शान्ति नमुना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछाने। अभिभावकलाई साथमा लिएर विद्यालय सुधार कार्यक्रम सञ्चालन गर्न सके गुणस्तर उकास्न सकिने उनको अनुभव छ। विद्यार्थी केन्द्रित सिकाइमा ध्यान दिई गत वर्ष प्रदेश ५ को उत्कृष्ट विद्यालय पुरस्कार पाएको कान्ति माविले पनि बोर्डिङका विद्यार्थी तानेको छ। अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा सामुदायिकमै उपलब्ध भए चर्को शुल्क तिरेर बोर्डिङ स्कुलमा बालबालिका पढाउनुपर्ने बाध्यता नरहने अभिभावक गुणराज बस्नेतले बताए।

त्यस्तै दाङ घोराहीस्थित पद्मोदय पब्लिक मावि पनि जिल्लामा उत्कृष्ट बन्न सफल भएको छ। २००७ सालमा खुलेको सो विद्यालयमा हाल ७ हजार विद्यार्थी छन्। नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने यस विद्यालयमा कक्षा ९ देखि कम्युटर, अटो मोबाइल र इलेक्ट्रोनिक इन्जिनियररिङमा तीन वर्षे कोर्ष सञ्चालन गरिएको छ। सिटिइभिटीका कार्यक्रम पनि सञ्चालित छन। प्राविधिक विषयतर्फ विद्यार्थी अभिभावकको आकर्षण बढ्दै गएको प्रधानाध्यापक डा. कृष्णराज बिसीले बताए। निरन्तर उत्कृष्ट नतिजा हासिल गर्न सफल यो स्कुल गत वर्ष जिल्ला प्रथम भई प्रदेश सरकारबाट पुरस्कृत भयो।

पाल्पामा पनि तानसेनस्थित जनता नमुना माध्यमिक विद्यालय, माथागढी कसेनीस्थित दिव्यज्योति मावि, मदनपोखरास्थित दमकडा मावि, रामपुरस्थित रामतुल्सी मावि, दरैठाँटी र गंगा माविले शैक्षिक गुणस्तर उकासेका छन्। शैक्षिक गुणस्तर उकासेकै कारण यी विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको छ। जनता नमुना माविमा अहिले एक हजार ६ सय विद्यार्थी अध्ययनरत छन्। केही वर्षयता विद्यार्थीको चाप थेग्न मुस्किल भएपछि यो विद्यालयले पनि प्रवेश परीक्षा लिने गरेको छ। नेपालीसँगै अंग्रेजी माध्यमबाट गुणस्तरी शिक्षा दिन थालेपछि विद्यार्थीको चाप बढेको प्रधानाध्यापक मेघराज पौडेलले बताए।

रोल्पा कोटगाँउस्थित श्री नेपाल माविको नतिजा २०७० सालमा शून्य थियो। एसएलसीमा सामेल सबै विद्यार्थी फेल भएपछि व्यवस्थापन समिति र विद्यालय प्रशासन मिलेर शैक्षिक सुधार कार्यक्रम ल्याइयो। अभिभावक र शिक्षकबीच मासिक अन्तरक्रिया गर्न थालियो। शिक्षकले नियमित पाठ योजनासहित कक्षा लिनुपर्ने नियम बनाइयो। व्यवहारिक र प्रभावकारी शिक्षणका लागि तालिम तथा शैक्षिक सामग्रीको व्यवस्था गरियो। सुधारका कारण २०७३ सालमा यो विद्यालय जिल्लामा उत्कृष्ट भयो। २०७४ सालमा कक्षा ८ को नतिजामा नगरप्रथम हुन सफल भयो। शैक्षिक सुधारसँगै विद्यालयमा विद्यार्थी संख्या पनि बढ्दै गएको छ। शैक्षिक सुधार उकास्न लागिपरेका प्रधानाध्यापक कृष्ण पुनले बजेट अभावमा भौतिक पूर्वाधार विकासमा समस्या भएको बताए। रोल्पाकै बालकल्याण नमुना मावि पनि जिल्लामा नमुना बन्दैछ।

यस्तै प्युठान बागदुलास्थित जनता मााविमा पनि अंग्रेजी माध्यमबाट पढाउन थाललिएपछि यस वर्ष विद्यार्थी भर्ना चाप थेग्न मुस्किल भयो। जसका कारण प्रवेश परीक्षा लिनुपरेको विद्यालयले जनाएको छ। बाँकेको खजुरास्थित ज्ञानोदय मावि पनि नमुना बनेको छ। पटकपटक उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत यो विद्यालय गत वर्ष एसइईमा जिल्ला प्रथम भयो। उत्कृष्ट नतिजा आउन थालेपछि बोर्डिङका विद्याथी यो स्कुलप्रति आकर्षित भएको प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए। विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन थालेपछि यसले विद्यालय सुधारका लागि सरकारबाट ६० करोड रुपैयाँको गुरुयोजना पाएको छ। त्यस्तै नेपालगन्जको धम्बोजी मावि पनि उत्कृष्टतर्फ लम्किँदै गएको छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App