१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसाय गर्ने वातावरण बिग्रियो

काठमाडौं-नेपालमा पछिल्ला वर्षहरुमा सहज रुपमा व्यवसाय गर्ने वातावरण बिग्रंदै गएको एक प्रतिवेदनले औंल्याएको छ। 

विश्व बैंकको डुइङ बिजनेस २०१७ प्रतिवेदन अनुसार नेपाल गत वर्षको ९९ स्थानबाट झरेर १०७ मा आइपुगेको छ । सन् २०१५ को डुइङ बिजनेस प्रतिवेदनमा नेपाल ९४औं स्थानमा थियो । नेपाल आफ्नै कारणले सहज व्यवसाय गर्ने वातावरणमा खस्के पनि दक्षिण एसियामा भुटान (७३) पछि दोस्रो स्थानमा रहेको पनि प्रतिवेदनले जनाएको छ ।

नेपालमा सहज व्यवसाय गर्ने वातावरण बिग्रनुमा नियामक निकायहरुको प्रमुख हात रहेको विश्व बैंकले जनाएको छ । नेपालका नियामक निकायहरुको वातावरण तथा विश्वका उदाहरणीय नियमनहरुको बीच कोसौंको फरक रहेको भन्दै प्रतिवेदनले नेपालमा निर्माणको स्वीकृति लिने काम धेरै झन्झटिलो र खर्चिलो रहेको जनाएको छ ।

तर नेपालले हालैका दिनमा आसिकुडा वल्र्ड तथा विद्युतीय डाटा प्रयोगमा ल्याएकोले भने व्यवसायको वातावरण केही सहज भएको प्रतिवेदनले औंल्याएको छ । विदेशी लगानीकर्ताले विश्व बैंकको डुइङ बिजनेस प्रतिवेदनका आधारमा विभिन्न राष्ट्रका लगानी गर्ने वा नगर्ने निर्णय लिने गरेकोले पनि यो प्रतिवेदन वैदेशिक लगानी भिœयाउन महŒवपूर्ण मानिन्छ । दक्षिण एसियामा नेपाल अझै अन्य मुलुकभन्दा सहज लगानी गर्ने वातावरण भएको देशमा परेकोमा यसले वैदेशिक लगानीकर्तामाझ सकारात्मक सन्देश जाने भए तापनि पछिल्ला वर्षहरुमा राजनीतिक संक्रमणकाल लम्बिदै जाँदा व्यावसायिक वातावरणमा खलल पुगेको जनाइएको छ।

यस्तो अवस्थामा आन्तरिक लगानीकर्ता हतोत्साहित भएका छन् भने वैदेशिक लगानीकर्ता दोधारमा परेको अवस्था छ।  त्यसैले सरकारले पुराना नियम–कानुन छिटो संशोधन गरेर समयसापेक्ष तथा अन्य नेपालकै स्तरका देशभन्दा राम्रो लगानीको वातावरण तयार गरेर, लगानीकर्ताको लगानी सुरक्षा तथा  प्रतिस्पर्धी अर्थतन्त्र बनाएमात्र नेपालमा वैदेशिक लगानी भित्रिन र प्रतिवेदनमा नेपालको स्थिति सुध्रन सक्छ।

 

 

 

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App