१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्दिरा गान्धीपछि निरन्तर पूर्ण बहुमत पाउने मोदी दोस्रो नेता

काठमाडौं – भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बाजी मारेको छ। बिहीबार सार्वजनिक नतिजाअनुसार ५ सय ४२ सिटमध्ये भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवार ३ सय ५२ स्थानमा विजयी भएका छन्। तीमध्ये भाजपाका उम्मेदवार ३ सय ३ स्थानमा विजयी भएका छन्। भाजपाले सन् २०१४ मा सम्पन्न लोकसभा निर्वाचनमा २ सय ८२ सिटमा जित हासिल गरेको थियो भने भाजपा नेतृत्वको गठबन्धन ३ सय ३६ सिटमा विजयी भएको थियो।

यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धी भारतीय राष्ट्रिय कंग्रेस ५२ सिटमा सीमित भएको छ। सन् २०१४ को निर्वाचनको तुलनामा ८ सिट बढी जितेको कंग्रेसले मत संख्या बढाए पनि अपेक्षाकृत प्रगति भने गर्न सकेन। कांगेस नेतृत्वको गठबन्धनले यसपटक ८७ स्थानमा जित हासिल गरेको छ। अन्य दलहरुले एक सय ३ सिटमा जित हासिल गरेका छन्।

९० करोड मतदाता रहेको भारतमा ११ अप्रिलमा सुरु भएको निर्वाचन विभिन्न ७ चरणमा गरी २३ मेमा सम्पन्न भएको थियो। यसपटक लोकसभा निर्वाचनमा ६७ प्रतिशत मत खसेको छ। यो भारतको लोकसभा निर्वाचनको इतिहासमै सबैभन्दा बढी मत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसपटक लोकसभा निर्वाचनमा महिला पनि ठूलो संख्यामा सहभागी भएको बताइएको छ।

इन्दिरापछि मोदी
भारतको लोकसभा निर्वाचनमा इन्दिरा गान्धीपछि नरेन्द्र मोदी निरन्तर दुईपटकसम्म पूर्ण बहुमत प्राप्त गर्ने दोस्रो नेता बनेका छन्। जवाहरलाल नेहरुको युगपछि सन् १९७१ मा उनकी छोरी इन्दिरा गान्धीले दोस्रो पटक बहुमत प्राप्त गरेकी थिइन्। सन् १९७१ मा भएको पाचौं लोकसभा निर्वाचनमा इन्दिरा गान्धीको नेतृत्वमा भारतीय राष्ट्रिय कंग्रेसले कुल ५ सय १८ सिटमध्ये ३ सय ५२ सिटमा जित हासिल गरेको थियो। त्यसअघि सन् १९६७ मा भएको चौथो लोकसभा निर्वाचनमा पनि गान्धीको दलले कुल ५ सय २० सिटमा २ सय ८३ सिटमा जित हासिल गरेको थियो।

त्यसयता लगातार दुईपटकको निर्वाचनमा विजयी प्राप्त गर्ने नेताका रुपमा नरेन्द्र मोदी देखिएका छन्। भाजपाले दोस्रो पटक प्राप्त गरेको यो सफलताका लागि प्रधानमन्त्री मोदीको मुख्य भूमिका रहेको विश्लेषण गरिएको छ। मोदीले हिन्दुत्व र राष्ट्रिय सुरक्षाको विषयलाई उठाएर निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको भारतीय विश्लेषकहरुको तर्क छ। भारतमा अहिले पनि बेरोजगारी, आर्थिक विकास र कृषि संकटजस्ता विषय चुनौतीका रुपमा देखिँदै आएका छन्।
नाममात्रको विपक्षी

लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वको गठबन्धनले उल्लेख्य सिट हासिल गर्न नसकेपछि विपक्षी नाममात्रको हुने देखिएको छ। प्रमुख विपक्षीका रुपमा रहेको कंग्रेस राहुल गान्धीको नेतृत्वमा निर्वाचनमा होमिएको थियो। कंग्रेस नेतृत्वको गठबन्धन कमजोर हुनुका पछाडि राहुल नै मुख्य कारण मानिएको छ। राहुलले भाजपाविरुद्ध अघि सारेको रणनीति असफल हुनु नै कंग्रेसको हारको कारण भएको विश्लेषण गरिएको छ। कंग्रेसले निर्वाचनका प्रत्यासीको चयनमा गरेको ढिलाइ र अन्तिम समयमा प्रियंका गान्धीलाई अघि सार्नु पनि असफलताको कारण मानिएको छ। यसपटक अखिलेश यादव र मायावतीको महागठबन्धन र ममता बनर्जीको त्रिणमूल कंग्रेस पनि भाजपासामु टिक्न सकेनन्।

कंग्रेसलाई दक्षिणबाट राहत
निर्वाचन परिणाममा निकै कमजोर देखिएको कांग्रेसलाई दक्षिणी राज्यले केही राहत दिए। कंग्रेसले जित हासिल गरेका अधिकांश क्षेत्र दक्षिण भारतका रहेका छन्। कंग्रेसले जित हासिल गरेका ५२ मध्ये ३० सिट दक्षिण भारतका छन्। दक्षिण भारतका केरल, तमिलनाडु, कर्नाटक र तेलंगानाबाट कांग्रेसले जित हासिल गरेको छ। पन्जाबबाट पनि कंग्रेसले केही सिट जितेको छ। उत्तर प्रदेश र बिहारमा कांग्रेसले एक सिट पनि जित्न सकेन। विधानसभा निर्वाचनमा विजय पाएका छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा पनि कंगे्रसले हार बेहोरेको छ। गान्धी परिवारको गढ मानिने अमेठीमा समेत कंग्रेस अध्यक्ष राहुल गान्धीले हार बेहोरेका छन्। अमेठीमा सन् १९९९ पछि कंग्रेसले पहिलो पटक हार बेहोरेको हो। राहुल भाजपा नेत्री स्मृति इरानीसँग पराजित भएका हुन्। इरानी मोदी नेतृत्वको मन्त्रिमण्डलकी सदस्यसमेत हुन्।

नेपाली नेतालाई मोदीको धन्यवाद

भारतीय प्रधानमन्त्री मोदीले आफूलाई जितको अवसरमा बधाई दिने नेताहरुलाई धन्यवाद दिएका छन्। उनले छिमेकी तथा मित्र राष्ट्रका सरकार प्रमुख, राष्ट्रप्रमुख र नेताहरुलाई सामाजिक सञ्जाल ट्विटरमार्फत व्यक्तिगत रुपमा धन्यवाद दिएका छन्। मोदीले नेपाली नेताहरुलाई समेत बधाई दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।

भाजपाको जितप्रति बधाई दिएका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, राप्रपाका अध्यक्ष कमल थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मोदीले ट्विटरमार्फत धन्यवाद फर्काएका छन्।

प्रकाशित: ११ जेष्ठ २०७६ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App