१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

३२ केन्द्रबाट कोरिया भाषा परीक्षा

काठमाडौं - रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ। परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ।

सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ। परीक्षार्थीको सजिलोको लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ। आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ।

एक दिनमा दुईवटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ। १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ। दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ।

अभिमुखीकरणका क्रममा परीक्षार्थीलाई मर्यादित रूपमा परीक्षामा सहभागी हुन आग्रह गरिनेछ। परीक्षाको मर्यादा उल्लंघन गर्ने परीक्षार्थीलाई सार्वजनिक अपराध मुद्दा चल्ने भएकाले मर्यादित ढंगबाट परीक्षामा सहभागी हुन निर्देशक खनालले सबैमा आग्रह गरे। गत वर्षको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सरकारले ५० परीक्षार्थीमाथि सार्वजनिक अपराध मुद्दामा कारबाही गरेको थियो।

२० को दरखास्त रद्द
शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ। परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको निर्देशक खनालले जानकारी दिए। दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन्। दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो। कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ। अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरूको दरखास्त रद्द गरिएको हो।

सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार तीन सय ७६ युवा सहभागी हुँदैछन्। त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार चार सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार आठ सय ८९ जनाले परीक्षा दिनेछन्। भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो। दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ।

कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ।
कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ। दुई सरकारबीच स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया भइरहेका छन्। एक दशकमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन्। सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार नौ सय ९६ जना कोरिया गइसकेका छन्।

हालसम्म कोरियामा ५८ हजार सात सय नौ नेपालीले रोजगारीको अवसर पाएको इपिएस शाखाले जनाएको छ। इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउँछन्। त्यस्तै सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउँछन्। त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन्।

सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ। भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको सय अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ। जसमा पढ्ने २० र सुन्ने २० गरी ४० वटा प्रश्न हुनेछन्। दुवैमा २५–२५ गरी ५० मिनेटको परीक्षा हुनेछ।

भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन्। क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ। दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको सय अंक र कृषि तथा पशुपालन क्षेत्रको एक सय १० हुनेछ। भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित हुने बताइएको छ।रासस

प्रकाशित: १० जेष्ठ २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App