१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अदालतमा गुन्डागर्दी गर्नेलाई उपस्थित हुन आदेश

काठमाडौं - अदालत परिसरभित्र गुन्डागर्दीको शैलीमा कानुन व्यवसायी र उनका सहयोगी एवं पक्षलाई मार्नेसम्मको धम्की दिने दुईजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार बयानका लागि उपस्थित हुन आदेश दिएको छ। जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले झापाका विनोद मैनाली र शिवहरि मैनालीलाई अदालतमा गुन्डागर्र्दी गर्नुको कारणसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो। आइतबार अधिवक्ता अनन्तराज लुइँटेल र उनका सहयोगी एवं मुद्दाका पक्षलाई मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि मैनालीद्वयविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो। अंशचलन मुद्दामा लुइँटेलले फरक शारीरिक क्षमता भएका ज्येष्ठ नागरिक गोपालप्रसाद मैनाली र बालकृष्ण मैनालीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएका छन्।

‘मागदाबीबमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनुनपर्ने हो, सो सम्बन्धमा प्रत्यर्थीहरू विनोद मैनाली र शिवहरि मैनालीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं लिखित जवाफसहित उपस्थित हुनू भनी निवेदन र आदेशको प्रतिसहितको सूचना दिई लिखित जवाफ परेपछि वा म्याद नाघेपछि नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ। बहसका क्रममा नेपाल बार एसोसिएसनका पूर्वकेन्द्रीय सदस्य अधिवक्ता सागर विष्टले अदालतमै गुन्डागर्दी गरी प्रत्यर्थीहरूले गम्भीर अपराध गरेकाले प्रहरीमार्फत उनीहरूलाई पक्राउ गरी पेस गर्न माग गरेका थिए।

शारीरिक अपांगतासहित फरक क्षमताका आफ्ना काकाहरूलाई अंश दिनुनपर्ने दाबी गर्दै मुद्दा दायर गरेर कष्ट दिएको आरोप लगाउँदै मार्ने धम्की दिने शिवहरि क्याम्पसमा अध्यापक हुन्। आइतबार अदालतमा गुन्डागर्दीमा उत्रिएका उनीहरूले प्रधानमन्त्रीसँग आफूहरूको सीधा सम्पर्क रहेकाले मुद्दा फिर्ता नलिए वकिलको ल फर्ममा आगो लगाइदिने, लाइसेन्स खारेज गराइदिने, वकिल र मुद्दाका संरक्षकका पतिको हत्या गर्नेलगायत धम्की दिएका थिए।

मुद्दा दर्ता गराएर आफूहरूलाई कष्ट दिएको भन्दै उनीहरूले अधिवक्ता लुइँटेल र पक्षलाई ले मुद्दा फिर्ता लिन दबाब दिएका थिए। अदालतका फाँटवाला कर्मचारीका सामुन्नेमै उनीहरूले मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएको भन्दै दायर भएको अवहेलना मुद्दामा मैनालीद्वयलाई हदैसम्मको कारबाहीको माग गरिएको छ। बोल्न नसक्ने तथा आ“खाको ज्याति गुमेका फरक शारीरिक क्षमताका आफ्ना भाइहरूलाई अंश नदिई घरनिकाला गरेको तथा गाईगोठालोका रूपमा जीवन गुजारा गर्नुपरेको दाबीसहित ८० वर्र्षीया संरक्षक हिमादेवी उप्रेतीले अंश मुद्दा दायर गरेपछि उनी र उनका पति भरतप्रसाद उप्रेतीलाई समेत मैनालीद्वयले काट्ने तथा मार्ने धम्की दिँदै आएको अवहेनाको निवेदनमा उल्लेख छ। पटकपटक फोन गरी एवं नचिनेका मान्छेहरू खटाएर मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि उप्रेतीले आफ्नै माइतीविरुद्ध कारबाही र शान्तिसुरक्षा माग गर्दै जिल्ला प्रहरीमा उजुरी दर्ता गराइसकेकी छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App