१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पलेँटीमा दार्जिलिङ र सिक्किमको संगम

काठमाडौं – यो महिनाको ‘पलेँटी शृंखला’मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ। यसपटक दार्जिलिङबाट संगीतकार शान्ति ठटाल तथा गान्तोकका गायिका विमला सेन्चुरी प्रधान र अन्जली प्रधान एकै समयमा पलेँटीमा प्रस्तुत हुँदैछन्।

शान्ति नेपाली संगीतका सबै विधामा क्रियाशील संगीतकार हुन्। उनले फुटकर गीतबाहेक काव्य, संगीत वा क्यान्टटा, गीति नाटक, फिल्मलगायत विविध विधामा सफलता पाइसकेकी छन्। विमला र अञ्जली संगीतकार ठटालकै सानिध्यमा रहेर निखारिएका कण्ठ शिल्पी हुन्। विमलाले गाएको फिल्म ‘बाँच्न चाहनेहरू’ को गीत ‘नयाँ नयाँ घामको किरण’ र ‘मिठो मिठो तिम्रो साथ मिठो’ हुन्। यी गीतमा ठटालकै संगीत छ। शान्तिले सन् २००६ को पलेँटीमार्फत् आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन्।

‘पलेँटीमार्फत् शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नु जत्तिकै हो। उहाँको सिर्जनशीलताले सधैँ क्रियाशील हुन प्रेरित गर्छ। आठ दशक पार गरिसक्नुभएको शान्ति दिदीको सिर्जनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ’, पलेँटी संयोजक आभासले भने।

यसपपटक मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन्। यिनको मप्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ।

आगामी जेठ १७ गतेबाट शुरु हुने शान्तिसँगको पलेँटी ३ दिनसम्म चल्नेछ। कार्यक्रममा पलेँटीलाई सुरुदेखि नै सञ्चालन गर्दै आएका संगीतकर्मी आभासले शान्तिसँगको संगतका सन्दर्भसहित आफ्ना सम्झना सुनाएर अन्तरसंवाद गर्नेछन्। ‘मैले शान्ति दिदीलाई सन् १९९४ मा पहिलोपटक भेटेको हुँ। त्यसयता कैयौंपटक उहाँसँग सांगीतिक, साहित्यिक र सामाजिक विषयमा विचार विमर्श भए। उहाँमा मैले कहिल्यै नकारात्मक सोच पाइनँ। त्यही सकारात्मक भावको आभाष यसपालीको पलेँटीमा पनि फैलने छ ’, उनले भने।

गायिका तथा संगीतकार ठटालले आफु रहेकपटक पलेँटीमा आउँदा एउटा उर्जा भेट्ने गरेको बताइन्। ‘यसपपटक मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन्। यिनको मप्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ’, उनले भनिन्।

गायिका विमलाले शान्तिसँग संगत गर्न नपाएको लामो समय भएको स्मरण गर्दै सारा घरेलु नियमितताबाट टाढा रहेर संगीतमा रमाउन पाउँदाको खुशीको सीमा नरहेको बताइन्। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने पलेँटीमा शान्ति र वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समाल देखिनेछन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App