१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

दमास्कस - सिरियाको सरकारी फौजले इड्लिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। सो हवाई आक्रमण रुसी सेनाले गरेको आशंकासमेत गरिएको छ। बेलायत आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपवास सकिएर साँझपख मानिस बजारमा भेला भएका बेला आक्रमण भएको थियो।

यस्तै, मंगलबार रातिदेखि विद्रोही लडाकुले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान सहर आसपास गरिएको अर्को हवाई आक्रमणमा १८ जना घाइते भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। बुधबार भएका पछिल्ला भिडन्तमा ५२ जनाको ज्यान गएको छ जसमा सरकारी फौजतर्फ २९ जना र विद्रोहीतर्फ २३ जना रहेका छन्। गत मे ८ मा सरकारी फौजले नियन्त्रणमा लिएका धेरैवटा सहरलाई पुनःविद्रोहीले कब्जामा लिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

मुस्लिम जिहादीको प्रभुत्व रहेको इड्लिब क्षेत्रलाई रुस, सिरिया र टर्कीबीच गत वर्ष सेप्टेम्बरमा भएको सहमति बमोजिम मध्यवर्ती क्षेत्रका रूपमा लिइएको छ तर पछिल्ला साता सिरियाली फौज र रुसी सेनाले बमबारी गरिरहेका छन्। इड्लिब प्रान्तको अधिकांश भू–भाग हायात तहरिर अल–शाम समूहले कब्जामा लिएको छ। साथै यही समूहले छिमेकी अलेप्पो, हामा र लाटाकीयाका केही भूभागमा पनि कब्जा गरेको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गत अप्रिल ३० यतामात्र एक सय ८० जनाभन्दा बढी नागरिकको मृत्यु भइसकेको जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला भिडन्तका कारण दशौं हजार मानिस आफ्ना घर छाडेर अन्यत्र भागेका छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App