१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भाजपा गठबन्धनको ऐतिहासिक जित

बिहीबार साँझ भाजपा मुख्यालयमा जाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै मतदाता, कार्यकर्ता र शुभेच्छुक।

काठमाडौं - भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले कुल पाँच सय ४२ सिटमध्ये तीन सय ४९ मा अग्रता कायम गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

कंग्रेस आईले नेतृत्व गरेको विपक्षी गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स (युपिए) ले आफ्नो हार स्वीकार गरिसकेको छ। यो गठबन्धनको नेतृत्व कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले गरेका छन्। मत गणनाअनुसार युपिएले ९१ स्थानमा अग्रता लिएको छ। ६ सातासम्म विभिन्न सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनलाई प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी राजनीतिको जनमतसंग्रहका रूपमा हेरिएको थियो। ९० करोड मतदाता रहेको भारतमा यो निर्वाचनमा करिब ६० करोडले मतदान गरेका छन्। भारतमा सरकार गठनका लागि लोकसभामा दुई सय ७२ सिट जित्नुपर्छ।

१९ मेमा सातौं चरणको मतदान सकिएसँगै सार्वजनिक विभिन्न एक्जिट पोलले पनि भाजपा नेतृत्वको गठबन्धनले तीन सय ५० सिट जित्ने अनुमान गरेका थिए। चुनावी परिणाम र अग्रता हेर्दा एक्जिट पोलको नतिजाले मेल खाएको छ। आफ्नो पक्षमा ऐतिहासिक नतिजा आएपछि प्रधानमन्त्री मोदीले ट्विट गर्दै सबैलाई धन्यवाद दिएका छन्। राजधानी नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विपक्षी गठबन्धनका नेता राहुल गान्धीले आमनिर्वाचनमा आएको नतिजालाई स्वीकारेका छन्। उनलाई केन्द्रीय मन्त्री एवं भाजपा नेत्री स्मृति इरानीले पराजित गरेकी हुन्। सन् २००४ देखि अमेठीबाट लोकसभामा निर्वाचित हुँदै आएका राहुल यसपटक त्यहाँबाट पराजित भएका हुन्। उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट दशकौंदेखि गान्धी परिवारका सदस्य निर्वाचित हुँदै आएका थिए। उनले पार्टी अध्यक्षका रूपमा हारको सम्पूर्ण जिम्मेवारी लिने बताएका छन्। राहुल केरलाको वायनाद निर्वाचन क्षेत्रबाट निर्वाचन लडेको छन्। त्यहाँ उनले तीन लाख बढी मतले अग्रता लिएका छन्।

लोकसभा ५४५ सदस्यीय छ। तर निर्वाचन आयोगले भेलोरको निर्वाचन खारेज गरिदिएकाले अहिले ५४२ सिटमा मात्रै निर्वाचन भएको हो। लोकसभामा दुई सदस्य राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ। प्रारम्भिक मतगणनाअनुसार भाजपा गठबन्धनले ३४९ स्थानमा अग्रता लिएको छ।। निर्वाचन आयोगले साँझ १० बजेसम्म आधिकारिक रूपमा घोषणा गरेअनुसार भाजपा एक्लैले ९१ सिटमा जित हासिलसहित २१२ सिटमा अग्रता लिएको लिएको छ। कंग्रेस आईले २४ सिटमा जितसहित २७ सिटमा अग्रता लिएको छ।

जित सुनिश्चित भएसँगै दिल्लीस्थित भाजपाको मुख्यालयबाहिर आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतीय जनतालाई शिर निहु¥याएर सम्मान प्रकट गरेका थिए। उनले जितलाई घमण्डका रूपमा नलिने पनि बताए। सम्बोधनकै क्रममा मोदीले तीनवटा प्रतिबद्धतासमेत व्यक्त गरे। आउने दिनमा बद्नियतले कुनै काम नगर्ने, आफ्नो व्यक्तिगत स्वार्थमा नलाग्ने र देशवासीको हितमा समर्पित रहने प्रतिबद्धता उनले गरेका छन्। उनले आफूले केही गलत गरे यिनै प्रतिबद्धतामार्फत् कस्नसमेत देशवासीलाई आग्रह गरेका छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App