१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरु

काठमाडौं- अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहिबार आफै बयान गर्न उपस्थित हुन आदेश दिएको छ।

जिल्ला न्यायाधीश दिपक कुमार खरेलको इजलासले झापाका विनोद मैनाली र शिवहरी मैनालीलाई अदालतमा गुण्डागर्दी गर्नुको कारण सहित सात दिन भित्र आफैं उपस्थित हुन आदेश दिएको हो।

आइतबार अधिवक्ता अनन्तराज लुईंटेल र उनका सहयोगी एवं मुद्दाका पक्षलाई मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि मैनालीद्धय विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो। अंशचलन मुद्दामा लुईंटेलले फरक शारिरीक क्षमता भएका जेष्ठ नागरिक गोपाल प्रसाद मैनाली र बालकृष्ण मैनालीलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएका छन्।

 ‘मागदावी बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुन नपर्ने हो सो सम्बन्धमा प्रत्यर्थीहरु विनोद मैनाली र शिवहरी मैनालीलाई बाटोको म्याद बाहेक सात दिन भित्र आफैं लिखित जवाफ सहित उपस्थित हुनु भनी निवेदन र आदेशको प्रति सहितको सूचना दिई लिखित जवाफ परेपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु,’ आदेशमा भनिएको छ।

बहसका क्रममा नेपाल बार एशोसिएशनका पूर्व केन्द्रिय सदस्य अधिवक्ता सागर विष्टले अदालतमै गुण्डागर्दी गरी प्रत्यर्थीहरुले गंभीर अपराध गरेकाले प्रहरीमार्फत उनीहरुलाई पक्राउ गरी पेश गर्न माग गरेका थिए।

शारिरीक अपांगता सहित फरक क्षमताका आफ्ना काकाहरुलाई अंश दिननपर्ने दावी गर्दै मुद्दा दायर गरेर कष्ट दिएको आरोप लगाउदै अधिवक्ता लुईटेल र उनका सहयोगी एवं पक्षलाई मार्ने धम्की दिने शिवहरी पेशाले क्याम्पसमा अध्यापन गर्छन।

आइतबार अदालतमा गुण्डागर्दीमा उत्रिएका उनीहरुले प्रधानमन्त्रीसंग आफूहरुको सिधा सम्पर्क रहेकाले मुद्दा फिर्ता नलिएमा वकिलको ल फर्ममा आगो लगाईदिने, लाइसेन्स खारेज गराइदिने र वकिल र मुद्दाका संरक्षकका पतिको हत्या गर्ने धम्की दिएका थिए।

प्रकाशित: ९ जेष्ठ २०७६ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App