१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङ कारागार बेथिति प्रकरण: छानबिन समिति गठन

धादिङ - धादिङ कारागारमा भएको अनियमितताका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। बुधबार धादिङबेंसीमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुनकुमार शर्मा गुरागाइंको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

जेठ ८ गते नागरिक दैनिकमा ‘धादिङ कारागारका चरम बेथिति: होटलका कोठामा भेटिन्छन् कैदी’ भन्ने शीर्षकमा समाचार छापिएपछि प्रहरी नायब उपरीक्षक (प्रनाउ) प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरी बैठकले समिति गठन गरेको छ। बैठकको निर्णयअनुसार समितिले कैदीले गर्ने अनैतिक क्रियाकलाप र कारागारमा हुने बेथितिको सत्यतथ्य छानबिन गरी प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउनेछ।

कैदीलाई उपचारको बहानामा होटलसम्म पु¥याउने प्रहरीको पहिचान गरी कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भागीरथ पाण्डेयले बताए। ‘कारागारमा हुने बेथितिका विषयलाई लिएर छानबिन समिति गठन गरेका छौं,’ प्रजिअ पाण्डेयले भने, ‘समितिले दोषी पत्ता लगाउने र कारबाहीका लागि सिफारिस गर्नेलगायत विषय समावेश गरेर प्रतिवेदन पेस गर्नेछ।’

सहायक प्रजिअ अर्जुनकुमार शर्मा गुरागाइंको संयोजकत्वमा प्रनाउ प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरी समिति गठन।

धादिङ कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आइरहेकाहरू उपचारको बहानामा होटलमा भेटिन थालेको र रक्सी खाँदै बाहिर पहरा दिइरहेका प्रहरीको भिडियो सार्वजनिक भएपछि रहस्य खुलेको थियो। कैद सजाय भुक्तान नहुन्जेलसम्म अभियुक्तहरू उपचारबाहेक कुनै पनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम हुँदाहुँदै सो कारागारका कैदीबन्दी सदरमुकामका होटलमा मस्ती गरिरहेको भेटिएपछि प्रशासनको पनि ध्यान गएको छ।

कारागारभित्र अत्यन्तै महँगो मूल्यमा दैनिक उपभोगका सामान विक्री भइरहेको र नाइकेहरूको दादागिरी भएपछि यसअघि कैदीले सामूहिक रूपमा कारागार व्यवस्थापन विभाग कालिकास्थान डिल्लीबजार काठमाडौंलाई न्यायिक छानबिनका लागि पत्र पठाएका थिए। नाइके कैदीबन्दीको दमन र शोषणले पीडित भएको भन्दै दमनकारी नाइकेहरूमाथि कारबाही गरी अन्यत्र स्थानान्तरण गराई पीडित कैदीबन्दीमाथि न्याय दिलाउन माग गरेका छन्।

नाइके कैदीबन्दीले अन्य कैदीसँग ब्ल्याकमेल गर्ने, पैसाको बार्गेनिङ गर्ने र मुद्दा मिलाइदिन्छु भनी पैसा असुल्ने गरेका छन्। बाहिर सयमा पाइने रक्सी भित्र पाँच सय पर्ने, ५० रुपैयाँमा पाइने तरकारीको मूल्य दुई सय ५० तिर्नुपर्ने, मुढा बनाउने कामदारको पैसा चौकीदारको बैंक अकाउन्टमा जम्मा गर्नेलगायत समस्या भोग्दै आइरहेकाले न्यायका लागि छानबिन गर्न पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App