१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्चर इङ्लिस विश्वकप टोलीमा

लन्डन– इङ्ल्यान्ड क्रिकेट टोलीका प्रमुख छनोटकर्ता एड स्मिथले मंगलबार तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अद्भुत क्षमताकै कारण इङ्ल्यान्डको विश्वकप टोलीमा समावेश गरिएको बताएका छन्।

विश्वकपका लागि इङ्ल्यान्डको अन्तिम टोलीमा समावेश गर्दै छनोटकर्ता स्मिथले आर्चरलाई महत्त्वपूर्ण खेलाडीको रूपमा राखिएको बताएका हुन्। बार्बाडोसमा जन्मिएका आर्चरलाई घरेलु मैदानमा खेलिएका तीन एकदिवसीय खेलमा गरेको प्रदर्शनका आधारमा विश्वकपको अन्तिम टोलीमा  छनोट गरिएको हो। पाकिस्तानविरुद्धको खेलमा आफूलाई प्रमाणित गरेपछि आर्चरले दोस्रो चरणबाट विश्वकपको ढोका खोल्न सफल भए।

लर्ड्समा मंगलबार सार्वजनिक भएको १५ सदस्यीय टोलीमा आर्चरले स्थान बनाउँदा अर्का तीव्र गतिका बलर डेविड विली भने बाहिरिएका छन्। भेट्रान बलर विलीले ४६ एकदिवसीय क्रिकेट खेलका छन्। पाकिस्तानविरुद्ध इङ्ल्यान्डले ४–० को जित निकाल्दा विली र आर्चर दुवै टोलीमा समावेश थिए। तर, आर्चरले मात्र छनोटकर्ताको मन जित्न सफल भए।

पार्ट टाइमर स्पिनर एवम् ब्याट्सम्यान जोय डेन्लीलाई ह्याम्पसायरका बलर लियाम डासनले प्रतिस्थापन गरेका छन्। इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्डको प्रारम्भिक विश्वकप टोलीमा डेन्ली र विली दुवै थिए। उनीहरूसँगै ओपनिङ ब्याट्सम्यान एलेक्स हल्स पनि दोस्रो चरणबाट भने बाहिरिएका छन्। यद्यपि, काँधमा चोटका कारण उपचार गराइरहेका अदिल रसिद भने टोलीमा फर्किएका छन्।

हल्समाथि प्रतिबन्धित औषधी सेवनका कारण प्रतिबन्ध लागेपछि पाकिस्तानविरुद्धको खेलमा रहेका जेम्स भिन्सले अवसर पाएका छन्। यता, इङ्लिस बाबु र क्यारेबियन आमाका छोरा रहेका आर्चरलाई विश्वकपको टोली समावेश गर्नेबारे मतभेद भए पनि अन्ततः उनले अवसर पाए। ‘हामीले पाकिस्तानविरुद्धको खेलमा आर्चरको क्षमता देखिसकेका छौं,’ प्रमुख छनोटकर्ता स्मिथले भने,‘उनीसँग निकै क्षमता छ। जुन हामी सबैले पनि देखिसकेका छौं। उनको बलिङको गति, बाउन्स र क्षमता नै छनोटका आधार हुन्।’

अन्तर्राष्ट्रिय खेलमा अनुभवको कमी भए पनि आर्चरले विश्वकपका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्। ‘यो अवसरका लागि विगत सात वर्षदेखि प्रतीक्षारत थिएँ,’ २४ वर्षे आर्चरले भने,‘तर गत डिसेम्बरमा आशाविपरीत भयो। यद्यपि, अब अवसर पाइसकेको छ। आफ्नो क्षमता प्रदर्शनका लागि त्यो क्षणको प्रतीक्षामा छु।’ आर्चरले आफू पूर्ण रूपमा तयार रहेको बताउँदै जस्तोसुकै दबाब पनि सहजै पार गर्ने दाबी गरेका छन्।

भिन्न कोणबाट बलिङ गर्न सक्ने क्षमता भएका विलीलाई प्रतिस्थापन गरेका आर्चरले स्लोअर गतिबाटै आफूलाई प्रमाणित गर्न सफल भए। आर्चर १४५ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन्। प्रारम्भिक छनोटअघि पनि विलीलाई आर्चरले प्रतिस्थापन गर्ने चर्चा चलेको थियो। यद्यपि, विलीले सुरुआतमा सफलता प्राप्त गरेका थिए। तर, अन्तिम चरणमा भने आर्चर सफल भए।

विश्वकपअगाडि इङ्ल्यान्डले आगामी शनिबार अस्ट्रेलिया र सोमबार अफगानिस्तानसँग खेल्नेछ। आगामी ३० मेमा ओभलमा दक्षिण अफ्रिकाविरुद्ध हुने खेलबाट इङ्ल्यान्डले विश्वकपको यात्रा सुरु गर्नेछ। यस पटक इङ्ल्यान्डको विश्वकप टोलीमा इयान मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्ट्रो, जोस बटलर, टम कुरान, लियाम डसन, लियाम प्लङकेट, अदि रसिद, जोय रुट, जेसन रोय, बेन स्टोक्स, जेम्स भिन्स, क्रिस वक्स र मार्क वुड छन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App