१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भन्सारमा बदमासीः चेकजाँच नै नभई यसरी नेपाल भित्रियो एक कन्टेनर सामान

राजश्व अनुसन्धान कार्यालय बुटवलमा सोमबार बिना भन्सार नेपाल प्रवेश गरेको मालबाहक कन्टेनरका सामान चेकजाँच गरिदै । तस्बिरः रेखा/नागरिक

रेखा भुसाल/मोहम्बद हविव

बुटवल– भन्सार कर्मचारी, भन्सार राजश्व गस्ती र तस्करको मिलेमत्तोमा बेलहिया नाकाबाट जे पनि भित्र्याउन सम्भव छ भन्ने कुराको उदाहरण मंगलबार भैरहवा नाकामा भएको एउटा घटनाले पुष्टि गरेको छ। भन्सार नाकामा तीन तहको सुरक्षालाइ पार गर्दे बिना भन्सार लाखौं मुल्यका सामान बोकेको कन्टेनर नेपाल भित्रिएपछि त्यस्तो तथ्य उजागर भएको हो।

सोमबार दिउँसो करिब साढे ४  बजेपछि बेलहियाबाट नेपाल पसेको कन्टेनर भन्सारको मुल गेट अगाडी केहीबेर रोकियो। भन्सार यात्रु शाखामा पनि केही बेर रोकिए झै गर्यो। तर त्यहाँका भन्सार कर्मचारी र राजश्व गस्तीले त्यसलाई नदेखेझैं गरे। कन्टेनर सरासर मुल सडकबाटै भन्सार नपसी  करिब १ किलोमिटर  भैरहवा तर्फ आएपछि बल्ल नेपाल प्रहरीको नजरमा पर्यो। जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालबाहक कन्टेनरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको कन्टेरमा भारतीय युनिचार्म कम्पनीका सयौं काटुर्न डाइपर छन्। बरामद सामानको मुल्य यकिन भइनसकेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानाले नागरिकन्यूजलाई बताए ।

विशेष सुराकीको आधारमा सो कन्टेनरलाइ नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। भन्सार नपसी करिब एक किलोमिटर नजिक आइसकेको कन्टेनरलाई रोक्दा समेत अटेरी गरेको र जबरजस्ती रोक्नु परेको प्रहरी श्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले भन्सारभित्र नपसी मालबाहक कन्टेर भैरहवातर्फ गएको भन्ने सुचना पाएपछि चेकजाँच गरी गाडीलाइ नियन्त्रणमा लिएको बताए। जिपिएस लकिङ्ग गरिएको मालबाहक कन्टेनरका चालकसँग कुनै कागजातसमेत नभएको एसपी थापाले  बताए।

सो कन्टेनरका चालक भारतीय नागरिक बलबन्द सिंहले आफुसँग आएको दलालसँग नक्कली र सक्कली दुइ थरी कागजात भएको बताए। बेलहिया नाका पस्ने बेला दलालले ती दुवै थरी कागजात लिएको र आफनो पछीपछि आउ भनेकाले उसैलाइ पछयाउदै भन्सार नपसी सिधै आएको बलबन्दले संचारकर्मीहरुलाइ बताए। चालक बलबन्दको यो भनाइले भन्सार, सुरक्षा गस्ती र तस्करको मिलोमतोमा सिंगै कन्टेनर बिना भन्सार नेपाल भित्र्याइएको प्रष्ट हुन्छ।

यो भन्सारमा स–साना झोले पोके व्यापारीलाई निकै कडाइ गरिन्छ। नेपालमा मल नपाएर भारतबाट दुइ चार किलो मल बोकेर आउने किसानलाइ कारबाही गरिन्छ। तर दिनदहाडै १० चक्के मालबाहक कन्टेनर भन्सारमै नपसी मुल गेट अगाडीबाट  निस्फिक्री नेपाल भित्र्दा चाल नपाउनुलाई सामान्य गल्ती मान्न नसकिने बताउँछन सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने। ‘एकातिर राजश्व चुहावट भइरहेको छ। अर्कोतिर व्यापार व्यवसायमा स्वस्थ प्रतिस्पधा हुन सक्दैन’ अध्यक्ष न्यौपानेले भने। भन्सार कर्मचारी र सुरक्षाको मिलेमतो बिना यस्ता चोरी तस्करी सम्भब नभएकाले तस्करी रोक्न यस्ता घटनाको निश्पक्ष छानबिन गरी दोषिलाइ कारबाही गर्नु पर्नेमा उनले जोड दिए।

भैरहवा भन्सारका प्रमुख कमलराज भट्टराइले भन्सारभित्रै नपसी मुल गेट सामुन्नेबाट कन्टेर पास भएको स्वीकार गरे। बिना भन्सार कन्टेनर पास हुनुमा चेकिङ्गमा बस्ने कर्मचारी र सशस्त्रको कमजोरी देखिएको भन्दै छानबिन हुने बताए।  सशस्त्रको भन्सार राजश्व गस्ती डण्डाका डिएसपी गोबिन्दबहादुर खातीले भन्सारको मुल गेटमा खटिने सशस्त्रलाइ सामान चेक गर्ने अधिकार नभएको र सुरक्षा प्रदान गर्ने काम मात्रै रहेको बताए। राजश्व अनुसन्धान कायालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाले अनुसन्धान प्रक्रिया सुरु भइसकेको बताए। कन्टेनरका चालकलाई अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए। चालकलाइ सोमबारै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ  पुर्जी जारी गरेको थियो। राजश्व अनुसन्धान बुटवलले कन्टेनर नेपाल प्रवेश गरेको समयमा भन्सार गेट, नाकाको चेक पोष्ट र यात्रु शाखामा खटिएका कर्मचारी, सशस्त्र र नेपाल प्रहरीको नामावली र सिसि टिभि फुटेज मगाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App