१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चार अर्ब लगानीमा प्युठान सिमेन्ट

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ मा रहेको प्युठान सिमेन्ट उद्योग। तस्बिर : नागरिक

काठमाडौं - करिब चार अर्ब रुपैयाँ लगानीमा प्युठान सिमेन्ट उद्योग सञ्चालनमा ल्याइएको छ। क्लिंकर उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट प्रालिले यसै साताबाट ‘प्युठान ब्रान्ड’मा सिमेन्ट उत्पादन सुरु गरेको हो। प्युठान सिमेन्टका कार्यकारी निर्देशक ताराप्रसाद पोखरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेर सिमेन्ट बजारमा पठाइएको छ। ‘प्लान्ट निर्माण सम्पन्न गरेर टेस्ट उत्पादन गरिरहेका छौं,’ पोखरेलले भने, ‘केही समयपछि पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौं।’

शुभश्रीले सिमेन्ट प्लान्टका लागि एक सय ३६ करोड रुपैयाँ र क्लिंकरका लागि दुई अर्ब ६६ करोड रुपैयाँ गरी  चार अर्ब दुई करोड रुपैयाँ लगानी गरेको छ। उद्योगको दैनिक सिमेन्ट उत्पादन क्षमता १२ सय टन रहेको पोखरेलले बताए। क्लिंकर उत्पादन क्षमता दैनिक नौ सय टन छ।

यसले जर्मनीको उच्च प्रविधि प्रयोग गरेर ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरेको छ। ‘जर्मनको अत्याधुनिक भिआरएम प्रविधि प्रयोगमा ल्याएका छौं,’ उनले भने, ‘उच्च प्रविधि प्रयोग गरेका गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सक्षम भएका छौं।’ जर्मनीको भिआरएम प्रविधि विश्वमै लोकप्रिय रहेको उद्योगको दाबी छ। ‘यो प्रविधि निकै महँगो भएकाले यहाँका अरु उद्योगले प्रयोग गरेका छैनन्,’ उनले भने, ‘दीर्घकालीन फाइदाको लागि बलियो र टिकाउ मेसिन प्रयोगमा ल्याएका छौं।’

कम्पनीले गुणस्तर कमजोर हुन नदिन उच्चस्तरीय प्रयोगशाला राखेको छ। प्रतिस्पर्धी बजार भएकाले गुणस्तरलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ। सिमेन्टको प्लान्ट अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ मा छ। अग्नि सिमेन्ट उत्पादन गरिरहेको समूहको नेतृत्वमा प्युठान सिमेन्ट उद्योग स्थापना गरिएको हो। अग्नि सिमेन्टसहित एनआरएन र सिटिजन्स बैंकको नेतृत्वमा नेपाल बैंकलगायतले लगानी गरेका छन्। प्युठान अल्ट्रा सुपर फाइन र डबल रिफाइन गरिएको पोखरेलले बताए। ‘सिमेन्टमा हुनुपर्ने सबै गुण प्युठानमा छ,’ उनले भने, ‘गुणस्तर परीक्षण गरेर बजारमा पठाएका छौं।’

शुभश्रीले सिमेन्टका लागि आफ्नै क्लिंकर प्लान्ट पनि सञ्चालन गरेको छ। कम्पनीको प्रतिदिन नौ सय टन क्लिंकर उत्पादन गर्ने क्षमता छ। प्युठान र दाङको चुनढुंगा क्लिंकरमा प्रयोग भएकाले गुणस्तरीय रहेको कम्पनीको दाबी छ। ‘चुनढुंगा पनि गुणस्तरीय छ,’ उनले भने, ‘आफ्नै चुनढुंगा खानी प्रयोग गरिरहेका छौं।’ गुणस्तरीय चुनढुंगा भएकाले सिमेन्टले बजारमा राम्रो प्रभाव पार्ने विश्वास लिएका छन्।

उक्त सिमेन्टले साबिकका मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल क्षेत्रलाई लक्ष्य गरेर बजार विस्तार गर्ने रणनीति बनाएको छ। ५३ ग्रेडको सिमेन्ट उत्पादनका लागि प्रक्रिया अघि बढाएको उद्योगका निर्देशक राजकुमार पोखरेलले बताए। ‘गुणस्तर चिह्नका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ उनले भने। क्लिंकर उत्पादन क्षमता पनि विस्तार गर्ने उद्योगको तयारी छ। क्लिंकर उत्पादनको लागि थप लगानी बढाउन लागेको हो। सिमेन्ट उद्योगमा दुई सय ५० जनाले रोजगारी पाएका छन्। शुभश्रीले उत्पादन गरेको क्लिंकर अग्नि सिमेन्टले प्रयोग गर्दै आएको छ। अग्नि सिमेन्टका लगानीकर्ताको नेतृत्वमा प्युठानमा पनि लगानी छ।

केही वर्षअघि सम्म आयात हुने क्लिंकर पछिल्लो समय सिमेन्ट उद्योग आफैंले उत्पादन गर्न थालेका छन्। स्वदेशमै उत्पादन भएपछि अर्बौं रुपैयाँ बिदेसिनबाट रोकिएको छ। यसले व्यापार घाटा कम गर्न सघाउ पुगेको छ। उद्योग पूर्णरुपमा वातावरणमैत्री छ। प्रविधिमैत्री यो उद्योग पूर्ण अटोमेसनमा सञ्चालन गरेको कम्पनीले जनाएको छ। करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले ग्रिनफिल्ड साइट निर्माण, धुवाँ, धुलो नियन्त्रणका लागि दुई सय पिस ब्याक फिल्टर जडान गरेको छ। उद्योगले सामाजिक दायित्वअन्तर्गत पूर्वाधार निर्माणमा पनि सघाएको छ। सडक निर्माण, विद्यालय, खानेपानीमा सहयोग गरेको निर्देशक पोखरेलले बताए।

पछिल्लो समय सिमेन्ट उद्योगमा धमाधम लगानी बढिरहेको छ। पुरानाले क्षमता बढाइरहेका छन् भने नयाँ थपिने क्रम जारी छ। उद्योग विभागका अनुसार अहिलेसम्म एक सय १३ वटा सिमेन्ट उद्योग सञ्चालनको अनुमति जारी भएको छ। तीमध्ये ५६ वटाले उत्पादन गरिरहेका छन््। केही नयाँ उद्योग तत्काल उत्पादन गर्ने तयारीमा छन्। ५४ वटा उद्योग निजी क्षेत्रले सञ्चालन गरेको छ। सिमेन्ट उद्योगमा करिब दुई खर्ब रुपैयाँ लगानी पुगेको छ। आफ्नै क्लिंकर उत्पादन गरेर ग्राण्डिङ गर्ने उद्योगको संख्या १९ वटा पुगेको छ। अहिले मुलुकमा करिब ९० लाख मेट्रिक टन सिमेन्ट खपत हन्छ। सिमेन्ट उत्पादन गर्ने ग्राण्डिङ उद्योगको क्षमता एक करोड ३० लाख टन पुगेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ। सिमेन्टको बजार करिब डेढ खर्ब रुपैयाँ पुगेको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App