१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म निर्माणमा बिमा सुविधा

सम्झौता पत्र आदानप्रदान गर्दै इन्स्युरेन्स कम्पनीका एनपी प्रधान(बाँया) र निर्माता संघका अध्यक्ष आकाश अधिकारी। तस्बिर /नागरिक

काठमाडौं – फिल्म निर्माणका क्रममा कलाकार, प्राविधिक तथा प्रविधिमा आउने भैपरी समस्यालाई मध्यनजर गर्दै नेपाल चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच ‘चलचित्र प्रोजेक्ट बिमा’का विषयमा सम्झौता भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी र इन्सुरेन्सका तर्फबाट सिइओ एनपी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

संघका अध्यक्ष आकाश अधिकारीले सरकारले गर्नुपर्ने काम नगरेपछि ‘चलचित्र प्रोजेक्ट बिमा’मा निजी तवरबाट निर्माता संघ अगाडि बढेको बताए। ‘यो बिमा स्वेच्छाले गर्ने हो। यसमा अनिवार्य भन्ने कुरा छैन। यदि कसैले दुर्घटना बिमा मात्र गर्छु भन्न पनि पाउनेछन्’, अधिकारीले भने, ‘कसैले प्रोजेक्ट बिमा गर्छु भन्यो भने त्यसभित्रै दुर्घटना बिमा पनि पर्छ। त्यसमा छुट्टै दुर्घटना बिमा गरिरहनु पर्दैन।’ आकाशले बलिउडबाट नेपालमा सुटिङ गर्न आउने फिल्मले भारतकै बिमा कम्पनीमा बिमा गरेर आउने चलन चलिरहँदा त्यसलाई रोकेर नेपालमै बिमा गर्ने व्यवस्था मिलाउन संघ लागि परेको बताए।

सम्झौताको पहिलो बुँदामा ‘नेपाल चलचित्र निर्माता संघ(प्रथम पक्ष)को विधान अनुसार नेपाल सरकारको इजाजत प्राप्त चलचित्र निर्माण गर्ने कम्पनीले आफ्नो सिनेमाको प्रोजेक्ट बिमाको लागि प्रथम पक्षको सिफारिसमा दोस्रो पक्ष (लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड) समक्ष आवेदन दिन सक्नेछ। यसरी आवेदन दर्ता गर्दा चलचित्र निर्माण गर्ने कम्पनीका कागजातहरू जस्तैः प्रमाण पत्र, नियमावली, प्रबन्ध पत्र, प्यान÷भ्याट, चलचित्र निर्माण इजाजत पत्र, करचुक्ता प्रमाणपत्रलगायतका अन्य आवश्यक कागजातहरू संलग्न गर्नुपर्ने’ उल्लेख छ।

त्यस्तै दोस्रो बुँदामा ‘प्रथम पक्ष(निर्माता संघ)मार्फत प्रोजेक्ट बिमाको लागि दरखास्त दिइँदा चलचित्रको कुल अनुमानित बजेट रकम, दैनिक रूपमा हुन आउने खर्च, चलचित्रमा प्रयोग गरिने उपकरणको मूल्य, प्राविधिक र चलचित्रका कलाकारहरूको खर्चका साथै सिनेमाको पोस्टप्रोडक्सनमा लाग्ने खर्चहरूको विवरण खुलाउनुपर्ने’ लेखिएको छ।

तेस्रो बुँदामा ‘प्रोजेक्ट बिमाका लागि प्रथम पक्षमार्फत बीमाका लागि दरखास्त दिने चलचित्र निर्माण कम्पनीले आफ्नो चलचित्रको कुल लागतको १ प्रतिशत रकम बीमाशुल्क(भ्याटबाहेक) बापत दोस्रो पक्षलाई बुझाउनु पर्नेछ। चलचित्रको कुल लागतको आधिकारिकता नेपाल सरकार चलचित्र विकास बोर्डले प्रदान गर्ने चलचित्र निर्माण इजाजत पत्र अनुसार हुने’ उल्लेख छ।

चौथो बुँदामा ‘प्रथम पक्षमार्फत दोस्रो पक्षलाई प्रोजेक्ट बिमाका लागि चलचित्र निर्माण गर्ने कम्पनीले बुझाएको रकमको ५ प्रतिशत रकम(बीमा समितिले तोके बमोजिम) अभिकर्ता कमिशनवापत दोस्रो पक्षलाई उपलब्ध गराउनेछ’ भन्ने लेखिएको छ। पाँचौं बुँदामा ‘बीमाको अन्य सुविधा र शर्त बीमालेख बमोजिम हुनेछ’ भन्ने उल्लेख छ।
इन्स्युरेन्सका सिइओ प्रधानले फिल्म छायांकनका क्रममा हुने हानीको इन्सुरेन्स कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने बताए। उनले निर्माता संघका सदस्य संलग्न समितिले गरेको मूल्यांकन र सर्वेक्षकले निर्धारण गरेको रकम बिमा कम्पनीले भुक्तानी गर्ने खुलाए। ‘अहिलेको आवश्यकता अनुसार फिल्म बिमामा हामीले चासो दिएका हौं। अन्य क्षेत्रमा जस्तै फिल्म क्षेत्रमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने योजना बनाइरहेका छौं’, प्रधानले भने, ‘फिल्म छायांकनको अवधिमा प्रविधि, प्राविधिक र कलाकारहरूलाई केही भयो भने त्यसको मूल्यांकनको आधारमा सर्वे रिर्पोट पाएको एक महिना भित्र बिमा रकम प्रदान गरिनेछ।’ उनले सुटिङ अवधिमा कुनै दुर्घटनामा वा केही नभएको खण्डमा बिमा रकम फिर्ता नहुने बताए।

निर्माता संघका महासचिव रोज राणाले फिल्म निर्माणमा ‘कम्प्रमाइज’ गर्नुपर्ने अवस्था आइरहँदा बिमा नीतिले निर्मातालाई केही राहत दिने बताए। ‘फिल्मको व्यापार व्यवसाय धरासयी भइरहेको अवस्थामा यो एउटा ऐतिहासिक सम्झौता भएको छ। हामी निर्माताका लागि खुशीको कुरा हो’, उनले भने, ‘निर्मातालाई अब नहिच्किचाईकन बिमामा सहभागिता जनाउन आग्रह गर्दछु।’ कम्पनीका बीके श्रेष्ठले फिल्मको बिमा गरिएपछि बैंकबाट पनि लगानीको वातावरण बन्ने दाबी गरे। ‘नेपाली फिल्ममा बैंकको लगानी सायदै छैन होला। तर यो बिमा लागु भएपछि बिमा गरेका निर्माताले बैंकमा गएर लगानी गरिदेऊ भन्ने हो भने त्यो वातावरण बनाउन हामी तयार छौं।’

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App