१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ सरकार गठनबारे भाजपाको तयारी

आमनिर्वाचन अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदानका लागि आइतबार कोलकाताका एउटा मतदान केन्द्रबाहिर लामबद्ध मतदाता। तस्बिर : एजेन्सी

नयाँ दिल्ली – एक्जिट पोलहरुले लोकसभा निर्वाचनमा जित निस्कने देखाएपछि भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठनबारे गठबन्धनमा रहेका दलहरुसँग छलफल गर्ने भएको छ। टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ।

अधिकांश सर्वेक्षणबाट जित देखिएपछि भाजपा स्रोतले सोमबार जनाएअनुसार मंगलबार अपराह्न नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा गठबन्धनको छलफल हुनेछ। बैठकको नेतृत्व पार्टी अध्यक्ष अमित शाहले गर्ने भाजपाका विभिन्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

बैठकबारे बोल्ने आधिकारिकता नभएको भन्दै स्रोतले पहिचान भने खुलाउन नचाहेको रोयटर्सले उल्लेख गरेको छ। सरकार गठनबारे गठबन्धनबीच छलफल हुन लागेको विषय बाहिरिए पनि भाजपाका प्रवक्ता नालिन कोहलीले भने प्रतिक्रिया दिन नमानेको रोयटर्सले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासअन्तर्गत विभिन्न सात चरणमा भएको भारतको तल्लो सदनको लोकसभा निर्वाचन अप्रिल ११ बाट सुरु भई आइतबार सम्पन्न भएको थियो। मतगणना आउँदो बिहीबार हुने र सम्भवतः सोही दिन नै अन्तिम मत परिणाम सार्वजनिक हुने बताइएको छ।

आइतबार अन्तिम चरणको मतदान सकिएसँगै सार्वजनिक भएका इन्डिया टुडे एक्सिसले आइतबार सार्वजनिक गरेको एक्जिट पोलअनुसार नरेन्द्र मोदीको दल भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले ३३९ देखि ३६५ सिटसम्म जित्ने अनुमान गरिएको छ। कुल पाँच सय ४५ सदस्य रहेको भारतको तल्लो सदनमा विपक्षी कंग्रेसले नेतृत्व गरेको गठबन्धनले भने ७७ देखि १०८ सिट मात्रै जित्ने अनुमान गरिएको छ।

भारतमा सरकार गठन गर्नका लागि दुई सरय ७२ सिट जित्न आवश्यक रहेको छ। निर्वाचनपूर्व गरिएका विभिन्न सर्वेक्षणले भने भाजपा नेतृत्वको एनडिए ठूलो गठबन्धन बने पनि उसले बहुमत भने नल्याउने अनुमान गरेका थिए। वर्तमान भाजपा नेतृत्वको सरकारका वृत्तमन्त्री अरुण जेट्लीले एक्जिट पोलमा आफू विश्वस्त रहेको बताएका छन्।

‘यदि विभिन्न एक्जिट पोलले उस्तै सन्देश प्रवाह गर्छन् भने जित सुनिश्चिततातर्फ रहेको छ भन्न सकिन्छ,’ एउटा ब्लग लेख्दै वृत्तमन्त्री जेट्लीले बताएका छन्। भजपाले एक्जिट पोलहरुप्रति विश्वस्त रहेको बताए पनि विपक्षी कंग्रेसले भने त्यस्ता एक्जिट पोलमा शंका व्यक्त गरेको रोयटर्सले उल्लेख गरेको छ। कंग्रेस प्रवक्ता संजय झाले एउटा ट्विट गर्दै एक्जिट पोल झुटा हुनसक्ने बताएका हुन्। कंग्रेसहित अन्य विपक्षी दलले पनि एक्जिट पोलहरुले देखाएका नतिजालाई अस्विकार गरेका छन्।

पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा अल इन्डिया तृणमूल कंग्रेसकी नेत्री ममता बेनर्जीले एक्जिट पोलहरुका नतिजालाई कोरा गफ भन्दै आफूले त्यसमा विश्वास नगर्ने बताएकी छन्। नेत्री बेनर्जीले एउटा ट्विट गर्दै सबै विपक्षी दललाई एकताबद्ध हुन आह्वान पनि गरेकी छन्।

विपक्षी कंग्रेस आईका एक चर्चित नेता तथा भूतपूर्व मन्त्री शशी थरुरले सबै एक्जिट पोलहरु गलत रहेको बताएका छन्। उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने पनि बताएका छन्। ‘चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ। गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए। भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन्। वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ,’ थरुरले ट्विट गरेका छन्।

अन्य धेरै विपक्षी नेताले पनि मतसर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन्। नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाहले टिभी र सामाजिक सञ्जाल बन्द गरेर आगामी बिहीबारको दिनलाई पर्खनु नै बुद्धिमानी हुने बताएका छन्। आन्ध्र प्रदेशका मुख्यमन्त्री तथा तेलुगु देशम पार्टीका नेता एन चन्द्रबाबु नाइडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताएका छन्। ‘हरेक पटकका मतसर्वेक्षण सही नभएको र धरातलीय यथार्थबाट टाढा रहेको पाइएको छ,’ नाइडुको ट्विट उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। ‘आफ्नो पार्टी टिडिपीले आन्ध्र प्रदेशमा जित्ने कुरामा कुनै शंकै छैन, भारतीय जनता पार्टी बाहेकको सरकार केन्द्रमा बन्दैछ,’ उनको ट्विटमा लेखिएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App