२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

भोटोजात्रा देखाउने साइत ९ गते हेरिने

उपत्यकाको मुख्य जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने साइत जेठ ९ गते हेरिने भएको छ। ज्योतिषीले साइत जुराएपछि मात्रै भोटो देखाइने प्रचलन छ। वैशाख २२ गते रथारोहणपछि २५ गते पुल्चोकबाट रथ तान्दै अहिले लगनखेलस्थित थटिचोक पु-याइएको छ।

गुठी संस्थान ललितपुरका शाखा प्रमुख शैलेन्द्र पौडेलले त्यहाँबाट जावलाखेलतर्फ लैजानको निम्ति ९ गते साइत हेरिने बताए। उनका अनुसार पहिलो दिन २५ गते पुल्चोक–गाःवहाल, दोस्रो दिन गाःवहाल–मंगलबजार, तेस्रो दिन मंगलबजार–सुन्धारा, चौंथो दिन सुन्धारा–थैना पु-याइएको थियो। पाँचौं दिन ठैना–लगनखेल, छैटौं दिन लगनखेल इटिटोल हुँदै रथ जात्रा सञ्चालन गर्दै नरिवल खसालिएको हो।

रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत बिहीबार लगनखेलको थटिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि महिलाले रथ तानेका थिए। रथलाई तान्दै लगनखेल पु¥याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता छ।

नरिवल खसाल्ने दिन रथको टुप्पोबाट योमरी पनि खसालिएको थियो। रथमाथिबाट खसालिएको नरिवल वा योमरी समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।

नरिबल खसाल्ने दिनकै अवसरमा लगखेलस्थित सप्तपाताल पोखरीमा रहेका माछा समात्ने चलन पनि छ।
संस्कृतिविद् हरिराम जोशीले यो चलन रथजात्रा सुरु हुनुअघिदेखि नै चल्दै आएको किंवदन्ती रहेको जानकारी दिए। उनका अनुसार अहिले यो पोखरी सुकेको छ। ‘ऐतिहासिक पोखरीको क्षेत्रफल साँघुरिएको छ,’ उनले भने, ‘अहिले पोखरीको एक कुनामा मात्रै थोरै पानी देखिन्छ, नरिवल खसाल्ने दिन यहाँ दुईवटा माछा छाडिन्छ र समातिन्छ, पुरानो अस्तित्व लगभग गुम्योभन्दा फरक पर्दैन।’

मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित भएको संस्कृतिविद् जोशीको भनाई छ। उनका अनुसार करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ। नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोल परिक्रमा गराउने परम्परा छ। वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ। यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन्। १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन्।

जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु-याउने परम्परा छ।  रातो मच्छिन्द्रनाथको रथलाई ६–६ महिना पाटन र बुङमतीमा राख्ने गरिन्छ। जात्रा सकिएर बुङमती पु¥याइएको रथ ६ महिनासम्म त्यही राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App