१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चल्तीका फेसन

फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ।

यसले व्यक्तिको आत्मविश्वास बढाउने मात्र होइन, अरुभन्दा स्मार्ट पनि देखाउँछ।

बजारमा प्रचलित केही फेसन
नेपाली बजारमा चर्चित केही फेसनले बजार ओगटेको छ। टिनएजदेखि पाका उमेरसम्मकाले फेसन फलो गरेको पाइन्छ।

स्ट्रिट वेयरः
नेपालको फेसन बजारमा निकै चर्चित छ, स्ट्रिट वेयर। हलुका खालको पहिरन गर्न रुचाउनेका लागि यो निकै उपयोगी हो। विशेषगरी युवा जमातमा रुचाएको यो फेसन ८० औं सताब्दीमा चर्चित थियो। यो फेसन क्यालिफोर्नियाबाट सुरुवात भएको हो। टिसर्ट, जिन्स, हुडी, हेड वेयर, क्याज्युवल ज्याकेट, स्विट प्यान्ट लगायतका ड्रेस स्ट्रिट वेयरमा पर्छन्। कीर्तिपुरकी निरु महर्जनलाई स्ट्रिट वेयर फेसन मन पर्छ। खुकुलो डिजाइनको ड्रेस हुनाले लगाउन सहज हुने उनी बताउँछिन्। ‘प्रिन्टेडभन्दा पनि सादा अनि ठूलो टिसर्ट लगाउन मन पर्ने भएर, स्ट्रिट फेसनकै सामान किन्ने गर्छु,’ उनले भनिन्।

फर्मल अफिस वेयरः
ड्रेसले मानिसको कामप्रतिको लगाव पनि झल्काउने गर्छ। सहज र आराम हुने खालका ड्रेसले अफिस वेयर ड्रेसमा पनि स्टाइलिस्ट लुक्स देखिन्छ। फेसन फ्लो गर्ने कर्मचारी अरुभन्दा स्मार्ट देखिन्छन्। फेसनले मान्छेको व्यक्तित्व बढाउन सहायता गर्छ भन्न सकिन्छ। धेरैलाई अफिसको विशेष कार्यक्रम तथा मिटिङमा के लगाउने भन्ने अन्योल हुन सक्छ। यो अवस्थामा फर्मल ड्रेससँगै युनिक र स्मार्ट पनि देखियोस् भन्ने हरेकको चाहना हुन्छ। तसर्थ समय तथा मौसम अनुसार अफिस वेयर मिलाएर लगाउन सकियो भने स्मार्ट बन्न सकिन्छ।

लाइट समरी फेब्रिकका कोटसँग म्याच गर्ने टाइ र सुजले पुरुषको व्यक्तित्वमा फेसन भर्छ भने स्मार्ट स्कर्ट वा फर्मल पाइन्ट, लाइट सर्ट र ब्रेजर वार कोटले महिलाको व्यक्तित्वलाई सुन्दर र फेसनेबल बनाउन मद्दत गर्छ। लाइट रंगको ड्रेसले अफिसको वातावरण र काम गर्नलाई रमाइलो वातावरण सृजना गर्न मद्दत गर्छ।

जातीय पहिरनः
नेपालका विभिन्न जात–जातिले आ–आफ्नो चाडमा आफ्नो समुदाय झल्किने पहिरन लगाउने गर्छन्। तामाङ, नेवार, राई, लिम्बु, चौधरी लगायतले जातीय पहिरन लगाउने प्रचलन छ।

निकिता राईले गोकर्णमा भएको उभांैली पर्व हिजो मनाएकी हुन्। पर्वका अवसरमा उनी राई पहिरनमा सजिएकी थिइन्। उनी मात्र होइनन्, परिवारका सदस्यले पनि आफ्नो जातीय पहिरन लगाएका थिए।

घर–परिवार र आफन्त सबै मिलेर उभौंली मनाउन गएका उनीहरू राई पहिरनमा सजिएका थिए। ‘हामी सधैं नै हाम्रो पर्वमा यही पहिरन लगाउँछौं, आफ्नो जातीय पहिरनमा सजिन पाउँदा गर्व महसुस हुन्छ,’ उनले भनिन्।

नेपालमा जातीय पहिरनमा सजिएर चाड मनाउने ट्रेन्ड नै चलेको पाइन्छ।

स्पोर्टस् वेयरः
दैनिक काममा सहज हुने भएकाले धेरैको रोजाइमा परेको छ, स्पोर्टस् वेयर। स्पोर्टस् वेयर खेलाडीले मात्र लगाउनुपर्छ भन्ने सोच परिवर्तन भएको छ। स्पोर्टस् वेयर अहिले फेसनको रूपमा विकसित भएको पाइन्छ। यो सेलिब्रेटीदेखि सामान्य पब्लिकको रोजाइमा परेको छ। फ्याब्रिकबाट तयार पारिने भएकाले लगाउन हलुको हुन्छ। हिँडडुल गर्न सजिलो र आरामदायी हुने भएकाले यो धेरैको रोजाइमा परेको हो। विशेष स्पोर्टस् ब्रा, लेगिञ्ज, पोलो टि–सर्ट, योगा प्यान्ट, टप्स, आउटर, जुत्ता लगायतका ड्रेस स्पोर्टस् वेयरमा पर्छन्।

सन्जु पन्तलाई स्पोर्टस् वेयर लगाउन मन पर्छ। लगाउँदा सहज हुने भएकाले उनले स्पोर्टस् वेयर लगाएको बताइन्। ‘खासमा मलाई जिन्स लगाउन मिल्दैन। तसर्थ, स्पोर्टस् ट्रयाक लगाउँछु, यही सजिलो लाग्छ,’ उनले भनिन्।

हिपहप स्टाइलः
कुनै समयमा नेपालमा हिपहपको फेसन निकै चल्तीमा रहेको थियो। विशेष टिनएज ग्रुप हिपहपका फ्यान नै थिए। हिपहपलाई फेसनको रूपमा दैनिक जीवनमा लागू गरेको देख्न सकिन्छ।

नेपालमा जुन बेला -याप चलेको थियो त्यो समयमा हिपहप लुक्सलाई धेरैले फलो गरेका थिए। ९० औं दशकमा हिपहप -यापसँगै हिपहप ड्रेस पनि चलेको थियो। हिपहपमा खास ओभर साइज ड्रेस लगाउने गरिएको छ। विभिन्न -यापरको ड्रेसिङ स्टाइल फलो गर्नेको जमात बढेको देख्न सकिन्छ। क्याप, बिग साइज ड्रेस, हातमा थरीथरीमा बाला, घाँटीमा माला लगायतका ड्रेस लगाउने चलन अझै छ। विशेष गरेर जर्सी, जिन्स, जयाकेटलाई हिपहपको फेसन फलो गर्नेले लगाएको देख्न सकिन्छ।

टमबोय स्टाइलः
टमबोय लुक्समा सजिन रुचाउने महिलाको जमात बढ्दो छ। खासगरी टिनएजको रोजाइमा पर्छ, टमबोय स्टाइल। सामान्य टिसर्ट, प्यान्ट, स्पोर्टस् सुज, ज्याकेट आदि ड्रेसलाई टमबोय स्टाइल भन्ने गरिन्छ। नेपालका चर्चित कलाकारले समेत टमबोय स्टाइलको गेटअपमा सजिएको पाइन्छ। खासगरी टमबोय स्टाइलको गेटअप ट्रेन्ड नै भएको छ। यो पुरुषको फेसन मनपराउने युवतीको रोजाइमा पर्छ। प्रिया थापालाई टमबोय स्टाइलको गेटअप मनपर्छ। विशेष गरी समरमा टमबोय गेटअप निकै सहज हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘टमबोय लुक्स निकै कुल देखिन्छ, लगाउँदा आरामदायी हुने भएकाले म त टमबोय गेटअप गर्न रुचाउँछु।’ आफूलाई बोल्ड र स्ट्रोङ देखाउन चाहनेको रोजाइमा पर्ने टमबोय गेटअप अचेल निकै चलेको मान्न सकिन्छ।

आर्टसी फेसनः
खासमा आर्टसी फेसन, फेसन डिजाइनरको कलात्मक सृजना हो। आर्टसी फेसन एक पिसमात्र हुन्छ, डिजाइनरको कला र लगाउनेको सहमतिमा तयार पारिएको पोशाक हो। आर्टसी फेसनमा हेन्डमेड फ्याब्रिकबाट तयार पारिन्छ। नेपालमा आर्टसी फेसनको लागि विभिन्न बुटिकमा अर्डर दिएर आफ्नो लागि आफै फेसन तयार गर्न सकिन्छ। अन्य पहिरनको तुलनामा आर्टसी फेसन अलिक महँगो मानिए पनि अन्यभन्दा फरक, युनिक र स्टाइलिस देखिने भएकाले आर्टसीका फेसन फलोअरको जमात पनि धेरै रहेको पाइन्छ। नेपालमा प्रायः ढाका, अल्लो, उलन, कटन लगायतका मेटिरियलको प्रयोग गरी बनाएको पाइन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App