१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कुनै पनि बहानामा पानी नरोक्न नगरपालिकाको निर्देशन

गोरखा– गोरखा सदरमुकाममा केही दिनयता पानीको हाहाकार मच्चिएको छ। यहाँका ढुंगेधारामा बिहानैदेखि साँझ अबेरसम्म मानिसको भीड लाग्ने गरेको छ। 

मुख्य बजार क्षेत्र गोरखा नगरपालिका–६,७ र ८ मा पाँच सयभन्दाबढी घरधुरीलाई पानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले दुई साताभन्दाबढी पानी नदिएपछि स्थानीय अक्रोशित भएका छन्।

खानेपानी आयोजनाले बिजुली–बत्ती नियमित नहुँदा पानी वितरण गर्न नसकिएको बताउँदै आएको छ। आयोजना अध्यक्ष विनोद अर्यालले पानी ल्याइएको ठाउँ सहिद लखन गाउँपालिकाको बुङकोटमा बिजुली–बत्ती नियमित नहुँदा समस्या भएको बताए। उनले भने, ‘अहिले बिजुली बत्ती नियमित नहुँदा समस्या भएको हो, पानीको मुहानदेखि तीनवटा टंयाकी हुँदै गोरखा बजारसम्म पानी वितरण गर्ने गरेका छौँ।’ 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गोरखाले पानी वितरण लामो समयसम्म प्रभावित हुने गरी विद्युत् अनियमितता नभएको बताएको छ। केन्द्रका प्रमुख माधव न्यौपानेले गोरखा सदरमुकाममा नांगो तार हटाएर केबल राख्न लागिएकाले केही समय बत्ती अनियमित हुने भएपनि लामो समय अनियमित नभएको बताए। गत वर्ष एक करोडभन्दाबढी लागतमा सोलार जडान गरेपनि प्रयोगमा ल्याउन नसक्दा पानी तान्न सकिएको छैन।

खानेपानी आयोजनाले समस्या परेपछि तत्काल सूचना निकालेर विद्युत् अवरुद्ध भएर पानी वितरण गर्न नसकेको बताउँदै आएको छ। दुई संस्थाबीच आरोप–प्रत्यारोपमा जुहारी चलेपछि गोरखा नगरपालिकाले सरोकारवालालाई बिहीबार बैठक डाकेको थियो। 

नगरप्रमुख राजनराज पन्तले खानेपानी आयोजना, विद्युत्लाई नगरपालिकामै बोलाएर बैठक राखेका हुन्। बैठकमा उनले दुवै पक्षलाई समस्या समाधान गरी पानी वितरण गर्न अनुरोध गरेको बताए। उनले भने, ‘खानेपानी आयोजनाको केही कमजोरी देखियो, त्यसलाई व्यवस्थापन गरेर पानी वितरण गर्नुपर्छ।’ 

विद्युत नियमित भएका बेला पानी तान्ने, वितरण गर्ने, कर्मचारीलाई चुस्त काम लगाउन आयोजनालाई उनले निर्देशन गरे। गोरखा नगरपालिकाको हरमटारी मुख्य बजार क्षेत्रमा तीन सातादेखि पानी नआएको भन्दै उपभोक्ताले नगरपालिकामा गुनासो गरेका छन्। 

घरमा जोडिएको धारामा पानी नआएपछि बिहान चार बजेदेखि नै गोरखा सदरमुकामको ढुंगेधारामा सर्वसाधारणको भीड लाग्ने गरेको छ। साँझ अबेर नुहाउने, लुगा धुनेहरू धारामा देखिन्छन्। ढुंगेधारामा पानीको मुहान सुकेर धारा सानो हुँदा विवादसमेत हुने गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App