१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चिनियाँ भूमिमा सेलो र मारुनी

काठमाडौं– छिमेकी मुलुक चीनको वर्ड नेस्ट ओलम्पिक स्टेडियमको ग्रीनपार्कमा नेपाली कलाकारहरूले नेपाली संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक नृत्य प्रस्तुत गरेका छन्। चीनको बेइजिङमा जारी ‘कन्फ्रेन्स अन डायलगत अफ एसियन सिभिलाइजेसन परेड’ अन्तर्गतको ‘एसियन सिभिलाइजेसन परेड’मा १७ एसियाली मुलुकका कलाकारसँगै नेपाली कलाकारहरूले पनि सांस्कृतिक नृत्य प्रस्तुत गरेका हुन्।

गत बिहीबारबाट सुरु भएको परेडमा नेपालबाट मारुनी, तामाङ सेलो, थारु, कौडा, गुरुङ नाच, धिमे, टप्पा र सन्थाल नृत्य समेटेर ३० जना कलाकारहरूले सामूहिक नृत्य देखाएका हुन्। परेडमा कुमारीको भेषमा सजिएकी कलाकारले नेतृत्व गरेको टोलीमा धरानबाट थारु र मारुनी नृत्य, काभ्र्रेस्थित सेलो थिएटरबाट तामाङ सेलो, भक्तपुरस्थित नेपाल सांस्कृतिक उत्थान परिषदबाट कुमारी, धिमे र सन्थाल नृत्य, पोखरास्थित हिमाली सांस्कृतिक परिवारबाट कौडा र गुरुङ नाच छनोंट भएका थिए। उनीहरूले गायक दीपक बज्राचार्यले विभिन्न लोक बाजाहरू समेटर तयार पारेको ‘मन मगन’ संगीतको थिममा डान्स स्टेपलाई मिसाएर सामूहिक नृत्य गरेका हुन्।

कलाकारहरूले मुख्य स्टेज पुग्नुअघि डम्फू र खैंचडीसहितको प्रत्यक्ष वाद्यवादन भएपनि मुख्य स्टेजमा भने शारीरिक हाउभाउ र डान्स स्टेपमार्फत विभिन्न नेपाली समुदायको लोक संगीत परम्परालाई प्रस्तुत गरेका थिए। परेडको उद्घाटनपछि बंगलादेश, कम्बोडिया, भारत, जोर्डन, कजाकिस्तान, लाओस, लेवनान, रुस हुँदै मैदानमा नेपाली कलाकार देखिएका थिए।

यसपछि फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्याण्ड, टर्की र भियतनामको प्रस्तुति रहेको थियो। परेडमा चार्मिङ चाइनाअन्र्तगत भित्री मंगोलिया, तिब्बत, युन्नानलगायत एक दर्जन चीनिया प्रान्तका कलाकारहरूको प्रस्तुति पनि बेजोड थियो।

नेपाली टोलीबाट गुरुङ र कौडा नृत्यको युवराज गुरुङले, तामाङ सेलोको सुसन लामाले, थारु र मारुनीको प्रशान्त तामाङले, नेवारी र कुमारीको बालमुकुन्द प्रजापतिले संयोजन गरेका थिए। टोलीको मुख्य संयोजन वल्र्ड कल्चर नेटले गरेको हो। २००८ मा भव्य बेइजिङ ओलम्पिक भएको यो परिसरमा सांस्कृतिक परेड आइतबारसम्म चल्नेछ।

नेटका अध्यक्ष दीपक सरकारले दक्षिण एसियालीस्तरमा नेपालले पहिलोपटक सांस्कृतिक परेड गरेको बताए। सेलो टोलीको संयोजन गरेका सुसन लामाले भोट बर्मेली भाषा र संस्कृतिसँग तामाङ समुदाय नजिक रहेपनि चीनमा पहिलोपटक सेलो प्रस्तुति हुन सकेकोमा गर्व लागेको बताए। मारुनी र थारु नृत्यको संयोजन गरेका प्रशान्त तामाङले अरु भारत र बंगलादेशको प्रस्तुतिको तुलनामा नेपाली प्रस्तुतिमा सांस्कृतिक विविधता झल्किएको दावी गरे। चिनिया सरकार संस्कृति मन्त्रालयले गरेको परेडसँगै बेइजिङ ओलम्पिक ग्रीन परिसरमै एसियाली खाना महोत्सव आयोजना गरिएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७६ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App