२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बोर्डिङ छोडेर सरकारीमा लहर

जन माविमा भर्ना हुनका लागि आवेदन फारम भर्न आएका विद्यार्थी र अभिभावक। तस्बिर : नगेन्द्र उपाध्याय

सुर्खेत- गुर्भाकोट नगरपालिकाका लिलाधर चपाई सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी सन्तानलाई भने बोर्डिङ स्कूलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। ‘पछिल्लो समय निजी भन्दा सरकारी स्कूल अब्बल बन्दै गएका छन्’ चपाईले भने, ‘त्यहीँ भएर यो वर्षदेखि सरकारीमा भर्ना गरेको हुँ।’ उनले छोरीलाई वीरेन्द्रनगरको पुरानो मध्येको एक जन माविमा कक्षा ९ मा भर्ना गराएका छन्।

वीरेन्द्रनगरका धनेश्वर उपाध्यायले छोरालाई जन माविमा कक्षा ६ मा भर्ना गराए। मोन्टेश्वरी हुँदै कक्षा पाँचसम्म बोर्डिङ स्कूलमा अध्ययन गरेका दिनबन्धु सरकारीमा पढ्न पाउँदा खुशी छन्। ‘बोर्डिङ स्कूलको भन्दा राम्रो शैक्षिक वातावरण छ, पढाई पनि राम्रो छ’ उनले भने, ‘बोर्डिङ भन्दा सरकारी स्कूल हरेक कुरामा राम्रो पाएँ।’

कक्षा आठसम्म बोर्डिङ स्कूलमा अध्ययन गरेका सन्दीप खत्री वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत माविमा भर्ना भएका छन्। श्रीकृष्णमा नेपालीसँगै अंग्रेजी माध्यमबाट पढाई हुन्छ। केही अघिसम्म राम्रो शिक्षाको खोजीमा सरकारी स्कूलबाट बोर्डिङमा जाने परम्परा थियो। अहिले बोर्डिङ छोडेर सरकारीमा आउने लहर चल्न थालेको छ। सरकारी स्कूल भन्ने वित्तिकै नाक खुम्च्याउने अभिभावकहरु अहिले छोराछोरीलाई सरकारी स्कूलमा भर्नाका लागि ‘सोर्सफोर्स’ लगाउने गर्छन्।

जन माविले चालू शैक्षिक सत्रका लागि चार सय ३४ जना विद्यार्थीहरुका लागि आवेदन खुल्ला गर्‍यो। कक्षा १, ६, ७, ८ र ९ मा भर्ना हुनका लागि एक हजार ७०७ जनाले प्रवेश परीक्षा दिए। ‘ति मध्ये चार सय ३४ जनालाई मात्रै भर्ना गर्‍यौं’ विद्यालयका सहायक प्रधानाध्यापक गोपिकृष्ण ढकालले भने, ‘हरेक वर्ष बोर्डिङ छोडेर आउनेको लहर चल्न थालेको छ, सरकारी स्कूलमा विद्यार्थीहरुको अत्याधिक चाप बढ्दै गएको छ।’

आवेदन दिने मध्ये ८० प्रतिशत अघिल्लो शैक्षिकसत्रसम्म बोर्डिङ स्कूलमा पढेका विद्यार्थी हुन्। ‘यसले पनि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण कस्तो छ भन्ने देखाउँछ’ उनले भने, ‘यहाँका केही विद्यालय बोर्डिङ भन्दापनि उत्कृष्ट र राम्रा छन्।’

पछिल्लो समय यहाँका केही सरकारी विद्यालयहरुले नेपालीका साथै अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेका छन्। जन माविले कक्षा १ देखि १० सम्म नेपालीसँगै अंग्रेजी माध्यमबाट विद्यार्थी पढाउँछ। अंग्रेजी माध्यमबाट अध्ययन, अतिरिक्त कक्षा, निजी जस्तै पोशाक, विद्यार्थी बोक्नका लागि स्कूल बसको व्यवस्था, हरेक शनिबार कक्षागत परीक्षालगायतका कारणले यहाँका केही सामुदायिक विद्यालयहरु निजीभन्दा अब्बल दरिएका छन्।

केही वर्षअघिसम्म वीरेन्द्रनगरकै केन्द्रमा रहेको भएपनि जन माविमा विद्यार्थी संख्या न्यून थियो। पछिल्लो समय विद्यालयले अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्‍यो। अनुशासन र शैक्षिक वातावरणमा ध्यान दियो। उत्कृष्ट भौतिक पूर्वाधार बनायो। कार्यरत शिक्षक–कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गर्‍यो। त्यसैको प्रभाव हुनुपर्छ अहिले यो सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। उत्तीर्ण नभएका विद्यार्थीहरुले यहाँ भर्ना पाउँदैनन्।

‘राम्रो विद्यालयमा सबैको आकर्षण हुन्छ’ बोर्डिङ छुटाएर कक्षा ६ मा छोरीलाई भर्ना गराएका प्रेमप्रकाश वलीले भने, ‘सस्तो शुल्कमा उत्कृष्ट पढाई हुने भएकाले बोर्डिङ छुटाएर सामुदायिकमा भर्ना गरेको हुँ।’ बोर्डिङ भन्दा उत्कृष्ट भौतिक संरचना, बोर्डिङको जस्तै अंग्रेजीमा पढाई, शैक्षिक र पारिवारिक वातावरणका साथै उत्कृष्ट अनुशासन भएकाले आफूले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको उनले बताए।

जन माविमा मात्रै होइन् वीरेन्द्रनगरको श्रीकृष्ण, अमरज्योति नमूना मावि नेवारे, हस्तवीर आधारभूत विद्यालय, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलगायतका सरकारी विद्यालयमा पनि विद्यार्थी र अभिभावकको आकर्षण उत्तिकै छ।

श्रीकृष्ण संस्कृत तथा साधारण माविले चालू शैक्षिकसत्रका लागि दुई सय २५ जना विद्यार्थीका लागि आवेदन खोलेको थियो। छ सय २० जना प्रवेश परीक्षामा सहभागी भए। ‘रहेक वर्ष बोर्डिङ छोडेर विद्यार्थीहरु आइरहेका छन्’ विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले भने, ‘निजीको भन्दा उत्कृष्ट भौतिक पूर्वाधार, अंग्रेजी माध्यमबाट पढाईका साथै उत्कृष्ट शैक्षिक नतिजाका कारण सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढेको छ।’

सुर्खेतको अमरज्योति नमूना माविले तीन सय २१ जना विद्यार्थीका लागि आवेदन खुल्ला गरेको थियो। सात सय ११ जनाले प्रवेश परीक्षा दिए। ‘पहिले–पहिले बोर्डिङ स्कूलमा भर्ना नपाएका विद्यार्थीहरु सरकारीमा आउने प्रचलन थियो’ अमरज्योतिका सहायक प्रधानाध्यापक भूपेन्द्र विसीले भने, ‘अहिले सरकारीमा भर्ना नपाएपछि बोर्डिङमा जानेहरु बढेका छन्।’

बोर्डिङ छोडेर सरकारीमा आएका विद्यार्थीहरु तुलनात्मक रुपमा सरकारी स्कूलमा पढ्न सजिलो हुने बताउँछन्। ‘सरकारीमा शिक्षक र विद्यार्थीको सम्वन्ध राम्रो हुने भएकाले पढाईमा सहजता हुन्छ’ श्रीकृष्णका विद्यार्थी लक्ष्मी खत्रीले भने, ‘सरकारी विद्यालयको वातावरण शान्त हुनुका साथै अनावश्यक तनाव पनि हुँदैन्।’

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ का रमेश खड्काले चार कक्षासम्म स्थानीय एक बोर्डिङ स्कूलमा अध्ययन गरे। चालू शैक्षिकसत्रदेखि उनी सामुदायिक विद्यालयमा भर्ना भएका छन्। सरकारीमा राम्रो पढाई हुन थालेपछि बोर्डिङ छुटाएर छोरालाई सरकारीमा भर्ना गराएको बुवा खड्कबहादुरले बताए। रमेश रुक्मेणी माविमा कक्षा पाँचमा भर्ना भएका छन्।

विद्यालयले गत शैक्षिकसत्रबाट आधारभूत तहमा अंग्रेजी माध्यम सुरु गरेको छ। विद्यालय व्यवस्थाप समितिका अध्यक्ष मदन शाहले अंग्रेजी माध्यमबाट पढाई हुनुका साथै स्कुल बसको व्यवस्था गरिएपछि विद्यार्थी र अभिभावकको आाकर्षण बढेको बताउँछन्। प्रत्येक वर्ष शैक्षिक उपलव्धी बढ्दै गएपछि निजी छोडेर सरकारीमा भर्ना हुनेक्रम रुकुममा पनि बढेको छ।

प्रदेश शिक्षा निर्देशनालयका प्रमुख भक्तबहादुर ढकालले पछिल्लो समय सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि हुँदै गएको बताए। उनले शिक्षाको नेतृत्व स्थानीय तहको हातमा पुगेपछि कर्णालीमा सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए। ‘शिक्षक व्यवस्थापन र भौतिक पूर्वाधारमा स्थानीय तहले महत्वपूर्ण लगानी गरेका छन्’ उनले भने, ‘यसको प्रत्यक्ष प्रभाव विद्यालयहरुको नतिजामा देखिएको छ।’

उनले कर्णाली प्रदेश सामुदायिक विद्यालयको उपलब्धी र व्यवस्थापनका हिसावले पछाडीनै रहेकाले प्रदेश सरकारकातर्फबाट पनि चालू शैक्षिकसत्रदेखि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए। ‘सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि स्थानीय तहसँग सहकार्य गर्दै शिक्षक व्यवस्थापनमा कर्णाली प्रदेश सरकारको उपस्थिति देखाउने तयारीमा छौं’ ढकालले भने, ‘केही विद्यालयहरुले राम्रो गरिरहेपनि यतिकैमा सन्तोष मान्न सकिने अवस्था छैन्।’

 

 

 

प्रकाशित: ५ जेष्ठ २०७६ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App