१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिएम कपको खेलतालिका सार्वजनिक

काठमाडौं– निर्धारित मितिभन्दा २ दिनपछि सुरु हुन लागेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका र प्रायोजक सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसलको व्यस्थापनमा हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले गर्नेछ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपालय इन्टरनेसनलका अध्यक्ष सुवासचन्द्र प्रधान र एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका काठमाडौं निर्देशक खेम संग्रौलाले हस्ताक्षर गरेका थिए। सम्झौता रकमका बारेमा भने केही बताइएको छैन। कार्यक्रममा सहभागी टोलीको जर्सीसमेत सार्वजनिक गरिएको थियो।

‘यस प्रतियोगिताले घरेलु क्रिकेटमा ५० ओभरका खेल अत्यावश्यक रहेको जनाउँछ। साथै यो प्रतियोगिता युवा खेलाडीका साथै जिल्ला, प्रदेशस्तरीय खेलाडीलाई पनि आफ्नो क्षमता देखाउने थलो  बन्नेमा हामी आशावादी छौं,’ प्रधानले भने।

यसअघि राखेप र नेपालयबीच प्रतियोगिताको बजेट १ करोड ७५ लाख रहने र त्यसमध्ये ८० लाख राखेपले र बाँकी रकम नेपालयले व्यवस्था गर्ने सम्झौता भएको थियो। प्रतियोगिताको दोस्रो संस्करणबाट नेपालयले प्रतियोगिताको व्यस्थापनको जिम्मेवारी पाएको थियो। प्रतियोगिताको पहिलो संस्करणको व्यवस्थापनको जिम्मेवारी काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले पाएको थियो।

जेठ १० देखि जेठ २५ सम्म चल्ने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र निर्माणाधीन मूलपानी क्रिकेट मैदानमा हुनेछन्, जहाँ ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ। जसअन्तर्गत समूह ‘ए’ मा साबिक विजेता एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश  छन्। दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

मूलपानीमा हुने उद्घाटन खेलमा प्रदेश २ ले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। फाइनल भने त्रिवि मैदानमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्।

प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो। यसअघि प्रतियोगिता जेठ १ गते सुरु हुने भनिए पनि तयारी पूरा नभएको भन्दै जेठ ८ का लागि सारिएको थियो। प्रतियोगिताको उद्घाटन खेल मूलपानी क्रिकेट मैदानको तल्लो मैदानमा गर्न लागिएको र मैदानको पिच १० गते सम्म तयार हुने प्राविधिकले जनाएपछि प्रतियोगिताको मिति २ दिन पछि सारिएको राखेपका सदस्य केशवकुमार विष्टले बताए।

‘हामीले प्राविधिकको सल्लाहमा प्रतियोगिताको मिति दुई दिनपछि सारेका हाैं,’ विष्टले भने, ‘मूलपानी क्रिकेट मैदानको प्रचारका लागि पनि हामीले तल्लो मैदानमा प्रतियोगिता आयोजना गर्ने लागेका हाैं। माथिल्लो मैदान यसअघि नै सञ्चालनमा आइसकेको छ र विभिन्न प्रतियोगिताहरु भैरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा  परेपछि हामीले क्रिकेट खेलमा अविभावकको भूमिका निर्वाह गर्दै आएका छौ।’

‘हामीले अर्को वर्षदेखि राष्ट्रपति कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेका छांै र यसका लागि बजेटमा समेत उक्त प्रतियोगिता उल्लेख गरिएको छ,’ विष्टले थपे, ‘सो प्रतियोगितासमेत हामी निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मेवारी दिने तयारीमा छाैं। हामीले गत वर्ष नेपालयले प्रधानमन्त्री कपमा गरेको व्यवस्थापनबाट सन्तुष्ट भएर यस पटक पनि प्रतियोगिता व्वस्थापनको जिम्मेवारी दिएका हौं। यस पटक पनि कुशल व्यस्थापन गर्न सक्नुभयो भने राष्ट्रपति कपको जिम्मेवारी पनि उहाँहरूले पाउन सक्ने सम्भावना छ।’

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App