१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विरहा संस्कृतिमा रमाउँदै पर्यटक

लुम्बिनी - बुद्ध पूर्णिमाका अवसरमा शनिबार दिनभरि बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक मेला लाग्यो। २५६३औं बुद्ध जयन्तीका अवसरमा शुक्रबारदेखि लुम्बिनीग्राममा जम्मा भएका तिर्थालुले बिहानैदेखि मायादेवी मन्दिर दर्शन गरे। सोही अवसरमा बिहान निस्केको शान्ति पदयात्रामा थरीथरीका समुदाय सहभागी भए। त्यही हुलमा एउटा सांगीतिक समूह पनि थियो, लुम्बिनी सांस्कृतिक विरहा समूह।

समूहले बुद्धको जन्म र जीवनीसम्बन्धी गीत गाउँदै लुम्बिनीग्राम परिक्रमा गरेको थियो। समूहका १२ सदस्यले फर्सा, ढोल, मझिरा, चङ, हार्मोनियम, माइक, घुँगरु र डफला बाजाको तालमा गीत गाए, नाचे र बुद्धको दर्शन गर्न आएकाहरूलाई मनोरञ्जन दिलाए। खासमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महलिवारको समूह रामायण र महाभारतका कथा गाउने समूह हो। यसले पछिल्लो एक दशकदेखि बुद्धसम्बन्धी कथा पनि गाउँदै आएको छ। ‘परम्परागत रूपमा हामी रामायण, महाभारत र इतिहासका कथा गाउँदै आएका थियौं,’ समूहका अध्यक्ष राधेश्याम पाल भन्छन्, ‘पहिला–पहिला विरहका गीत मात्रै गाइन्थ्यो। अचेल रमाइला गीत पनि गाउँछौं।’

पर्यटकीय क्षेत्र लुम्बिनीनजिकै बसोबास गर्ने कलाकार भएकाले कलाबाट आम्दानी लिन पछिल्लो समय उनीहरूले बुद्धको जीवनीसम्बन्धी गीत गाउन थालेका हुन्। त्यसैले १० वर्षअघि समूहमा संगठित भएर उनीहरूले संस्कृति प्रदर्शन गर्दै आएका छन्। गाउँघरमा रातभर परम्परागत रूपमा नाचगान गरिन्छ भने पर्यटकलाई उनीहरू आधा घन्टादेखि एक घन्टासम्म नाच देखाउँछन्। विशेषतः विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा उनीहरू विरहा गाउँछन्। पर्यटकलाई भने मागअनुसार हरपल देखाउँछन्। उनीहरू आधा घन्टाजति परम्परागत फुरुवादी नाच नाच्छन्।

डेढ घन्टा संस्कृति देखाएको पर्यटक समूहबाट १० हजार रुपैयाँ लिन्छन्। लुम्बिनीका होटल व्यवसायीको निम्तोमा होटलमै पुगेर उनीहरू पर्यटकलाई विरहा देखाउँछन्। स्थानीय संस्कृति संरक्षण एवं प्रवद्र्धनमा उनीहरूलाई स्थानीय होटलहरूले सघाउँदै आएका छन्। एसोसिएसनका महासचिव लीलामणि शर्मा भन्छन्, ‘विरहा संस्कृति लुम्बिनीको एउटा पर्यटकीय प्रोडक्ट बनेको छ। हाम्रो नगरपालिकाले यसलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ।’ विरहा गीतको इतिहास राजा रामचन्द्रसँग जोडिएको छ। रामचन्द्र वनबास गएपछि जनताले दुःख मनाउँदै विरहा गीत गाएका थिए। द्वापर युगदेखि विरहा गाउने चलन चलेको समूहका कोषाध्यक्ष नगेन्द्र यादवले जानकारी दिए। उनका अनुसार हिन्दू र बौद्ध दुवै भजन भोजपुरी भाषामा गाइन्छ।

विरहा गायनको उद्देश्य लोक सन्देश र मनोरञ्जन प्रदान गर्नु हो। समूहमा अध्यक्ष पाल, कोषाध्यक्ष यादवसँगै सचिव पुजारी पासवान, सदस्यहरू रामचन्द्र पाल, सीताराम लोध, जगननारायण लोध, रामवृक्ष हरिजन, अवधराम हरिचन, चिनक पासवान, रामसलिक हरिजन, साधु हरिजन र भरत तेली छन्। उनीहरू समय–समयमा सडक नाटक पनि देखाउँछन्।

नाटकमा महिला कलाकारहरू लक्ष्मी पासवान, शंख हरिजन, श्यामदुलारी लोधको पनि साथ रहने गर्छ। समूहलाई एलायन्स फाउन्डेसन फ्रान्सले चार महिनाअघि आर्थिक सहयोग गरेको थियो। उसको सहयोगबाट समूहले पहिरन र बाजागाजा किन्नुका साथै बर्दिया भ्रमण गरेका थिए। लुम्बिनी सांस्कृतिक नगरपालिकाले संस्कृति संरक्षणमा सहयोग गर्नुपर्ने समूहको माग छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App