१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थीको कपाल काट्न शिक्षकलाई तालिम

सिन्धुपाल्चोक– जिल्लाको थुम्पाखरस्थित कोल्दौङदेवी मावि टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घण्टा पैदल र अर्को एक घण्टा बस यात्राद्धारा खाडिचौर बजार पुग्थे। समय र पैसाको बर्बादी हुन्थ्यो, पढाइसमेत छुट्थ्यो। 

कपाल लामो हुँदै गएपछि चिन्तामा रहने कोल्दौङदेवीका विद्यार्थीको यो समस्या अब सँधैका लागि हटेको छ। विद्यालयले शिक्षक, अभिभावक र ‘सिनियर’ विद्यार्थीलाई कपाल काट्ने तालिम दिएको छ। बिगत केही दिनयता १५ जना विद्यालयमै तालिम लिइरहेका छन्। पाँच शिक्षक, पाँच विद्यार्थी र पाँच अभिभावक उत्साहका साथ तालिम लिन व्यस्त छन्। 

‘चाहेर पनि कपाल काट्न नपाउँदा विद्यार्थी जगल्टा पालेर विद्यालयमा आउन बाध्य भएपछि यो जुक्ति निकालेका हौँ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाले भने। उनका अनुसार तालिम सञ्चालन गरेयता झण्डै ५० विद्यार्थीको कपाल काटेर प्रशिक्षार्थीले सिकिरहेका छन्। ‘थोरै दिनमा पनि सहभागिले धेरै सिकिसकेका छन् ,’ उनले भने। तालिमपछि शिक्षकले विद्यालयमै विद्यार्थीको कपाल काटिदिने उनले बताए।

बुटवलदेखि आएका व्यवसायिक सैलुन सञ्चालक नारायण ठाकुरको समूहले कपाल काट्ने तालिम दिइरहेको छ। प्रशिक्षार्थीमा एक तहको आत्मविश्वास नभएसम्म तालिम दिइने विद्यालयले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा विद्यालयले कपाल काट्ने तालिम चलाएको हो। आवश्यक मात्रामा कपाल काट्ने कैँची, मेशिन, काईँयो, रुमाल लगायत सामग्री र प्रशिक्षक भत्ता घरेलुले सहयोग गरेको छ। ‘विद्यालयको प्रस्ताव रचनात्मक र उपयोगी लागेकाले सहयोग गरेका हौँ,’ बरिष्ठ घरेलु विकास अधिकृत कल्पना शर्माले भनिन्। 

सहभागिलाई ‘पुलिस कट’ तालिम दिइएको अध्यक्ष थापाले बताए। ‘अब शिक्षक, विद्यार्थी सबै एउटै ‘हेयर स्टाइल’ पुलिस कटमा विद्यालय उपस्थित हुने छन्,’ उनले भने। तालिमपछि महिनामा एक–दुई दिन सबै विद्यार्थीको कपाल काट्ने व्यवस्था मिलाइने उनले जानकारी दिए। उनका अनुसार हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार शिक्षकले विद्यालयमै विद्यार्थीको कपाल काटिदिने छन्। तालिम प्राप्त सिनियर विद्यार्थीले शिक्षकलाई सघाउने छन्। 

कपाल काट्ने तालिममा दुई शिक्षिका पनि सरिक छन्। उनीहरुले बाल विकास केन्द्र (तल्ला कक्षा) का बालबालिकाको कपाल हेरचाह गर्ने छन्। जिल्लाको नमूना सामुदायिक शैक्षिक संस्थामा गनिने यो विद्यालयमा पौने दुई सय विद्यार्थी अध्ययनरत छन्। प्रत्यक्ष कपाल काट्ने समस्या झेल्दै आएका छात्र संख्या मात्रै ७० भन्दा बढी छ। ‘शिक्षकले आपसमा आफ्नो कपाल काट्ने छन्। विद्यार्थीको पनि काटिदिने छन्,’ प्रधानाध्यापक शिव कार्कीले भने। 

तालिम लिएका अभिभावकलाई कपाल काट्ने सीप गाउँमा विस्तार गर्न प्रोत्साहन गरिने उनले बताए। शिक्षक विद्यार्थीको कपाल काट्नका विद्यालयले छुट्टै कोठाको व्यवस्था गरेको छ। कपाल काट्न तालिम प्राप्त शिक्षकलाई आलोपालोमा खटाउने विद्यालयको योजना छ। शिक्षकले विद्यार्थीको निशुल्क कपाल काटिदिनु पर्ने छ। केही दिनकै तालिमपछि शिक्षकले आफ्नो कपाल काटिदिँदा कक्षा १० मा अध्ययनरत प्रसान्त तामाङ फुरुंग देखिए। ‘अब हामीलाई सजिलो हुने भयो,’ उनले भने। 

विद्यालयले विद्यार्थीका उध्रिएका, च्यातिएका पोशाक शिलाउने व्यवस्था पनि गर्दै छ। यसका लागि घरेलु कार्यालयले दुई थान सिलाइ मेशिन उपलब्ध गराउने सहमति गरेको विद्यालयले जनाएको छ। छिट्टै शिक्षक, विद्यार्थी र अभिभावकलाई सिलाइ तालिम दिन लागिएको अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार सिलाइसँगै शिक्षिका र छात्रालाई घरेलु सामग्रीबाट सेनेटरी प्याड बनाउने तालिमसमेत विद्यालयले दिँदैछ।  

प्रकाशित: ४ जेष्ठ २०७६ १५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App