१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

फैलिँदै घृणाको ज्वालामुखी

शब्दशक्ति अमोघ अस्त्र समान हुन्छ। ‘अन्धाको छोरा अन्धा’ भनिन्, द्रौपदीले। ती शब्द फलामका कीला बनेर गाडिए दुर्योधनको मुटुमा। उनले बदला लिने विचार गरे। यस्ता उदाहरण अरू पनि पाइन्छन्। ‘वचनमा किन दरिद्र बन्छौँ’ अर्थात् ‘वचनम्, किम् दरिद्रम्’ भन्ने सन्देश दिए हाम्रा शास्त्रले। सरल, विनम्र, शालीन र शिष्ट शब्द तथा व्यवहारले मन जित्न सक्छ भने हप्काएर, ठुस्किएर, तर्साएर वा धम्क्याएर क्षणिक फाइदा त होला तर हृदय जित्न सम्भव छैन।

उच्च आसनमा बसेका कतिपय व्यक्तिको तुच्छ भाषा, शैली, संस्कार र व्यवहार जगजाहेर छ नेपालमा। तित्राको मुखै बैरी भने झैँ त्यस्ता व्यक्तिका कटु र अप्रिय शब्दहरूले आफैँलाई फसाउने र जग हसाउने काम मात्र गरिरहेको देखिन्छ। वचनमा विष मिसिएपछि त्यसले सामाजिक सद्भावसमेत बिथोल्ने सम्भावना रहन्छ। संसारमा जातिय विद्वेष, घृणा, अपमान, तिरस्कार र भेदभावले एकता बिथोलिएका कैयन् उदारहण छन्। ‘उग्र दक्षिणपन्थी’ हुन् वा घृणा–अपराध (हेट क्राइम) फैलाएर जात, धर्म, सम्प्रदाय र क्षेत्रका आधारमा मानवतालाई अवमूल्यन गर्नेहरू, ती सबैले दुराशय, दुर्भावना र दुष्ट भाषा प्रयोग गरेर अरूलाई ‘अपराधी’ प्रमाणित गर्न खोजेको पाइन्छ। कुनै पनि समुदाय वा जातमा सबै खराब वा असल हुँदैनन् तर भर्खर तोते बोल्न थालेका केटाकेटीलाई हामी फलानो जात वा धर्म खराब हुन्छ भनेर सिकाउँछौँ। खराब शब्द पनि सिकाउँछौँ। उनीहरूले स्वतन्त्र भएर सोच्नै पाउँदैनन्। यसले गर्दा हाम्रा पुर्खाले सिकाएको ‘वसुधैव कुटुम्वकम्’ (विश्वका सबै आफन्त हुन्) भन्ने मान्यता हराउँदै गएको छ।

व्यक्तिपूजा (पर्सनालिटी कल्ट) गर्ने प्रवृत्ति बढेको छ भने घृणाको ज्वालामुखी फैलाएर आफू मात्र असल र अरू सबै खराब हुन् भन्ने सन्देश दिन खोजिएको छ।

सानो उमेरका विद्यार्थीलाई अंग्रेजी पढाउँदै कक्षामा शिक्षकले घोकाए– ‘दिस् इज माइ हेड’ (यो मेरो टाउको हो।), शिक्षकले आफ्नो टाउको देखाएका थिए। घरमा पुगेर विद्यार्थीले घोक्न थाल्यो– ‘दिस इज माइ हेड– यो सरको टाउको हो।’ बालकका बाबुले सम्झाए– ‘सरको टाउको होइन, मेरो टाउको भन्।’ भोलिपल्ट पाठ बुझाउँदा विद्यार्थीले कुटाइ खायो। त्यसपछि घरमा आएर पुनः पढ्न थाल्यो, हिजोकै पाठ। ‘दिस इज माइ हेड– घरमा बुवाको टाउको, स्कुलमा सरको टाउको।’

नेपाली जनताको अवस्था त्यस्तै छ आज। वामपन्थीले कांग्रेसहरू सोह्रै आना खराब हुन्छन् भन्न सिकाए। कांग्रेस दलले वामपन्थी सबै खराब छन् भन्न सिकाए। कतिपय असल चरित्रका मानिस ओझेलमा परे। ज्ञानी, सज्जन र इमान्दारहरू तुच्छ बोल्न सक्दैनन्। एकाउन्न प्रतिशत सांसदको आचरण गैरजिम्मेवार, असंसदीय, अराजनीतिक र मर्यादाहीन भए पनि संसदीय अंकगणितमा त्यो बहुमत नै ठहरिन्छ। त्यसमाथि ‘दुईतिहाइ’ पुग्यो भने त सत्तारुढ दलको हठ र अहंकार ‘ओभर फ्लो’ हुने रहेछ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसकको संख्या जति छ, आलोचक र विरोधी पनि त्यति नै होलान्। समर्थक भन्छन्– ‘उनी कट्टर हिन्दु हुन्।’ तर राजनीति शास्त्रले कुनै धर्मको ज्ञाता, समर्थक वा दार्शनिक मात्र हुनु प्रधानमन्त्री बन्ने सम्पूर्ण योग्यता होइन भनेको छ। प्रधानमन्त्री सबैको अभिभावक पनि हो। तसर्थ त्यो कुनै दलको मात्र हुन सक्दैन। प्रधानमन्त्री बन्ने व्यक्तिले कुनै एउटा धर्म, जात वा सम्प्रदाय र क्षेत्रप्रति मात्र आशक्ति राखेर पुग्दैन, समग्र राष्ट्रलाई आफ्नो ठान्न सक्नुपर्छ। सबै जातजातिको सम्मान गर्न सक्नुपर्छ। त्यस्तै संविधानको सम्मान, विधिको शासन र सुखानुभूतिको आभास गराउनुपर्छ।

वामपन्थीले कांग्रेसहरू सोह्रै आना खराब हुन्छन् भन्न सिकाए। कांग्रेस दलले वामपन्थी सबै खराब छन् भन्न सिकाए। कतिपय असल चरित्रका मानिस ओझेलमा परे।

भगवान् कृष्णले गीतामा भनेका छन्– ‘सत्यका पक्षमा उभिनुपर्छ। असत्यका पक्षमा उभिनेहरू हाम्रा वैरी हुन्।’ यसले धर्म मात्र होइन, जीवन दर्शन पनि एउटा धर्मयुद्ध नै हो भन्ने सन्देश दिन्छ। तर त्यस्तो धर्मयुद्धले राष्ट्रको हित गर्नुपर्छ। मोदीका पक्षधर अन्धसमर्थकजस्तै देखिएका छन् आज। भारतमा कंग्रेसको अवस्था पनि त्यस्तै छ। कैयन् दलहरू त्यहाँ व्यक्ति पूजामा रमाएका छन्। त्यसको नक्कल गरेर नेपालजस्ता देशमा समेत व्यक्तिपूजा (पर्सनालिटी कल्ट) गर्ने प्रवृत्ति बढेको छ भने घृणाको ज्वालामुखी फैलाएर आफू मात्र असल र अरू सबै खराब हुन् भन्ने सन्देश दिन खोजिएको छ।

‘इँटाको जबाफ ढुंगाले’ दिनुपर्छ’ भन्ने अभिमान सिकाएर कार्यकर्ताहरूलाई समेत नेताहरू उत्तेजित बनाउँदै छन्। व्यक्तिगत गालीगलौजबाट माथि उठ्न सकेन, दक्षिण एसियाको राजनीति। हालै प्रकाशित टाइम पत्रिकाले नरेन्द्र मोदीलाई ‘चिफ डिभाइडर’ भन्ने आरोप लगाएको छ। मोदीले हिन्दुलाई मात्र काखी च्याप्ने र मुसलमानलाई हेप्ने गरेको पश्चिमा सञ्चारमाध्यमहरूको विश्लेषण छ। मोदी र उनका कतिपय कार्यकर्ताले बेलाबखत देखाएको धार्मिक उन्मादले भाजपालाई त फाइदा होला तर भारतको राष्ट्रिय एकता त्यसले कमजोर बनाउँछ भन्ने भारतीय विश्लेषकहरूको समेत तर्क छ। त्यसैले कतिपयले मोदी अर्को मिखाइल गोर्वाचोभ बन्ने हुन् कि भन्ने आशंका व्यक्त गरेका छन्।

सानो राष्ट्र भए पनि भुटानी राजनीतिमा घृणा उमार्ने शब्दहरू प्रयोग भएको सुनिँदैन। भुटानमा मात्र होइन, कैयन् साना राष्ट्रहरू समेत शान्त, शिष्ट, मर्यादित र शालीन भाषा प्रयोग गरेर राजनीतिमा टिकेका छन्। व्यक्तिगत ढंगले चुनाव लड्नुपर्ने पञ्चायतकालमा राष्ट्रिय पञ्चायत (संसद) को चुनावका बेला नगन्य केही नेताले बाहेक अरूले शिष्ट र मर्यादित भाषा नै प्रयोग गर्थे। उनीहरू आफ्ना नीति, कार्यक्रम र योजना जनतालाई सुनाउँथे। वडादेखि गाउँ र नगरपञ्चायतसम्म काम गरेपछि मात्र जनताले उनीहरूलाई सांसद बन्न योग्य ठान्थे। तसर्थ पर्यटक बनेर आएका अर्को जिल्लाका नेता सांसद हुने सम्भावना थिएन। आफ्नै गाउँठाउँमा, जनताका सुखदुःखमा सहभागी भएका मानिसले मात्र त्यस्तो अवसर पाउँथे। इलामका भगवतीदास श्रेष्ठ र सोमनाथ बाँस्तोला हुन् वा कञ्चनपुरका लबरु राना थारु हुन्, पर्साका जयप्रकाश हुन् वा रसुवाका दावा फिन्जो तामाङ, सबै जनतामा भिजेका नेता थिए। अहिले त्यो अवस्था छैन। पार्टीले टिकट दिएपछि सहरमा जन्मिएर हुर्किएका मानिस पनि विकट गाउँको जनप्रतिनिधि हुन सक्छ। तर उसलाई त्यहाँको पीडा, सुख, दुःख र शिष्टाचारसमेत ज्ञान हुँदैन।

अमेरिकी नेता किङ् मार्टिन लुथर मारिए। अश्वेत थिए उनी। जातीय घृणा फैलिँदैछ, अमेरिकामा आज पनि। त्यो प्रजातन्त्र होइन। प्रजातन्त्रमा त सबैको सम्मान हुन्छ। हिटलरले लाखौँ यहुदी मारे। लाखौँ तुत्सी र हुतु मारिए, रुवान्डा, कंगो र बुरुन्डीमा। सुडानदेखि सोमालिया, मोजाम्बिक, सियरालिओन, अंगोला, इथियोपियासम्म, जताततै फैलियो घृणाको ज्वालामुखी। त्यसैले चीनको तिब्बत होस् वा भारतीय भूखण्डमा पर्ने उत्तर प्रदेश, बिहार वा बंगाल, जहाँ अशान्ति फैलियो भने त्यहाँका मानिस लुक्ने ठाउँ नेपाल नै हुनेछ। घृणा, अपमान र विद्रोहको आगो फैलिँदा हामी सुरक्षित रहँदैनौँ। राष्ट्रिय  सुरक्षा र अन्तर्राष्ट्रिय चासो एक अर्कासँग गाँसिएका छन्। यही कारण धुँवा, कुहिरो वा तुवाँलो फैलाएर विदेशीहरू नेपालमा ज्वालामुखी विस्फोट गराउन खोजिरहेका छन्।

कैलालीको टीकापुरमा भएको हिंसाले सन्देश दियो– घृणाको बीउ झाँगिदै गएको छ। तर सुरक्षाका अंग हिजोभन्दा आज निर्धा देखिएका छन्। जब आगो लाग्छ तब राजनीतिक दल काम लाग्दैनन्। बरु सामाजिक सद्भाव स्थापना गर्न सक्ने सज्जन मानिस नै काम लाग्छन्। दल, गुट, क्षेत्र वा जातका नाममा लडाइँ गराउने स्वार्थीहरूले राष्ट्रका लागि कुनै योगदान गर्दैनन्। एउटा दल र जातको बिल्ला भिर्नुभन्दा ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने विशाल हृदय बोक्नु बुद्धिमानी हुन्छ। दुर्भाग्य ! आफूलाई ‘राष्ट्रवादी’ भन्न लजाउनेको संख्या बढ्दैछ नेपालमा। दल र जातका नेता बर्खाका च्याउसरी देखिन्छन्। तर प्रबल राष्ट्रवादी नेता खोजिरहेका छौँ हामी।

उत्तर र दक्षिण कोरिया एकै थिए, कुनै बेला। सुडान एउटै थियो। बंगाल एउटै थियो। कुर्दिस्तान एकै थियो। पूर्वजर्मनी विश्वमानचित्रबाट हरायो। युगोस्लाभिया चकनाचुर भएझैँ दक्षिण भियतनाम पनि हरायो। ६ सय वर्षपछि अटोमन साम्राज्य हरायो। कतिलाई विदेशी शक्तिले अस्तित्वहीन बनायो, कतिलाई लठैत नेतृत्वले। हामी नेपालीले शरणार्थी हुनुपरेको छैन। त्यसैले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र अस्मितालाई धेरैले ख्यालठट्टा मात्र मानेको देखिन्छ। कुनै दिन नेपाल अस्तित्वहीन बन्यो भने त्यसबेला राष्ट्र बचाउन कुनै परमेश्वर आउने छैनन्। राष्ट्र बचाउने जनताले नै हो। सरकारी तलबभत्ता खानेहरूलाई त राष्ट्रको भन्दा जागिरको बढी माया छ। नत्र उनीहरू यस्तो अस्थिर र डरलाग्दो अवस्थामा मौन बस्ने थिएनन्।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App