१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सय आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु – सगरमाथा आरोहणको तेस्रो दिन बिहीबार करिब सयजनाले सगरमाथाको आरोहण गरेका छन् । वसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयजनाले आरोहणमा सफलता पाएका हुन् ।

पहिलो दिन मंगलबार आठजना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको थियो । बुधबार करिब ५० आरोही शिखरमा पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधारशिविरबाट जानकारी दिए । यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका तीन सय ७८ आरोहीले अनुमति पाएका छन्, जसमा १३ नेपाली छन् । आधार शिविरमा आरोहीका सहयोगी, सरकारका सम्पर्क अधिकृत छन् भने त्यसभन्दा माथि आरोहण दलका सदस्यहरू छन् । क्याम्प ४ सम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराको बन्दोबस्तीका साथ राखिएको बताइएको छ ।

सगरमाथाको सफल आरोहण गरिसकेका आरोहीहरू फर्किंदै छन् । २३औं पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पाको टोलीले बिहीबार आधार शिविरबाट नाम्चेका लागि यात्रा तय गरेको सरकारका सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार र बिहीबार शिखरमा पुगेकाहरू पनि फर्कंदै छन् । शुक्रबारदेखि आरोहण रोकिनेछ । मौसम प्रतिकूलताको सम्भावना देखिएकाले अब मे २१, २२ र २३ मा आरोहीले सगरमाथा चढ्नेछन् । गत वर्षको यो सिजनमा १५ नेपालीसहित तीन सय ६४ जनाले आरोहण अनुमति लिएका थिए ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App