१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थीलाई बाँडियो जंगफुड

रौतहट - ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता र निमित्त प्रशासकीय प्रमुख नन्दकिशोर गुप्ताले दिवाखाजाको रूपमा विद्यार्थीलाई चाउचाउ बाँडेका छन्। उनीहरूले मारवाडी टोलस्थित औरैया प्राविका विद्यार्थीलाई लाइनमा उभ्याएर प्रतिबन्धित जंकफुड चाउचाउ बाँडेका हुन्।

सरकारले विद्यालय क्षेत्रमा जंगफुड (चाउचाउ, चिजबलआदि) बेच्न रोक लगाएको अवस्थामा सो नगरपालिकाले विद्यालयमै चाउचाउ बाँडेर दिवाखाजाको सुरुआत गरेको देखिएको छ। नगरप्रमुख मेहता भन्छन्, ‘विद्यार्थीलाई चाउचाउ बाँडेर विद्यालयमा दिवाखाजाको सुरुआत गरेका छौं।’

चार माविसहित २१ विद्यालय रहेको ईशनाथमा दिवाखाजा कार्यक्रम निकै ढिलो सुरु गरिएको छ। सरकारले विद्यालयमा उपस्थित विद्यार्थीको हाजिरीको आधारमा दैनिक १५ रुपैयाँ खाजाबापत दिने गरेको छ। रकमको निकासा गत माघमै भए पनि ईशनाथ नगरपालिकाले दिवाखाजा जेठ १ देखि मात्र सुरु गरेको हो। स्वास्थ्यका लागि अत्यन्त हानिकारक चाउचाउलाई नगरप्रमुख तथा प्रशासकीय प्रमुखले विद्यालयमै पुगेर वितरण गरेपछि अखाद्य वस्तुको प्रयोग विद्यालयमा बढ्ने देखिएको छ। बालबालिकालाई खाजाको रूपमा चाउचाउ प्रयोग गर्नबाट रोक्न सरकारले विद्यालयको हाताभित्र र विद्यालयको नजिक यस्ता खाद्य पदार्थ नबेच्न पहिले नै परिपत्र गरिसकेको छ।

करिब पाँच हजार विद्यार्थी अध्ययनरत ईशनाथ नगरपालिकामा १३÷१४ रुपैयाँ पर्ने चाउचाउको प्याकेट वितरण गरेको नगरप्रमुख मेहताले स्विकारेका छन्। टिफिनको समयमा विद्यार्थी विद्यालय छाडेर घर जाने र फर्केर नआउने भएपछि विद्यार्थी पलायन रोक्न सरकारले दिवाखाजा कार्यक्रम सञ्चालन गरेको हो। स्वास्थ्यलाई हानि नगर्ने पोषक तŒवयुक्त खाजा हुनुपर्ने निर्देशिकामा रहेको छ। तर नगरप्रमुख र प्रशासकीय प्रमुखले नै उत्साहपूर्वक चाउचाउ बाँडेर दिवाखाजाको सुरुआत गरेपछि विद्यालयहरूले पाँच रुपैयाँ पर्ने चाउचाउ बाँडेर १५ रुपैयाँको बिल बनाउने आशंका बढेको स्थानीय बताउँछन्।
फोटो क्याप्सन ः रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता विद्यार्थीलाई चाउचाउ वितरण गर्दै।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App