१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकास बजेटले गाडी किन्दै संसद्

काठमाडौं - अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

संसद् सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो। पाँचवटा गाडी खरिद गरेको महिना दिन पनि बित्न नपाउँदै संसद् सचिवालयले फेरि ११ गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो।

संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ। सचिवालयले दुई वर्षयता २३ वटा गाडी किनिसकेको छ। अब ११ वटा गाडी खरिद भएमा यो संख्या ३४ पुग्नेछ। दुई वर्षअघि २०७४ जेठमा संसद् सचिवालयले १२ स्कारपियो र ६ वटा ह्याच ब्याक कार खरिद गर्दा सात करोड २२ लाख रुपैयाँ खर्च भएको थियो।

अर्थ मन्त्रालय स्रोतका अनुसार यसअघि रकम अभावका कारण गाडी खरिदका लागि स्वीकृति दिइएको थिएन तर अहिले विकास खर्चका लागि छुट्याएको रकम खर्च नभएपछि रकमान्तर गरी गाडी किन्नलाई स्वीकृति दिइएको हो। स्रोतले गाडी खरिदका लागि सभामुख कृष्णबहादुर महराबाट पनि दबाब आएको दाबी ग¥यो।

संसद् सचिवालयले दुई वर्षयता २३ वटा गाडी किनिसकेको छ। अब ११ वटा गाडी खरिद भएमा यो संख्या ३४ पुग्नेछ।

संसद् सचिवालयले गत कात्तिक १७ गते २२ गाडी खरिदका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो। सचिवालयले संसदीय समितिका सभापतिका लागि १६, सचिवालयका लागि चार, राष्ट्रियसभा अध्यक्षका लागि एक र प्रतिनिधिसभा उपसभामुखका लागि एउटा गाडी खरिद गर्न अर्थ मन्त्रालयसँग १७ करोड रुपैयाँ माग गरेको थियो। संसद् सचिवालयले तत्कालै ११ गाडी खरिद गर्ने र त्यसपछि ६ वटा गाडी खरिदका लागि पत्र पठाउने तयारी गरेको सचिवालय स्रोतले बतायो।

संसदीय समिति गठन भएपछि सबै समिति सभापतिलाई सचिवालयमा रहेका राम्रामध्येका गाडी नै दिइएको थियो। २०७४ जेठमा किनिएका स्कारपियो जिप विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, शिक्षा समिति सभापति जयपुरी घर्ती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तव, सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले लगेका छन्। बाँकी ११ समितिका सभापतिले सभामुखसँग नयाँ गाडी आएपछि ‘हामीलाई हो है’ भन्दै लबिङ गर्न थालेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७६ ००:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App