१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एसियाली आदानप्रदानमा चिनियाँ जोड

बेइजिङ - चीनका राष्ट्रपति सी चिन फिङले एसियाली सभ्यताको नयाँ अध्याय लेख्न एसियाले सभ्य विश्वास बढाउनुपर्ने र विश्वका अरु सभ्यतासँगको आदानप्रदान तथा पारस्परिक अध्ययन कायम राख्नुपर्ने बताएका छन्। बेइजिङ एसियाली सभ्यता संवाद सम्मेलनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति सीले मानव जातिको साझा चुनौती सामना गर्न आर्थिक तथा वैज्ञानिक शक्तिमात्र नभई सांस्कृतिक सभ्यता शक्ति पनि चाहिने औंल्याए।

एसियाका ४७ राष्ट्र सहभागी सम्मेलनको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी मुख्य वक्ता थिए। सन् २०१५ मा पोआवो एसिया मञ्चमा एसिया सभ्यता संवाद सम्मेलनको प्रस्ताव सीले नै गरेका थिए। त्यसपछि चीनले एसिया सभ्यता संवाद सम्मेलनको आयोजना गर्दै आएको छ। ‘एसियाली सभ्यता आदानप्रदान तथा आपसी पारस्परिक सिकाइ र एसियाको साझा समुदाय’ मुख्य विषय रहेको सम्मेलन एक साता चल्नेछ। बेइजिङमा मुख्य सम्मेलन बुधबारदेखि शुक्रबारसम्म चल्नेछ भने चीनका अन्य सहरमा विविध एसियाली सांस्कृतिक महोत्सव आयोजना हुनेछन्। सम्मेलनमा कम्बोडिया, ग्रिस, सिंगापुर, श्रीलंका, अर्मानिया, मंगोलियालगायतका मुलुकका राष्ट्रनायक र सरकार प्रमुख सहभागी छन्। त्यसैगरी युनेस्कोलगायत अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरु पनि सम्मेलनमा सहभागी छन्। सम्मेलनमा दुई हजारभन्दा बढी विदेशी प्रतिनिधि सहभागी छन्।

‘एसियाली सभ्यता आदानप्रदान तथा आपसी पारस्परिक सिकाइ र एसियाको साझा समुदाय’ मुख्य विषय रहेको सम्मेलन एक साता चल्नेछ।

सम्मेलन समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले वर्तमान विश्वमा बहुपक्षीयता, अर्थतन्त्रको वैश्वीकरण (ग्लोबलाइजेसन), सांस्कृतिक विविधता देखिएको भन्दै मानवीय समाजले धेरै आशा पालेको उनले बताए। अन्तर्राष्ट्रिय परिस्थितिको अस्थिरता र अनिश्चितताजस्ता प्रतिकूल अवस्थामा मानव जातिका लागि अझै गम्भीर चुनौती थपिएको भन्दै राष्ट्रपति सीले एसियाली सभ्यता संवाद सम्मेलनले विश्वका विभिन्न मुलुकको सभ्यताबीचको वार्ता र आदानप्रदानलाई प्रवद्र्धन गर्न एक नयाँ मञ्च सिर्जना गरेको बताए। नेता सीका अनुसार एसिया मानव सभ्यता विकासका सबैभन्दा प्राचीन थलोमध्ये एक हुनुका साथै मानव जातिको सभ्यताको महŒवपूर्ण मूल ठाउँ पनि हो।

चीनले अगाडि सारेको बिआरआई र युरो–एसियाली आर्थिक संघले सांस्कृतिक आदानप्रदान तथा पारस्परिक अध्ययनको तरिकालाई विस्तृत पारेको सीले बताए। एसियाभित्र तथा विश्वको सभ्यतासँगको आदानप्रदान तथा पारस्परिक अध्ययन क्रममा एसियाली सभ्यताको विकास भइरहेको उनको भनाइ थियो। यसले विश्व सभ्यताका लागि प्रशस्त सभ्य छनोट प्रदान गरेको भन्दै राष्ट्रपति सीले एसियाली सभ्यता आदानप्रदान र पारस्परिक अध्ययनबारे चार सूत्रीय अडान पनि प्रस्तुत गरे। उनले सभ्यताको निरन्तर विकासबाट युगको प्रवाह संयोजन गर्नुपर्ने भन्दै पुरानो कुरा हटाएर नयाँ कुरा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। दीर्घकालीन आकर्षण रहने सभ्यताको उपलब्धि निरन्तर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

विभिन्न मुलुकसँग एसियाली पर्यटन अभिवृद्धि योजना कार्यान्वयन गर्न, एसियाको आर्थिक विकास बढाउन एसियाली जनताको मैत्री सम्बन्धलाई अझै घनिष्ट पारेर अझै ठूलो योगदान दिने आशा लिएको उनले बताए। आदानप्रदान बढाएर एसियाली भाग्य समुदाय र मानवजातिको भाग्य समुदायको मानव आधारलाई बलियो बनाउन विभिन्न मुलुक, जाति र संस्कृतिलाई चिनियाँ राष्ट्रपति सीले आह्वान गरेका छन्। उनले सभ्यता विविध भएकाले आदानप्रदान गर्न र आदानप्रदानबाट आपसी सिकाइ हुने र आपसी सिकाइबाट विकास हुने कुरालाई सिलसिलेबार रुपमा प्रस्तुत गरे।

उनले आपसी सम्मान, आपसी समानता, आपसीलाई सहयोगबाट संयुक्त विकास, खुला र उदार समाज सिर्जना गर्नसकिने तर्क गरे। विभिन्न मुलुकले सभ्यता आदानप्रदानमा विद्यमान बाधा हटाएर खुला रुपमा अन्य सभ्यताबाट सिक्नुपर्ने भन्दै सीले थपे, ‘एसियाका विभिन्न मुलुकसँगै मिलेर चीनले किशोरकिशोरी, गैरसरकारी समुदाय, स्थानीय सरकार र सञ्चारमाध्यमबीचको आदानप्रदानलाई सबल पार्दै बौद्धिक आदानप्रदान सञ्जाल स्थापना गरेर सहकार्यको नयाँ तरिका सिर्जना गर्ने अपेक्षा लिएका छौं।’ विभिन्न किसिमको सहकार्यलाई वस्तुगत र गहन पारेर एसियाले सभ्यता आदानप्रदानको वातावरण तयार बनाउने कुरामा उनले जोड दिए।

प्रकाशित: २ जेष्ठ २०७६ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App