१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठकः शून्य समयमा कसले के भने ?

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्ने सदस्यहरुले आ–आफ्ना क्षेत्रगत तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका बहुवर्षिय आयोजनाहरु निर्माण रोकिएको भन्दै प्रदेशसरकारसँग समन्वय गरेर आयोजना कार्यन्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै राष्ट्रियसभा सदस्य नन्दा चपाईले स्थानीय पुर्वाधार विकास कोषको बजेट विनियोजन गर्दा सबै सांसदलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सांसदहरुले जनताका फाईल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न एक बर्ष अघि अध्यक्षले दिएको निर्देशन अझै पनि कार्यन्वनय नभएको र सांसदहरु मन्त्रालय धाउनुपर्ने अवस्था कायमै भएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले प्राविधिक कारण देखाउँदै राहदानी विधेयक प्रतिनिधिसभाले मात्रै पारित गरिनुले राष्ट्रियसभाको औचित्य र गरिमामाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण गराए। यसले राष्ट्रियसभालाई छलेर पारित गर्ने सरकारको बदनियत उदाङ्ग भएको र सचिवालयको कमजोरी पनि देखिएकाले यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे। उनले राष्ट्रियसभामा उत्पत्ति भएको राहदानी विधेयक प्रतिनिधिसभाले मात्रै पारित गरि प्रमाणिकरण गर्ने स्थिति कसरी श्रृजना भयो भन्दै प्रश्न गरे।

राष्ट्रियसभा सदस्य महेशकुमार महराले बैशाख पहिलो हप्ता देखि डडेल्धुराको भित्रि मधेसमा रहेका १ सय ६५ सामुदायिक वन मध्य अधिकांशमा आगो लागेर हजारौं क्वीफिट काठ नष्ट भएको उनले बताए। अहिले पनि आगो नियन्त्रणमा आइनसकेकाले आगो नियन्त्रणका लागि पहल गर्न संघीय सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य युटोल तामाङले विगतमा यार्चा गुम्बा संकलनकर्ता र व्यवसायीको शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए। मुगु जिल्लाको उच्च हिमामी क्षेत्रमा पाईने यार्चा गुम्बा संकलनका लागि जेठ १५ देखि प्रवेश खुल्ला गरिएको छ।

बैठकले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको अर्को बैठक जेठ ५ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App