१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा महिला पत्रकारको हत्या

राजधानी काबुलमा शनिबार गोली हानी हत्या गरिएकी पत्रकार मिना मंगल। तस्बिर: एजेन्सी

काबुल – अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो। पत्रकार मंगल राजनीतिमा पनि सक्रिय थिइन्। राजनीतिमा आउनुअघि उनी एक टेलिभिजन प्रस्तोता थिइन्। हाल उनी राजनीतिक सल्लाहकारका  रूपमा कार्यरत रहेको एएफपीले उल्लेख गरेको छ।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मंगलको हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ तर हत्यामा संलग्न को हुन् भन्ने बारेमा भने अझै प्रस्ट नभइसकेको एएफपीले उल्लेख गरेको छ।

मंगलको हत्याको पछाडिको उद्देश्य हालसम्म प्रष्ट नभए पनि उनको परिवारमा कलह रहेको विवरण बाहिरिएका कारण अनुसन्धानको एउटा पाटो यो पनि हुनसक्ने बताइएको छ। आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेला मंगलको शनिबार गोली हानि हत्या भएको बताएको छ।

अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा काम गर्न गइरहेकै बेला मंगलको स्थानीय समयअनुसार बिहान सात बजेर २० मिनेटमा गोली हानी हत्या भएको आन्तरिक मन्त्रालयले जारी गरेको एउटा विज्ञप्ति उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन्।

उनीहरुले पत्रकार मंगलको हत्यारालाई कारबाही माग गरेका छन्। साथै यस्ता हत्याका घटनामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि पनि उनीहरुले माग गरेका छन्। अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, सर्वोच्च अदालत, महिलाविरुद्धका हिंसासम्बन्धी आयोग र नागरिक समाजका प्रतिनिधिले यस हत्याबारे गम्भीर रूपमा अनुसन्धान गर्न माग गरेको एएफपीले उल्लेख गरेको छ।

‘पत्रकार मंगलले केही दिनअघि फेसबुकमा एउटा स्टाटस राख्दै आफूलाई चेतावनी आएको र आफ्नो ज्यान जानसक्ने भन्दै डर प्रकट गरेकी थिइन्,’ प्रभावशाली महिला अधिकारवादी वाज्मा फोगले ट्विट गरेकी छन्। घरेलु हिंसा भएको भन्दै मंगल दुई वर्षअघि आफ्नो पतिसँग छुटिएकी थिइन्। त्यसबेला उनले घरेलु हिंसाबारे उजुरी पनि दर्ता गरेको अफगान महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता जाम्सिद रसुलीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सो उजुरीलाई पारिवारिक हिंसा अदालतमा पठाइएको र पछि मंगलको परिवारले आलोचना गरेपछि सो मुद्दा खारेजीको निर्णय भएको उनले बताएका छन्।

‘पारिवारिक विवादसम्बन्धी मुद्दाका कारण मैले एक बौद्धिक र सक्रिय छोरी गुमाएको छु,’ पत्रकार मंगलका पिताले बिबिसीसँग बताए। ‘सरकारले काम गरेर खाने मेरी छोरीलाई किन सुरक्षा गर्न सकेन र मैले किन मेरी छोरी गुमाएँ भनेर म प्रश्न गर्न चाहन्छु। म मेरा अन्य छोरीहरुलाई सुरक्षा दिन र घरबाट बाहिर निस्केर समाजको सेवा गर्ने अन्य महिलाको सुरक्षा गर्न पनि सरकारसमक्ष आग्रह गर्दछु,’ उनले बताए। पत्रकार मंगलको हत्यासम्बन्धी समाचार बाहिरिएलगत्तै अफगानिस्तानको सामाजिक सञ्जालमा महिलामाथि हुने विविध हिंसाबारे तीब्र गतिमा बहस चलिरहेको छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App