१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

डेढ वर्षभित्र तनहुँका सबै घरधुरीमा बिजुली

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको भवन। तस्बिरः नागरिक

तनहुँ– तनहुँमा डेड वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण हुने भएको छ। हालसम्म विद्युत् सेवा पुग्न नसकेका तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको हो। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा डेड वर्षभित्र सबै स्थानमा विद्युत् सेवा पु-याउन काम तीव्र रूपमा भइरहेको जनाएको छ।

हालसम्म तनहुँमा कुल ८२ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ भने चालू आर्थिक वर्षभित्र दुई हजार घरधुरी अर्थात ३ प्रतिशत विद्युतीकरण गर्ने केन्द्रको लक्ष्य रहेको  नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले बताए। जिल्लाका ७८ हजार घरधुरीमध्ये यही असारसम्म ८५ प्रतिशत घरधुरीमा बिजुली पुग्ने र बाँकी घरधुरीमा डेढ वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य रहेको गोसलीले जानकारी दिए।

चालू आर्थिक वर्षमै रिसिङ गाउँपालिका नाजुङका १२०, आँबुखैरेनी गाउँपालिका–६ ढेडगाउँका ११०, बन्दीपुर गाउँपालिका–६ ग्याजाटारका ९६, साराङघाटका ११०, घरधुरीमा बिजुली बलिसकेको केन्द्रले जनाएको छ।त्यस्तै, यसै आर्थिक वर्षभित्र रिसिङ गाउँपालिका–२ दुवुङका १२०, खाल्टुभञ्ज्याङका १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकका ६० र व्यास नगरपालिका–१३ सुढेपुलका १५ घरधुरीमा बिजुली पु-याउन विद्युतीकरणको काम भइरहेको केन्द्र प्रमुख गोसलीले बताए।

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सबस्टेसन निर्माण भइरहेको छ। उक्त सबस्टेसनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु-याइनेछ। साथै सोही सबस्टेसनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायत ग्रामीण बस्तीमा बिजुली सेवा पु-याइनेछ।

आफ्नै साधनस्रोत र तनहुँ जलविद्युत् आयोजनाले आयोजनाप्रभावित क्षेत्रका लागि एडिबीमार्फत प्राप्त हुने ८५ करोड रुपैयाँबाट विद्युतीकरण गरिने गोसलीले बताए।‘कुनै बाधा अवरोध नभएको खण्डमा डेढ वर्षभित्र सबै घरधुरीमा बिजुली पुग्छ,’ उनले भने।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा डेड वर्षभित्र विद्युत् सेवा पु-याउनकाम तीव्र रूपमा भइरहेको जनाएको छ।


केन्द्रले भोल्टेज नपुगेको र बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ। जसअनुसार व्यास नगरपालिकामा सात, बन्दीपुर गाउँपालिकामा चार, भानु नगरपालिकामा चार स्थानमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ।

केन्द्रले नांगो तार विस्थापन अभियानसमेत सञ्चालन गरिरहेको छ। जसअनुसार हालसम्म व्यास नगरपालिका–१, २, ३ र बन्दीपुर गाउँपालिकाका केही ठाउँमा नांगो तार विस्थापन गरी इन्सुलेटर तार परिवर्तन गरिएको छ। कार्यालयले अर्थिङ सुधार, ड्रपआउट र फ्युज परिवर्तनका लागि चालू आर्थिक वर्षमा साढे चार करोड बजेट विनियोजन गरेको थियो।

दुई वर्षभित्र काठेपोल विस्थापन गरिने
तनहुँका विभिन्न स्थानमा विद्युतीकरणका लागि प्रयोग भएका काठेपोल विस्थापित गरिने भएको छ। केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियान अगाडि बढाएको जनाएको छ। तनहुँभर १२ हजार काठेपोल रहे पनि यस वर्ष तीन हजार काठेपोल विस्थापन गरिने गोसलीले बताए।

मोसलीका अनुसार काठेपोल विस्थापनका लागि प्रदेश सरकारमार्फत स्थानीय तहमा दुई हजार ६ सय पोल आएको र केन्द्रको समेत आफ्नै कार्यक्रममार्फत काठेपोल विस्थापनको तयारी भइरहेको छ। दुई वर्षभित्र जिल्लाका सबै स्थानका काठेपोल विस्थापन गरिने केन्द्रप्रमुख गोसलीले बताए।

प्रकाशित: २९ वैशाख २०७६ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App