१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ठेलो प्रवद्र्धन गर्न प्रतियोगिताको तयारी

शिक्षासेवी जर्ज जोनलाई खादा लगाई सम्मान गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ। तस्बिर धन/नागरिक

पोखरा -  ठेलो (छेलो) हान्ने नेपाली समाजको पुरानो परम्परा हो। गाउँघरतिर अझै पनि मेला–महोत्सवमा ठेलो हान्ने प्रतियोगिता आयोजना हुँदै आएको छ। बजार क्षेत्रमा भने खासै परम्परागत यो खेल खेलिएको देखिँदैन।

तर, अब गण्डकी प्रदेश सरकारले ठेलो हान्ने खेललाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य र योजना बनाएको छ। त्यसका लागि आवश्यक नीतिनियम बनाई व्यवस्थापन गर्ने उल्लेख गरेको छ। भूतपूर्व खेलाडी मञ्च नेपालले पनि परम्परागत खेललाई प्रतियोगिताकै रूपमा आयोजना गर्ने उल्लेख गरेको छ।

नेपाली मौलिक परम्परागत ठेलो हान्ने खेल पछिल्लो समय हराउँदै गएको छ। खेतको एउटा कान्लाबाट अर्को कान्ला ठेलो फाल्ने प्रचलन कतै अझै पनि छ। गाउँघरमा यदाकता अझै पनि यो खेल देख्न र हेर्न भने सकिन्छ। नयाँ पुस्तालाई यो खेलका बारे जानकारी नै छैन। हराउँदै गएको परम्परागत खेललाई संरक्षण, संवद्र्धन गर्दै अन्तर्राष्ट्रियकरण गर्ने भूमिका भने प्रदेश सरकाले खेल्ने उल्लेख गरेको छ। प्रदेश सरकारले ठेलोसँगै तारो हान्ने ९धनुषबाण० खेललाई पनि अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु-याउनुपर्नेमा जोड दिएको छ।

‘ठेलो र धनुषबाण हान्ने परम्परागत खेलको विकास र विस्तार गर्दै अन्तर्राष्ट्रियकरण गर्नुपर्छ,’ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शनिबार भूतपूर्व खेलाडी मञ्च नेपालको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने, ‘आधुनिक आर्चरी त छँदैै छ, तर परम्परागत धनुषबाणलाई पनि अन्तर्राष्ट्रियकरण गर्नेतर्फ अग्रसर हुनुपर्छ। नेपाली मौलिक खेललाई प्रवद्र्धन गर्न जरुरी छ।’ उनले नेपाली मौलिक खेलको रूपमा रहेको भन्दै दुवै खेलको विकास र विस्तार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

मन्त्री गुरुङले ठेलो हान्ने खेलका लागि आवश्यक नीतिनियम भूतपूर्व खेलाडी मञ्चकै अग्रसरतामा बनाउनुपर्नेमा जोड दिए। मन्त्री गुरुङले विश्वमा हरेक खेलको सुरुआत भएको इतिहास छ त्यहीअनुसार ठेलोलाई नेपालबाट स्थापित गर्दै अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताए। ‘नेपालबाट विकास भएको खेल ठेलो हो भन्ने बनाउन जरुरी छ,’ उनको भनाइ थियो। ठेलो हान्ने खेलको नियम छैन। नियम बनाउन जरुरी रहेको भन्दै कति टाढाबाट हान्न पाउने भन्ने विषय र त्यसको व्यवस्थापनको लागि नियम नै बनाउनुपर्ने मन्त्री गुरुङको भनाइ थियो।

‘नियमको लागि मस्यौदा तयार गर्नुपर्छ। भूतपूर्व खेलाडी मञ्चले पनि प्रतियोगिता सञ्चालन गर्ने उद्देश्य लिएको छ,’ मन्त्री गुरुङले भने,‘त्यसको आवश्यक नियम बनाई नेपाली मौलिक खेलको रूपमा परिचित ठेलोलाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फ मञ्चले तदारुकता देखाउनुपर्छ।’

वार्षिक साधारण सभामै भूतपूर्व खेलाडी मञ्च नेपालले पनि परम्परागत ठेलो खेल सञ्चालन गर्ने जनाएको छ। मञ्चले बर्सेनि आयोजना गर्दै आएको पोखरा म्याराथनसँगै अब ठेलोलाई पनि आफ्नो प्रतियोगिता आयोजना गर्ने खेलको सूचीमा राखेको छ। ‘परम्परागत ठेलो खेल सञ्चालन गर्नेछौं।’ भूतपूर्व खेलाडी मञ्च नेपालका महासचिव खेमबहादुर गुरुङले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको कार्ययोजना सुनाउँदै भने, ‘हराउँदै गएका खेलहरूको प्रवद्र्धनमा मञ्च जुट्दै जानेछ।’ परम्परागत ठेलो खेलको परिष्कृत रूप सटफुटलाई मान्न सकिन्छ।

वार्षिक साधारण सभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले खेलकुद क्षेत्रलाई राज्यले खासै प्रभावकारी रूपमा केही दिन नसकेको गुनासो गरे। उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमै आयोजना गरिने भन्दै प्रदेश सरकारले खेलकुदलाई अझ नजिकबाट बुझ्नुपर्ने सुझाव दिए। भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार अशोक पालिखेले मञ्चको काम केवल सफल पोखरा म्याराथन मात्रै नगरी अन्य सुस्ताउँदै गएका खेलहरूलाई प्रवद्र्धन गर्ने भूमिकासमेत खेल्नुपर्ने बताए।

‘तालको सहरमा स्विमिङका खेलाडी नै छैनन्,’ उनले भने,‘एथलेटिक्सका खेल पनि सुस्ताउँदै गएका छन्। त्यसतर्फ भूतपूर्व खेलाडी मञ्चले चासो दिनुपर्छ।’ साधारण सभामै नेपालकै दोस्रो रंगशाला निर्माणमा अतुलनीय भूमिका खेलेका पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्रमुख जर्ज जोनलाई सम्मानित गरिएको थियो। २०१७ सालमा स्थापित पृथ्वीनारायण क्याम्पस हाताभित्र निर्माण गरिएको अन्नपूर्ण रंगशाला नेपालकै दोस्रो रंगशाला हो।

अन्नपूर्ण रंगशाला क्याम्पस प्रमुख जोनकै सक्रियतामा निर्माण गरिएको हो। खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मञ्चले जर्ज जोनलाई सम्मान गरेको हो। सम्मानपछि क्याम्पसका संस्थापक जर्ज जोनले आफू जीवनमा खेलाडी नभएको उल्लेख गर्दै तर अधिकांश पोखराका खेलका हस्तीलाई खेलाएको स्मरण गरे।

‘मैले खेलकुदमा भाग लिइनँ तर कार्यक्रममा देखिएकाहरूलाई भने खेलाएँ।’ उनको भनाइ थियो। मञ्चमा १ सय ८१ जना सदस्य आबद्ध छन्। शनिबार केही आजीवन सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। मञ्चले १३औं सफल पोखरा म्याराथन आयोजनाबाट १९ लाख ६० हजार रुपैयाँ बचत गरेको आयव्ययसमेत देखाइएको थियो। ‘ठेलो र धनुषबाण हान्ने परम्परागत खेलको विकास र विस्तार गर्दै अन्तर्राष्ट्रियकरण गर्नुपर्छ।’

प्रकाशित: २९ वैशाख २०७६ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App