१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सवा करोड ठगेको आरोपमा होटलबाटै भारतीय पक्राउ

काठमाडौं - नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय प्रवद्र्धन गर्न आएका १२ भारतीय नागरिक एक करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको याक एन्ड यती होटलको रिगल हल बुक गरेर तीन दिनदेखि भारतको साइन ग्रुप नामक नेटवर्किङ प्रदायक संस्थाले आयोजना गरेको तालिमस्थलबाट उनहिरू पक्राउ परेका हुन्। पक्राउ पर्ने भारतीय नागरिकबाट नेपाली ठगिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडांैमा उजुरीसमेत परेको छ। शनिबारकै दिन भए पनि उनीहरूको उजुरी दर्ता गरी पक्राउ परेको व्यक्तिहरूसँग सोधपुछ गरिरहेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

परिसर काठमाडौंले शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागमा प्रतिनिधिलाई समेत राखेर सो ग्रुपका व्यक्तिहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतीय नागरिकहरू रसिद नसिम, महेन्द्र सिंह, गिरिश उपाध्यायसहित १२ जना रहेको परिसर प्रमुख सुवेदीले बताए। उनीहरूलाई पक्राउ गरेको सार्वजनिक भएसँगै ६ जना आफूहरू ठगिएको भन्दै परिसरमा जाहेरी दिन पुगेका थिए। ‘ठगिएको भन्दै उजुरीसमेत आएको छ। बैंकिङ कसुर पनि गरेको देखिन्छ। नेपालमा कारोबार गर्न प्रतिबन्ध रहेको नेटवर्किङ प्रवद्र्धन गर्न पाइँदैन र कुनै पनि संस्थाले कारोबार गर्न नेपालमा दर्ता हुनुपर्छ,’ परिसर प्रमुख सुवेदीले भने, ‘दुबईमा मुख्य कार्यालय रहेको कम्पनीले नेपालमा नेपालीहरूलाई राखेर तालिम दिनु र त्यसतर्फ अरूलाई आकर्षणमा पार्न खोज्नु सरासर गलत हो।’

ठगिएका उठाइदिनुप¥यो भन्दै सो कम्पनीविरुद्ध उजुरी आएको विषयलाई पनि आफूहरूले ध्यानमा राखेको उनको भनाइ छ। ‘दरबारमार्गस्थित होटल याक एन्ड यतीमा नेटवर्किङ व्यवसायबारे छलफल चलाइरहेका रहेछन्। उनीहरूलाई काठमाडौं परिसर, नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। थप अनुसन्धान गरिरहेका छौं,’ सुवेदीले भने।

नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो। त्यसक्रममा पक्राउ परेका अभियुक्तबारे प्रहरी परिसरमा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए। डिएसपी बोगटीका अनुसार केही भारतीय नागरिक र नेपालीलाई सँगै राखेर अभिमुखीकरण तालिम दिइँदै आइएको थिए। सो तालिममा दोस्रो दिनदेखि परिसर काठमाडांैका प्रहरी पनि सहभागी भए। तेस्रो दिन अर्थात् शुक्रबार राति परिसरका डिएसपी बोगटीसमेत नेटवर्किङ व्यवसायीमा चासो देखाउँदै सहभागी भएका थिए। कार्यक्रमको अन्तिम समयमा आएपछि बोगटीले परिसरसँग समन्वय गरिरहेका थिए। त्यहीबेला भारतीय नागरिकहरू डिएसपी बोगटीको फन्दामा परेका हुन्।

शुक्रबार राति उनीहरूलाई दरबारमार्ग वृत्तमा राखेर शनिबार मात्रै काठमाडौं परिसर टेकुमा लगिएको थियो। डिएसपी बोगटीका अनुसार उनीहरूले एक हजार दुई सय ५० रुपैयाँमा सदस्य बन्ने र सदस्य बनेको रकम बराबर कम्पनीले थपिदिने बताएका थिए। त्यसैगरी अभिमुखीकरण तालिम दिनेक्रममा सो कम्पनीले घरजग्गाको कारोबार, सुन र हीराको कारोबार तथा विदेशी मुद्राको कारोबार गर्ने बताएका थिए। तीमध्ये विदेशी मुद्राको कारोबार भने नेपालमा गर्न पाइँदैन। राष्ट्रबैंकको अनुमति लिएर तोकिएका बैंक तथा वित्तीय संस्थाले मात्रै विदेशी मुद्राको कारोबार गर्न पाउँछन्। ‘उनीहरूले नेपालमा नेटवर्किङ व्यवसायको ठूला बजार रहेको ठानेर अभिमुखीकरण तालिम दिएका हुन्। हामीले त्यहाँ सुन्यौं कि सहभागीमध्ये केहीले चार सयजनासम्म सदस्य बनाउन सक्ने बताउँदै थिए,’ डिएसपी बोगटीले भने। उनका अनुसार तीन सयदेखि चार सयसम्म सदस्य बनाउने एजेन्टलाई छुट्टै राखेर कमिसन दिने कुरा गरेका थिए। ‘केही समय हेरिरह्यौं। उनीहरू छिट्टै पैसा कमाउने सरल उपाय भन्दै सहभागीलाई प्रलोभनमा पारिरहेका थिए,’ उनले भने। ठगीको समेत उजुरी आएको हुनाले उनीहरूविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाउन सकिने प्रहरीको भनाइ छ।

डिएसपी बोगटीका अनुसार उनीहरूले नेपाल बस्दा ह्यात होटलमा एक रातकै दुई लाख रुपैयाँसम्म तिरेका थिए। ‘उनीहरूले यति धेरै खर्च गरेर बारम्बार नेपाल आएको देखिन्छ,’ उनले भने, ‘नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग तथा कानुनले समेत वर्जित गरेको व्यवसायलाई नेपालमा बारम्बार प्रवद्र्धन गर्न किन आउँछन् ? यो गम्भीर प्रश्न हो।’ सदस्य संख्या बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी वस्तु तथा सेवा बिक्री गर्ने भन्दै ठगी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको हो। युनिटी लाइफ इन्टरनेसनल, हर्बो इन्टरनेसनल, गोलक्वेस्ट, क्रिस्टल भिजन लिमिटेडलगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी नेपालीलाई ठगी गरेपछि सरकारले तिनहिरूलाई प्रतिबन्ध लगाएको थियो। युनिटी लाइफ र हर्बो इन्टरनेसनलका सञ्चालकलाई पक्राउ गरी कारबाहीसमेत गरिसकिएको छ। युनिटी लाइफ कम्पनी प्रतिबन्धमा परेसँगै नेपालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लागेको हो।

प्रकाशित: २९ वैशाख २०७६ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App