१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हतियारधारी नयाँ समूह पक्राउ

काठमाडौं- राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उद्घोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। हातहतियारसहित मंगोल मूलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता पक्राउ परेपछि पार्टीका नाममा देशभर हुन सक्ने आतंककारी गतिविधि रोकिएको प्रहरीले दाबी गरेको छ।

महानगरीय आयुक्तको कार्यालय र विशेष ब्युरोले बुधबारदेखि सञ्चालन गरेको अप्रेसनमा काठमाडौं उपत्यका र बाहिरबाट आधा दर्जनभन्दा बढी व्यक्ति, हतियार, गोला–बारुद र दस्तावेज बरामद भएको छ। विशेष ब्युरोका अधिकारी पूर्वी पहाडी जिल्लामा अप्रेसन सकेर फर्किएका छन्। प्रहरीले अप्रेसन पूरा भए पनि केही काम बाँकी रहेको जनाउँदै पार्टी र घटनाबारे थप जानकारी दिएको छैन।

महानगरीय आयुक्त एआइजी प्रतापसिंह थापाले हातहतियार र गोला–बारुदसहित केही व्यक्ति नियन्त्रणमा लिएको जानकारी मात्र आफूसँग रहेको बताए। 'केही व्यक्ति प्रहरी नियन्त्रणमा छन्, हातहतियार बरामद भएको छ, बाँकी विवरण भोलिसम्म आउँला,' एआइजी थापाले भने।

आयुक्त कार्यालयका अनुसार आफूलाई मंगोल मूलवासी राष्ट्रिय फोर्स पार्टीको सदस्य बताउने पाँचथर पञ्चमी– ३ घर भएका सचिन्द्र पालुङ्वा पक्राउ परेका छन्।  बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १६ लोकन्थली सुकुम्बासी टोलबाट उनलाई हातहतियार र गोला–बारुदसहित पक्राउ गरेपछि ब्युरो टोलीले थप अनुसन्धान थालेको हो।

प्रहरीले पालुङ्वाका साथबाट कटुवा पेस्तोल २ थान, गन्धक ७ लोला, खुकुरी १ थान, चक्कु १ थान, झन्डा २ थान र तार बरामद गरेको छ। घटना भक्तपुरको भएकाले ब्युरोले भक्तपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थाले पनि पालुङ्वालाई आफ्नै नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App