१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राजधानीमा धुँवाधुलोको राज

काठमाडौं- राजधानीमा बढ्दो धुलोधुँवासँगै विभिन्न एलर्जीजन्य रोगहरू बढेको चिकित्सकले जनाएका छन्। वीर अस्पताल मेडिकल विभागका अनुसार उपचारमा आएकामध्ये ४० प्रतिशत धुलोका बिरामी छन्। विभागमा दैनिक एक सय ५० देखि २ सयसम्म बिरामी आउँछन्।

'आँखा,  चिलायो, घाँटी चिलायो,  छालामा समस्या देखियो,  पिनास बढ्यो,  दिक्क लाग्छ, घाँटी चिलायो भन्दै बिरामी आउँछन्,' वीर अस्पतालका फिजिसियन डा. धु्रव गैरेले भने। उनको अनुभवमा मनसुन रोकिएसँगै यस्ता बिरामी बढेको हो।

बढ्दो धुलोका कारण घाँटी खसखस हुने, खोकी लाग्ने, कान चिलाउने, नाकबाट पानी बगिरहने, पिनास हुने छालामा विभिन्न समस्या देखिने गरेको अस्पतालले जनाएका छन्।

'थोरै चिसो र धुलो मिलेपछि यस्तो समस्या देखिएको हो,' उनले भने।

उपचारका लागि आउनेमध्ये झन्डै ६० प्रतिशत धुलोका कारण भएका बिरामी रहेको टिचिङ अस्पताल महाराजगन्ज मेडिकल विभागले जनाएको छ। सातामा दुई दिन सेवा चल्ने यो विभागमा एकपटक एक सय ५० जति बिरामी उपचारका लागि आउँछन्।

त्यस्तै, सिभिल अस्पतालको मेडिकल विभागमा उपचारका लागि आउने एक सय ५० बिरामीमध्ये १० प्रतिशत धुलोजन्य एलर्जीकै छन्।

धुलोका कारण बूढाबूढीमा दम र युवायुुवतीमा नाक, कान, घाँटीको समस्या बढेको टिचिङ अस्पतालका फिजिसियन डा. निरज बमले बताए। बाहिरबाट उपत्यका आइपुग्नेहरू छिटो धुलोबाट प्रभावित हुने गरेको अनुभव डा. बमको छ। 'विदेश गएका नेपाली काठमाडौं आउनेबित्तिकै बिरामी परेको पनि पाइएको छ,' उनले भने।

डा. बमका अनुसार धुलो नाक, श्वासनली, फोक्सोमा टाँसिएपछि संक्रमण भई एलर्जी हुन्छ। उनको अनुभवमा तीन वर्षयता यस्ता बिरामीको संख्या बढेको छ। डा. बम भन्छन्, 'पहिले उपचार गर्न आउनेमध्ये ३० प्रतिशत धुलोका कारण हुने बिरामी हुन्थे। अहिले यो संख्या कम्तीमा ६० प्रतिशत पुगेको छ।'

राजधानीमा सडक विस्तार अभियानसँगै यो समस्या बढको वीरका डा. गैरेको अनुभव छ। 'भरपर्दो माक्स लगाएर हिँडेमा यस्ता रोगबाट केही मात्रामा जोगिन सकिन्छ तर घरभित्रै पुग्ने धुलोबाट जोगिनु चुनौती छ,' गैरेले भने।

राजधानीमा सडक विस्तार, भवन निर्माणसँगै धुँवा–धुलो बढेको वातावरणविद् डा. तोरण शर्माले बताउँछन्। 'इँटाभट्टा, पुराना मोटरसाइकल र सवारीसाधन राजधानीमा प्रदूषण बढाउने कारण हुन्,' डा. शर्मा भन्छन्, 'विविध कारण निस्केको धँुवा–धुलोले निकास नपाउँदा राजधानीमा यसको मात्रा बढेको छ। राजधानीको भौगोलिक अवस्था वा आकार कचौराजस्तो छ। त्यसैले धँुवा–धुलो राजधानीभित्रै घुम्छ।'

यो धुँवा–धुलो बादलमा मिसिँदा मध्य हिउँदमा राजधानी नजिकका डाँडा समेत छेकिने डा. शर्मा बताउँछन्। 'जाडोमा हावाको गति कम हुने भएकाले धुलो डाँडामाथि जान सक्दैन,' उनले भने। यो धुलो फागुनसम्म कायम रहने शर्मा बताउँछन्।

सरकारले विकास निर्माण कार्य गर्दा वातावरणीय प्रभाव मूल्यांकन नगर्नु, पुराना सवारीसाधनको अनुगमन नगर्नु, भित्री सडक पिच नहुनु, विकास निर्माण समयमा नहुनु आदि कारण राजधानीमा धुलो मौलाएको शर्मा बताउँछन्।

'धँुवा–धुलो बढ्ने स्रोतलाई रोकिएन, धुँवा–धुलोको नियन्त्रण गरिएन भने निकट भविष्यमै राजधानीवासीको स्वास्थ्यमा गम्भीर असर पुग्छ,' डा. शर्मा भन्छन्, 'धुलोजन्य एलर्जी दोहोरिएपछि युवावस्थामै श्वासप्रश्वासका रोगी बनेर निष्त्रि्कय जनशक्ति बढ्छन्।'

यसको असर श्रम र उत्पादनमा समेत परेर आर्थिक घाटा पर्ने उनको तर्क छ। 'उमेरमै रोगी बनेपछि काम गर्न सक्ने कुरा आउँदैन, परनिर्भर जनशक्ति बढ्दै जान्छ,' उनले भने।

सरकारले निर्माण कार्य समयमै गर्ने, यसमा नियम बनाउने र अनुगमन गर्ने, जनताले माक्स लगाएर हिँड्ने, राज्यले नै नीति बनाएर सरसफाइमा ठोस कार्य हुने हो भने धुलो नियन्त्रण गर्न सकिने डा. शर्माको सुझाव छ।

प्रकाशित: ८ कार्तिक २०७३ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App