१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

हाई अल्टिच्युडले पदयात्रीको ज्यान गयो

पोखरा– हिमाली जिल्ला मुस्ताङको सारेबुङ हिमाल (६३४६ मि) आरोहण र त्यस भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्रीको हाई अल्टिच्युडका कारण ज्यान गएको छ। टोलीमा रहेका अरू दुईजना नेपाली गाइड पनि बिरामी परेका छन्।

मुस्तााङका डिएसपी तुलबहादुर कार्कीका अनुसार इटालियन नागरिक मार्काे रोकुफ्रान्कुफ्को मोरिलियो (६८) को हाई अल्टिच्युड लागेर ज्यान गएको हो। विभिन्न मुलुकका ६ जना विदेशी आरोही र उनीहरूका २५ जना नेपाली सहयोगीको साथमा हिमाल आरोहण र पदयात्राका लागि गएका थिए। कार्कीका अनुसार मार्काे पदयात्रामा थिए। उनीसँगका दुईजना विदेशी नागरिक आरोहणका लागि गएका थिए। अरू चारजना पदयात्राका लागि मात्र गएका थिए।

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङको करिब ५८ सय मिटर उचाइमा बिरामी परेका मार्काेको खराब मौसमले हेलिकोप्टर पुग्न नपाउँदा बेलैमा उद्धार नपाएर ज्यान गएको कार्कीले बताए। यो टिममा इटालियन र अमेरिकाका एक–एकजना तथा बेलायतका चारजना विदेशी थिए। तीबाहेक २५ जना नेपाली सहयोगी थिए। बिहीबार बिहान बिरामी परेका मार्कोको उद्धारका लागि हेलिकोप्टर पठाइएको थियो। तर, तीव्र गतिको हावाले हेलिकोप्टर जान नसक्दा उद्धार हुन सकेको थिएन।

बिहीबार जोमसोममा रोकिएको होलिकोप्टर शुक्रबार बिहान घटनास्थल पुगे पनि उनको ज्यान गएको कार्कीले जानकारी दिए। खराब मौसमले बिहीबार जोमसोममा रोकिएको हेलिकोप्टर शुक्रबार बिहान पौने ८ बजे नै घटनास्थल पुगेको थियो। ‘बिहीबार हेलिकोप्टर जान सकेन, त्यसले उद्धारमा ढिलाइ भयो,’ कार्कीले भने। उनका अनुसार नेपाली गाइडहरू सोलुखुम्बुका सुकबहादुर राई सोलुखुम्बु र रसुवाका खुर्वा तामाङ पनि बिरामी भएका छन्। शुक्रबार पुगेको हेलिकोप्टरले मार्काे र बिरामी नेपालीको उद्धार गरेको उनले बताए। बिरामी भएका नेपाली सहयोगीलाई उपचारका लागि राजधानी लगिएको छ।

ती विदेशीहरू नेपाल सेन्चुरी ट्रेकबाट गएका थिए। नेपाल सेन्चुरी ट्रेक्सका प्रबन्ध निर्देशक तुलसी ज्ञवालीका अनुसार काठमाडौंबाट बेसीसहर–मनाङ हुँदै यो टोली मनाङको नार पुगेको थियो। नारबाट सारेबुङ पार गरेर मुस्ताङको माथिल्लो भेग लोमान्थाङ निस्क्ने गरी टोली गएको थियो। त्यही क्रममा करिब ५८ सय मिटर उचाइमा पुग्दा मार्काे बिरामी परेको ज्ञवालीले जानकारी दिए।

‘टोलीमा रहेका ६ जना विदेशीमध्ये दुईजना सारेबुङ आरोहण गर्ने र फर्केर तल आएपछि सबैजना मिसिएर लोमान्थाङ निस्कने गरी हिँडेका थिए,’ ज्ञवालीले भने, ‘तर, मार्काे हाई अल्टिच्युड लागेर बिरामी परेका थिए।’ मार्काे भने पदयात्राका लागि मात्र गएको उनले बताए। ‘बिहीबार बिहान ९ः४० मा मार्काे बिरामी परेको हामीले थाहा पाएका हौं। तर, खराब मौसमले हेलिकोप्टर समयमा जान सकेन, अनि ज्यानै जाने अवस्था आयो,’ ज्ञवालीले भने, ‘बिहीबार नै हेलिकोप्टर पठाउन पाएको भए मार्काे बाँच्न पनि सक्थे।’

आरोही र पदयात्राको टोली सारेबुङको आधारशिविरसम्म सँगसँगै जाने र दुईजना आरोहणमा जाने तर अरू आधारशिविरमै बस्ने योजनाअनुसार टिम गएको ज्ञवालीले बताए। ‘सँगसँगै गएको टोली बाँडिने योजना थियो,’ उनले भने, ‘तर, एकजना विदेशी पदयात्रीले ज्यानै गुमाउनुप-यो।’

प्रकाशित: २८ वैशाख २०७६ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App