१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गण्डकी प्रदेश जोगाउँदै, बेनी नगरपालिका मास्दै

बेनी नगरपालिका–७ मा कटान गरिएको करिब सय वर्ष पुरानो पिपलको बोट। तस्बिरः हरिकृष्ण/नागरिक

म्याग्दी–गण्डकी प्रदेश सरकार वर–पिपल संरक्षणको अभियानमा छ। प्रदेश सरकार वर–पिपल जोगाउने अभियानमा लागिरहेका बेला म्याग्दीको एक स्थानीय तहले भने बेनीबजारमा रहेको करिब सय वर्ष पुरानो पिपल काटेर व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने प्रयास गरेको छ।

स्थानीयवासी, वातावरणको क्षेत्रमा सक्रिय संघसंस्था, नागरिक समाज, ज्येष्ठ नागरिकको विरोधका बाबजुद बेनी नगरपालिका–७ को बेनी सामुदायिक मावि छेउमा रहेको पिपलको पुरानो रूख काटेर सो स्थानमा नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि सटर बनाउने प्रयास गरेको हो।

बेनी बजारमा बस्ती विस्तारसँगै १९९७ सालमा भट्टचन थर गरेका एकजनाले सदरमुकाम बेनी हुँदै पश्चिम म्याग्दीलगायत क्षेत्रमा आवतजावत गर्ने बटुवालाई लक्षित गरी रोपेको पिपलको रूख रातारात काटिएपछि स्थानीयले चर्को विरोध गरेका छन्। भएसँगै अहिले अलपत्र अवस्थामा रहेको छ।

पिपललाई हिन्दूहरूले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने गर्दछन्। वातावरणीय र धार्मिक महत्त्व रहेको रूख काटिएको बारेमा नगर प्रमुख हरिकुमार श्रेष्ठले आफूलाई केही थाहा नभएको बताए। ‘कार्यपालिकाको बैठकमा रूख कटानका बारेमा कुनै छलफल भएको छैन्, धेरै प्रक्रिया पूरा नगरी कटान गरेको रूखको जिम्मा लिन सकिँदैन,’ मेयर श्रेष्ठले भने। उनले नगरपालिकाभित्र रहेका पिपलको बोटलाई संरक्षण तथा चौताराको मर्मतमा समेत प्राथमिकता दिने बताए।

रूख काटिएको स्थान बेनी नगरपालिका–७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने रूखका कारण बेनी दरबाङ, बेनी–बागलुङ तथा बेनी हुँदै अर्थुङे क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनलाई असहज भएका कारण काटिएकाले खाली ठाउँमा नगरपालिकाकै अनुरोधमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने बताए। ‘पिपलको रूखले विद्यालयलाई पनि असर गरेको थियो, आसपासमा चौतारीहरू भएकाले पनि त्यसलाई सडक फराकिलो गर्न कटान गरिएको हो,’ श्रेष्ठले भने।

नगरपालिकाले बेनी बजारभित्र व्यावसायिक प्रयोजनकाका लागि प्रयोग गर्न मिल्ने जमिनको खोजी गर्ने निर्णय गरेपछि वडा कार्यालयबाट उक्त स्थानलाई समेत प्रस्ताव गरेको स्रोतले जनाएको छ।

पछिल्लो कार्यपालिका बैठकमा वडा नम्बर ७ र ८ मा व्यावसायिक प्रयोजनका लागि भाडामा दिने स्थानको खोजी भएपछि पिपलको बोट नजिक केही व्यापारीले आफ्नो इच्छा व्यक्तसमेत गरेको बुझिएको छ।

सस्तो भाडामा दैनिक मनग्य कमाइ हुने भएकाले पनि त्यस क्षेत्रमा व्यापारका लागि होडबाजी नै चल्ने गरेको छ। व्यस्त सडक नजिक प्रयोगविहीन भए पनि व्यावसायिक प्रयोजनका लागि पिपलको रूख कटान गरेपछि सामाजिक सञ्जालमा समेत बेनी नगरपालिकाको चौतर्फी विरोध भएको छ।

‘पिपलको रूख मास्नु वातावरणलाई नै प्रहार गर्नु हो, रूखको महŒवका बारेमा जनप्रतिनिधिलाई जानकारी छैन होला,’ म्याग्दी जेसिजका निवर्तमान अध्यक्ष कमल विश्वकर्माले भने। उनले पिपलको रूखलाई नष्ट गर्नु धार्मिक तथा वातावरणीय हिसाबले पनि ठूलै प्रहार भएको बताए।

हिन्दू धर्मालम्बीले पिपललाई विशेष रूपले पूजाआजा गर्ने तथा वातावरण संरक्षण, हुने भए पनि संरक्षण गर्नुभन्दा पनि व्यावसायिक प्रयोजनका लागि नष्ट गर्नु गलत भएको मुस्लिम अगुवा रहमत खानले बताए। ‘एक्कासि काट्न थालेपछि मात्र देखियो, ‘यसको हाँगा मात्र काटेर संरक्षण गर्नुपर्ने थियो,’ उनले भने।

यसैबीच वडा नम्बर ७ मै रहेका अन्य पिपलका रूखसमेत संरक्षण हुन सकेको छैनन्। मंगलाघाटमा समेत रूख कटान गरिएको छ। बेनी बजारभित्रका अन्य पिपलको रूखलाई समेत कटान गरी सडक विस्तार तथा अन्य व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने प्रयास गरिएपछि स्थानीयले जनप्रतिनिधिको प्रयासलाई अवरोध गर्ने गरेका छन्।

धार्मिक तथा वातावरणको दृष्टिकोणले महत्त्व मानिने पिपलको बोट संरक्षण वा समान्य कटानका लागि स्थानीयको अनुरोधमा वडा कार्यालयले निर्णय, वडाको निर्णय नगरकार्यपालिकाको बैठकमा प्रस्तुत, जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको विपद् व्यवस्थापन समितिको बैठक, डिभिजन वन कार्यालयको प्राविधिक सहयोग, कटानअघि न्यूनतम मूल्यांकन गर्नुपर्छ।

प्रकाशित: २८ वैशाख २०७६ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App