१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कानुन सिकाउँदै स्थानीय सरकार

तेह्रथुम–स्थानीय सरकार गठन भए पनि नगरपालिकाभित्रका अधिकांश महिलाले पुरुषहरूबाट मादक पदार्थ सेवन र जुवातासका कारण पीडा भोग्न बाध्य भएको गुनासो गरेका छन्। पुरुषहरूले दैनिकजसो मादक पदार्थ सेवन(मापसे) र जुवातास खेल्दा आफूले दुःख गरेर घरको गर्जो टार्न कमाएको पैसा सकिने गरेकाले परिवारमा आर्थिक, शारीरिक तथा मानसिक रुपमा तनावले बाँच्नु परेको म्याङलुङ–३ नागदहकी महिला चित्रकला मगर रसाइलीले दुखेसो पोखिन्।

म्याङलुङ नगरपालिकाद्वारा सञ्चालित नगरवासीका लागि गाउँस्तरीय कानुनी साक्षरता कार्यक्रम र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतको महिला तथा बालबालिकाविरुद्घ हुने अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी महिलाले कार्यक्रम प्रभावकारी भएको र आफूले कानुनी कुरा बुझेको तर आफ्नो पीडा व्यक्त गर्न नसकिरहेको बताएका हुन्। महिलाले आफ्नो टोलमा भइरहेको अत्यधिक मादक पदार्थ सेवन र जुवातासलाई नियन्त्रण गर्न स्थानीय तह र प्रहरी प्रशासनलाई अनुरोधसमेत गरेका छन्।

कार्यक्रममा सहभागी महिलाको गुनासो सुन्दै म्याङलुङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक पार्वती सानु डाँगीले जिल्ला प्रहरी कार्यलयसँग समन्वय गरी यस टोलको समस्यालाई नियन्त्रण गर्न प्रहरी गस्तीको प्रबन्ध मिलाउने प्रतिबद्घता व्यक्त गरेका छन्। म्याङलुङ नगरपालिकाले विभिन्न वडाका टोलबस्तीमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। प्रत्येक वडा कार्यलयमा आयोजित कार्यक्रममा मुलुकी अपराध संहिता  २०७४ सम्बन्धी प्रावधान, मुलुकी देवानी संहिता २०७४, मुलुकी देवानी कार्यविधि २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत न्यायिक समितिको काम कर्तव्य र अधिकारका साथै न्यायिक समितिले हेर्ने विवादहरू, घटना दर्ता र नागरिकतासम्बन्धी कानुनी व्यवस्थालगायतका विषयवस्तुमा सहभागीलाई जानकारी गराइएको छ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुमद्वारा लागुऔषध तथा मदिरा नियत्रन्णसम्बन्धी सचेतीकरण गराइएको छ। कार्यक्रममा लागुऔषधको परिचय, लागुऔषध नियन्त्रण ऐन, मदिराको प्रयोग र उत्पादनसम्बन्धी सजाय र जरिवानाका बारेमा जानकारी गराइनुका साथै घरेलु हिंसासम्बन्धी भिडियो दृश्यसमेत प्रदर्शन गरिने गरेको छ। समुदाय प्रहरी साझेदारीअन्तर्गतको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतले सहजीकरण गरेका छन्।

सचेतनात्मक कार्यक्रममा  बोल्दै म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले कानुनको सबै नागरिकले पालना गरे सभ्य समुदाय निर्माण हुने बताएका छन्। उनले न्यायिक समितिको कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई कानुनसम्बन्धीका कुरा बुझ्न सहज हुने धारणा राखेका छन्। कार्यक्रममा सहभागी नागरिकले कानुनका कुरा सहजै सिक्न पाएको भन्दै सिकेको कुरा व्यवहारमा उपयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २८ वैशाख २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App