१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

विस्मृत वाचाहरू

मेरी आमाको स्वास्थ्य संवेदनशील थियो। उहाँलाई केही पटक हृदयघात भइसकेको थियो। स्तन क्यान्सरको शल्यक्रिया पनि भइसकेको थियो। मेरी आमा सक्रिय राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँ सामाजिक जीवनमा पनि त्यत्तिकै व्रिmयाशील हुनु हुन्थ्यो। मेरा पिताजी पनि सरकारको उच्च प्रशासनिक पदहरूमा रही देशका प्रभावशाली तथा शक्तिशाली नेताहरूको सामीप्यमा रही सेवा गर्नुभयो।

मेरा मातापिताको राजनीतिक सम्बन्धले गर्दा काठमाडौंमा हाम्रो घर मन्त्रीहरू, राजनीतिज्ञहरू, व्यापारी, कलाकार र लेखकहरूको जमघटस्थलमा परिणत भएको थियो। आज पनि मेरा मातापितालाई त्यसबेला भेटेका व्यक्तिहरू सार्वजनिक कार्यक्रममा भेटिन्छन् र ती दिनका कुरा सम्झिन्छन्। विशेषतः मेरी आमाले बनाएका खानाको बारेमा।  

मैले सन्यास लिएको केही वर्ष उहाँलाई यो कुरा मन परेको थिएन। तर, समय बित्दै जाँदा उहाँले सन्यास लिनु भयो। मेरा पिताभन्दा पनि स्त्रैण हृदयको सहज समर्पण क्षमताका कारण मेरी आमालाई आफ्नो छोराको गुरुलाई गुरु भन्न कठिन भएन।   मेरा मातापितालाई ओशोले विशेष ध्यान दिनु भयो। के कारणले हो, ओशोले उहाँहरूलाई गर्ने व्यवहार र मलाई गर्ने व्यवहार फरक थियो। ओशो मप्रति कठोररूपले प्रस्तुत हुनुहुन्थ्यो। मैले केन्द्र खोलेकामा मेरा मातापिता खुसी नभएको अवस्थामा नेपालमा मलाई काम गर्न सजिलो होस् भनी उहाँहरूप्रति विशेष उदारता देखाउनु भएको हो कि भन्ने लाग्छ। जे कारण भए पनि उहाँहरूले ओशोको विशेष कृपा पाउनुभयो।  

एक बेलुका दर्शनमा ओशोले उहाँहरूसँग खुलेर कुरा गर्नुभयो। नेपाली र भारतीयसँगको दर्शनमा भगवान् धेरै कुरा गर्नु हुँदैनथ्यो किनभने पूर्वीय संस्कृतिबाट आएका मानिसका पश्चिमबाट आएकाका तुलनामा समस्या सरल हुन्थे। छोटो वार्तालाप र आशीर्वाद नै पर्याप्त हुन्थ्यो। भगवान्ले ध्यान दिएर मेरा मातापिताका कुरा सुन्नु भयो। मेरी आमाले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता व्यक्त गर्दै शरीरको स्वास्थ्य ठीक नभएको, डाक्टरहरूले पनि धेरै नबाँच्ने भनेको गह्रौं हृदयले सुनाउनु भएछ।

भगवान्ले भेदनयुक्त आँखाले उहाँलाई भन्नु भएछ, ‘डाक्टरले भनेका कुरा सबै बिर्सिदेऊ भन सुमित्रा, तिमी कति बाँच्न चाहन्छ्यौं ?’ भगवान्को त्यो अप्रत्यासित प्रश्न सुनेर मेरी आमा अक्क न बक्क हुनु भएछ। केही बोल्नै सक्नु भएनछ।

भगवान्ले फेरि सोध्नु भएछ, ‘भन, कति वर्ष तिमीलाई बाँच्न मन छ ?’
फेरि पनि आमालाई अवाक् र शब्दहीन पाएर भगवान्ले भन्नुभएछ, ‘चिन्ता नगर, तिमी त्यति नै बाँच्छ्यौ, जति तिमीलाई बाँच्न मन लाग्छ। तिमीलाई मर्ने इच्छा भएपछि मात्र तिमीले देह त्याग्नेछ्यौ।’

दर्शन सिद्धियो र त्यो कुरा पनि हामीले बिर्सियौं। त्यो दर्शनको सात वर्ष बितिसक्यो। डाक्टरहरूले आमाको जीवनलाई दिएको समयसीमा कटिसकेको थियो। क्यान्सरको अपरेसन गरिसकेको र हृदय रोगका कारण उहाँको स्वास्थ्य गम्भीर भइसकेको थियो। तर, उहाँ आफ्नो इच्छाशक्तिले मात्र बाँचिरहनुभएको थियो। आमाको स्वास्थ्य बिग्रिएपछि उहाँलाई अस्पताल भर्ना गरियो। म मेरो अफिसको समय सकिएपछि उहाँलाई भेट्न जान्थें।

एक शनिबार म आशिषको सत्संगपछि उहाँलाई भेट्न जाने तयारीमा थिएँ। स्वास्थ्यमा राम्रो सुधार भएकाले त्यही शनिबार डाक्टरहरूले अस्पतालबाट उहाँलाई घर पठाउने कुरा  थियो। त्यही दिन अपराह्न सत्संगमा मभित्र एक्कासि अस्पताल गएर आमालाई भेट्ने इच्छा जाग्यो। सत्संगका लागि मानिस जम्मा भइसकेका थिए। मलाई अस्पताल जाने इच्छा एक्कासि उत्पन्न भएकोमा आश्चर्य लागेको थियो। तर, मनमा बेलुका भेट भइहाल्छ भन्ने कुरा पनि उब्जियो।  

मेरो भित्री भावलाई पछ्याउँदै ममित्र सन्यासी स्वामी रवि भारतीलाई साथ लिएर अस्पताल पुगें। आमाको अनुहार चम्केको थियो र चित्त प्रसन्न थियो। डाक्टरहरूले अब घर लान सक्नुहुन्छ भनेर हामीलाई भनिसकेका थिए।  

हामी आपसमा कुरा गर्दै सामान मिलाइरहेका थियौं। आमाले मलाई हेर्दै भन्नु भयो, ‘यो शरीर काम नलाग्ने भयो। यसबाट कुनै काम र ध्यान पनि हुँदैन। तिम्रो गुरुलाई भनेर मलाई यो शरीरबाट मुक्त गराइदेऊ। म अब बाँच्न चाहन्नँ।’ मैले हल्का तरिकाले जवाफ दिएँ, ‘शिष्य र गुरुबीच कुनै माध्यम छैन, यो एक व्यक्तिगत सम्बन्ध हो। त्यसैले भगवान् तपाईंको पनि गुरु हो। आपैmँ अनुरोध गर्नुस्,’ उहाँले भन्नुभयो, ‘तिमी ज्येष्ठ सन्यासी अनि उहाँकै काममा लागिरहने भएकाले तिमी उहाँसँग नजिक छौं। तिम्रो प्रार्थना मेरो भन्दा प्रभावशाली हुन्छ।’
मैले हाँस्दै जवाफ दिएँ, ‘उहाँका लागि हामी सबै बराबर हौं र म आपैmँ आफ्नै आमाको मृत्युका लागि कसरी प्रार्थना गरौं। मलाई त्यति निर्दयी नबनाउनुहोस्।’

हामी विनोदपूर्ण वातावरणमा कुरा गरिरहेका थियौं। मेरा पिताजी पनि हामीसँगै हाँस्दै हुनुहुन्थ्यो।   आमा बेडमा बस्नुभएको थियो। म छेउमा बसेको थिएँ। उहाँले एक्कासि हात जोड्नुभयो र भगवान्लाई प्रार्थना गर्न थाल्नुभयो, ‘हे भगवान् ! यो शरीर काम नलाग्ने भयो, यसको कुनै उपयोग छैन। म यो शरीरमा बस्न चाहन्नँ। म ध्यान पनि गर्न सक्दिनँ। कृपया, मलाई लैजानुस् र नयाँ शरीर दिनुस् !’

आश्चर्यजनक तरिकाले मेरा आँखाअगाडि यो कुरा भइरहेको थियो। आमा बेडमा पल्टिनुभयो, आँखा माथि घुमे र त्यहीं उहाँको प्राण गयो। यो सबै एकैछिनमा भयो। एक सेकेन्डअघिसम्म बोलेकी, हाँसेकी व्यक्ति एकैछिनमा हामीलाई छोडेर जानुभयो। शरीरमा नबस्ने उहाँको निर्णयले उहाँको प्राण लियो।  

शनिबारको दिन भएकाले आशिषमा सत्संगमा आएका सन्यासी एकैछिनमा अस्पताल आइपुगे। त्यो खबर सबैतिर फैलियो। सबै जना अन्तिम बिदाइका लागि आर्यघाटमा भेला भए। सबैले बिदाइ उत्सवका साथ उहाँको शरीरलाई अग्नि दियौं। ओशोले जीवन त उत्सव हो र यसको शिखर मृत्यु झन् महाउत्सव हो भन्नुभयो र हामी सधैं डराउने मृत्युलाई उत्सवले स्वागत गर्न सिकाउनुभयो।  

उहाँले भन्नुभयो, ‘जीवनको रहस्य जीवन स्वयम् होइन, मृत्यु हो। मृत्यु जीवनको परमोत्कर्ष हो, जीवनको पुर्णरूपले फव्रिmएको फूल हो। जीवन मृत्यु तर्फको तीर्थयात्रा हो।  जीवनको उत्पत्तिसँगै मृत्यु पनि साथमा आउँछ। जीवन र मृत्युबीच कुनै दूरी छैन। जीवनप्रति हाम्रो जुन दृष्टि हुन्छ, त्यसले नै मृत्युको अन्तिम स्थिति सिर्जना गर्छ। जीवन मृत्युका लागि छ, यो मृत्युबाट गुज्रिनकै लागि अस्तित्वमा आउँछ। बिनामृत्युको जीवन असम्भव छ। त्यसैले मृत्यु एक मित्र हो। यसले जीवनलाई सम्भव बनाउँछ।’

‘मेरो सन्यासीले मृत्युलाई पनि उत्सवले स्वागत गर्छ किनभने यो जीवनको उत्कर्ष हो। हामीले जीवनलाई प्रत्येक क्षण–क्षण त्यसको पूर्णतामा बाँचेका छौं, जीवनको पूर्ण रसास्वादन गरेका छौं भने यो क्षण एक चरम आनन्दको क्षणमा परिणत हुन्छ।’
पशुपतिनाथको आर्यघाटमा सुन्तला रङको पहिरनमा भेला भएका सयौं सन्यासीले नाचेर र गाएर आमालाई बिदा गरे। यो क्षण

काठमाडौंवासीका लागि उदेकलाग्दो घटना भएको थियो। पर्यटक पनि विस्मित भएर त्यो दृश्य हेरिरहेका थिए। पत्रिकाले पनि यो घटनालाई महत्वका साथ छापेका थिए। उहाँको पार्थिव शरीर फूलहरूले छोपिएको देखिरहँदा मलार्ई भगवान्ले मेरी मातालाई भनेको त्यो वाक्य एक्कासि याद आयो, ‘चिन्ता नगर, तिमी त्यति नै बाँच्छ्यौ, जति तिमीलाई बाँच्न मन लाग्छ। तिमीलाई मर्ने इच्छा भएपछि मात्र तिमीले देह त्याग्नेछ्यौ।’

भगवान्ले आफ्नो बाचा पूरा गर्नुभयो र शिष्या माँ सुमित्राले शान्तिले यो लोक त्यागिन्। जब कुनै सम्बुद्ध गुरुले कुनै शब्द बोल्छ, त्यो अस्तित्वले सही समयमा पूरा गर्छ। मेरो सारा जीवन यसको साक्षी छ। ओशोले मलाई भनेका कतिपय कुरा सुनेको समयमा असम्भव लागेका थिए। तर, बिस्तारै समयले ओशोका एकएक शब्द सत्यमा परिणत गरिदियो। मैले ओशोको सान्निध्यमा अनेक रहस्य र अनेक चमत्कार घटेको देखें।  
ओशोले भन्नुभएको छ, ‘यथार्थवादी बन। तर, चमत्कारको तयारी गर।’ ओशोसँग प्रत्येक दिन अप्रत्यासित र चमत्कारले परिपूर्ण हुन्थे। यो एक सुरुआतमात्र थियो। निकट भविष्यमा अझ अरू धेरै हुन बाँकी नै थियो। (स्वामी आनन्द अरूणको आज सार्वजनिक हुन लागेको ‘ओशो अचम्म जो मैले देखें’बाट)

 

प्रकाशित: २८ वैशाख २०७६ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App