१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

प्याङक साइकल पसल

तिरेक अंकलले इन्जनियरिङ गरेर पनि पुख्र्यौली व्यवसायलाई नै निरन्तरता दिनु भएको रहेछ। उहाँले मलाई साइकलमा चेन राख्ने, चक्का राख्ने र काठी मिलाउने जस्ता धेरै कुरा सिकाउनु भयो।
सुयोगमानसिंह बस्न्यात
      कक्षा –३,
नव अरुणिमा सेकेन्डरी स्कूल, आरुबारी,काठमाडौं।
फुर्सद् भयो कि म साइकलमा घुमिरहने मान्छे। कक्षा ३ को वार्षिक परीक्षा गत चैत १२ गते सकियो। त्यसपछि केही दिन मामा घरमा बसेर आएँ। तैपनि विद्यालय सुरु नभएकाले फुर्सदै फुर्सद। विद्यालय जानुपर्ने बेला निद्राले पनि हतपती छोड्दै थिएन र निकैबेर सुत्न मन लाग्थ्यो।  अहिले कतै जानु छैन, केही गर्नु छैन र जति सुते पनि हुने बेला निद्राले पनि बिहान छोड्ने। कस्तो अचम्म ! फेरि अघिपछि दिनरातभ टिभी हेरिरहूँ जस्तो, भिडियो गेम खेलिरहूँ जस्तो लाग्ने। अहिले त एकछिन टिभी हे-यो। भिडियो गेम खेल्यो अल्छी लागेर आउने। दिनै नकट्ने। त्यसैले एक दिन बाबालाई प्याङ्क  साइकल पसलमा घुम्न जाऊँ न भनें। बाबाले पनि ‘हुन्छ कुनै दिन जाउँला नि ’ भन्नु भयो।

चैत १७ गते का दिन बाबाले मलाई प्याङ्क साइकल पसल लैजानु भयो। प्याङ्क साइकल पसलले मलाई ‘राइड टु सिन्धुली –२०१८ (काठमाडांैदेखि जनकपुरसम्म) साइकल यात्राको क्रममा गत मंसिर २३ गते पशुपतिमा रातो रङको ट्रिङ्गस नामको इटालियन राम्रो खालको महँगो नयाँ साइकल दिएको थियो। हामी त्यहाँ पुग्दा तिरेक अंकल (प्याङ्क साइकल पसलका संचालक) व्यस्त हुनु हुँदोरहेछ। यो बिनायोजनाको भेट थियो।

हामीलाई देखेर उहाँ अचम्म पर्नु भयो। बाबासँग हात मिलाउँदै सन्चोविसन्चो सोध्नुभयो। अनि जनकपुर साइकल यात्राबारे मसँग धेरै कुरा गर्नु भयो। ‘साइकलले यात्रामा दुःख दियो कि?’ सोध्नु भयो। अहिलेसम्म मैले प्याङ्कले दिएको सहित ४ वटा साइकल फेरिसकें। अहिलेसम्म मैले चढेको साइकलमध्ये ट्रिङ्गस जत्तिको सजिलो र हलुको साइकल चढेको थिइन। यात्रा गर्दा ज्यादै सजिलो भएको कुरा बताएँ। त्यसपछि उहाँले मेरो साइकल सर्भिसिङ गर्न आफ्नो सहयोगीलाई भन्नु भयो।

तिरेक अंकलले बाबालाई एकछिन है भन्दै मलाई उहाँको साइकल पसल घुमाउन थाल्नु भयो। प्याङ्कको बारेमा तिमीलाई थाहा छ भनेर सोध्नु भयो। मैले थाहा छैन भनें। अनि उहाँले मेरो जिजुबुबा पञ्चनारायण मानन्धरको छोरा मेरो बाजे अष्टनारायण मानन्धरले झन्डै १०० वर्षअघि सन् १९२५ मा साइकल पसल खोल्नु भएको थियो। त्यसैले जिजुबुबा र हजुरबुबा दुवैको नाम मिलाएर पञ्चअष्टनारायणबाट छोटकरीमा प्याङ्क राखिएको हो भन्नु भयो।

प्याङ्क साइकल पसलले साना बच्चादेखि ठूला मान्छेले चढ्ने। खेल (रेस) देखि सामान्य अवस्थामा चढेर हिँड्ने। सस्तोदेखि महँगो विभिन्न नामको विभिन्न खालको साइकल विक्री गर्र्दो रहेछ। प्याङ्कले नयाँ साइकल बेच्नुका साथै पुरानो साइकल लिएर नयाँ साइकल दिने (सट्टा पट्टा) गर्दो रहेछ। साइकल बेच्ने मात्र नभएर साइकललाई आवश्यक पर्ने हरेक पार्टपुर्जा विक्री गर्नेदेखि साइकल चढ्दा लगाउने जर्सी, पछाडि भिर्ने व्याग, पञ्जा, रेनकोर्ट, हेलमेट, आदि साइकलसँग सम्बन्धित सबै कुरा विक्री गर्दो रहेछ। व्याट्रीबाट चल्ने विद्युतीय मोटर जोडिएको चिटिक्क साइकल देखाउनु भयो। उक्त साइकल जस्तोसुकै उकालोमा पनि सजिलै चढेर जान सकिन्छ भनेर देखाउनु भयो। जुन गोकर्णको साइकल यात्रामा पनि देखाउनु भएको थियो। प्याङ्क साइकल पसलले मभन्दा पहिला पनि अरू धेरै व्यक्तिहरूलाई साइकल दिइसकेको रहेछ।

तिरेक अंकलले इन्जनियरिङ गरेर पनि पुख्र्यौली व्यवसायलाई नै निरन्तरता दिनु भएको रहेछ। उहाँले मलाई साइकलमा चेन राख्ने, चक्का राख्ने र काठी मिलाउने जस्ता धेरै कुरा सिकाउनु भयो। उहाँको असन कमलाक्षीमा पनि साइकल पसल रहेछ। जुन सबैभन्दा सुरुको रहेछ। हामी त्यहाँबाट फर्किदा मेरो साइकलको सर्भिसिङ सिद्धिएर टिलिक्क टल्काएर राखिएको रहेछ। खाजा खाएर हामी बिदा हुन लाग्दा तिरेक अंकल मनिर आएर ‘साइकलमा केही समस्या भए कुनै पनि बेला आउँदा हुन्छ। तिम्रो लागि सबै कुरा निःशुल्क हो। पैसा लाग्दैन। राम्रोसँग पढ्नु।’  भन्दा म फुरुङ्ङ परें। त्यसपछि हामी छुिट्टयौं।

प्रकाशित: २८ वैशाख २०७६ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App