१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

रम्भादेवी दर्शन

नारायणप्रसाद आचार्य
पाल्पालीको आस्थाको प्रतिक मानिन्छन् रम्भादेवी र रिमिघाका  तीर्थस्थलहरू। बुटवलवाट उत्तर सिद्धार्थ राजमार्गको करिव ४८ किमि दूरीमा आर्यभञ्ज्याङ बजार छ। त्यहाँबाट रामपुर जाने छुट्टै पक्की सडक पूर्व लागेको छ। आर्यभञ्ज्याङ–रामपुर सडक खण्डको १५ किमिमा रहेको रम्भा गाउँपालिकाको प्रमुख बजार ताहूँ नजिकै करिव ३ किमि पूर्वोत्तर एउटा डाँडा (१२०० मिटर) छ। त्यही डाँडाको पश्चिम पाखोमा रम्भादेवी मन्दिर छ।

मन्दिर रहेको स्थानलाई ‘रम्भापानी’ भनिन्छ। मन्दिरमा शीलाको मूर्ती थियो। पछि पञ्चधातुद्वारा निर्मित ढलोटको मूर्ती पनि राखियो। पहिला खुला आकासमुनी पूजा गरिन्थ्यो।  उद्योगी हरिप्रसाद पाण्डेले मन्दिर वनाई दिनु भएपछि ती मूर्तीहरु मन्दिरभित्रै स्थापना गरियो।

मन्दिर परिसरवाट ५०० मिटर पर घोरपालछापको नाचनडाँडासम्म सडक पुगेको छ। रम्भापानी जंगलमा अनेकौँ बनस्पति, जडीबुटी र चराचुरुङ्गीको बास छ। मन्दिरदेखि केही माथि डाँडामा समतल जमिन छ। त्यस स्थानमा कुनै वेला पाल्पाली राजा रुद्रसेनले सेना  तैनाथ गरेका थिए। पुजारीले देवीको शीरमाथि पल्टन राख्दा अपसकुन हुन सक्ने भनेपछि हटाइएको थियो।  

रम्भादेवीको स्थापना र पूजाको शुरुवात सम्वन्धमा अनेकौँ जनश्रुती  पाइन्छ। पुजारी प्रेम पाण्डेका अनुसार ‘प्राचीनकालमा त्यस वनमा तपस्या गरी वसेका महर्षि परमहंशलाई एक रात सपनामा दीक्षा प्राप्त भयो जसअनुसार रम्भापानीको मूल उत्पत्ति भएको स्थानमा देवी वस्छिन्।

उनको नित्य पूजाअर्चना गरे सकल मानव जातिको कल्याण हुनेछ। रोगब्याध र भवितव्यबाट मुक्ति मिल्नेछ। रम्भादेवीको श्रद्धापूर्वक सम्झना गरे मनले चिताएको पुग्नेछ। परमहंशले सपनामा प्राप्त भएको दीक्षावारे गाउँलेहरुलाई वताए। उनको भनाइवाट प्रभावित शिष्यहरुले रम्भापानीको मुहानमा देवीको शीलामूर्ती स्थापना गरी नित्य पूजा गर्ने परम्परा वसाए।

रम्भादेवी मन्दिर क्षेत्रलाई आध्यात्मिक, प्राकृतिक र ऐतिहासिक धामका रुपमा विकास गर्न सकिन्छ। रिमिघा पर्वत आकर्षक हिलस्टेशन बन्न सक्छ।  

एक लोक मान्यतानुसार स्वर्गका राजा ईन्द्रको दरवारमा नृत्याङ्गना रहेकी अप्सरा रम्भाले रम्भापानीदेखि उत्तरको ‘रिमिघा’ पर्वतमा तपस्या गरी शक्ति प्राप्त गरेकी थिइन्। उनै रम्भाले आफुलाई बरदान प्राप्त शक्तिको परीक्षणका क्रममा सुख्खा जंगलमा जल उत्पन्न गरी बनमा विचरण गर्ने जिवजन्तु र आसपासका मानव बस्तीको प्यास मेटी दिएकी थिइन्। उनको त्यही चमत्कारिक उपकारको संझनामा विस्तारै उक्त जंगलको नाम ‘रम्भापानी’ रहन गएको र उनलाई वनदेवीका रुपमा मान्यता दिई पूजा गर्न थालियो।

अर्को एक प्रसंग अनुसार त्रेतायुगमा भगवान राम र सीता उत्तरी मुक्तिनाथ तीर्थयात्राका लागि निस्किनु भयो। त्यस क्रममा उहाँहरु हरिहरक्षेत्रवाट त्रिबेणीधाम हुँदै रामपुर आइपुग्नु भएको कथन छ। रामपुरवाट ऋषिदेव अंगिराको पवित्र तपस्यास्थल हुँदै राम्दी प्रस्थान गर्नेक्रममा यस जंगलमा सीताको प्यास मेट्न धनुबाण हानी पानीको मूल उत्पत्ति गरेको किंवदन्ती पाइन्छ। 

रामले उत्पत्ति गर्नु भएको र सीताले सवैभन्दा पहिले प्यास मेट्नु भएको जलको मुहान संरक्षणका लागि स्वयं सीता देवीले रोप्नु भएको भनिएको बेतबाँसको घारी रम्भापानीको मुहानमा देख्न सकिन्न्छ। सीताको अर्को नाम ‘रमा’ वाट ‘रंभादेवी’ नाम रहन गएको हो भन्ने भनाई  छ ।

उनै अंगिरा ऋषिको ऋषिको नामवाट अपभ्रंसभएर त्यस भेकमा बग्ने खोलाको नाम अँगाहाखोला रहन गएको जनश्रुती पाइन्छ। यसको मूल मुहान रम्भापानीवाट निस्कने पवित्र जलधारा नै हो। मन्दिरमा बडा दशैंको अष्टमी र अन्य महत्वपूर्ण चाडपर्वमा पञ्चवली चढाइन्छ। दुःख आपत्ति टार्न वा मनले चिताएको कुरा पूरा गर्न रंभादेवीसंग भाकल गरिन्छ। मनोकांक्षा पूरा भएपछि भाके बमोजिम रोट चढाउने, परेवाको जोडी उडाउने, कुखुरा, हाँस, बोका, भेँडा, राँगा, आदिको बली चढाउने प्रचलन छ।

त्यस्तै श्रीकृष्ण जन्माष्टमीका दिन मन्दिरमा विशेष पूजा अर्चनाका लागि टाढाटाढाबाट श्रद्धालुको भीड लाग्नुका साथै नाँचनडाँडामा भव्य मेला लाग्ने गरेको छ। अर्को महत्वपूर्ण तीर्थस्थल रिमिघा हो। रिमिघा पर्वत (१७९४ मिटर) रम्भादेवी मन्दिर क्षेत्रवाट मात्र ५ किमि उत्तरमा पर्छ। ताहूँको देउरालीवाट ओम भञ्ज्याङ्ग र झोकेदी टिमुरडाँडा हुँदैपुगनपुग ५ कि. मि. सडक पर गएपछि रिमिघाको पूर्वी काखमा पुगिन्छ। त्यहाँवाट पैदल ३० मिनेटको दूरी छिचोल्ने बित्तिकै मनमोहक चुचुरो चुम्न सकिन्छ। लसुने–ओम भञ्ज्याङ (१५ किमि) सडकमा बस सञ्चालन भएपछि रिमिघा जान थप सहज भएको छ। रिमिघा पर्वत पूर्व बिरकोटदेखि पश्चिम पिपलडाँडाको पुछारसम्म करिव ३० किमिमा फैलेको छ।  
हिउँदमा अत्यधिक ठण्डी र गृष्म याममा शीतलता यस पर्वतका विशेषता हुन्। शिखरमा रमणीय चौर र खर्क छन्। चिटिक्क थुम्का छन्। त्यहाँ ३५ मिटर लामो गुफा पनि छ ।

डाँडामा गुराँसका ठूला रुखमुनी सिद्धबाबास्थान र देवीस्थानलाई छुट्टाछुट्टै पर्खालले घेरी राखिएको छ भने पूर्बतर्फको  तल्लो थुम्कामा देवीको सानो मन्दिर निर्माण गरिएको छ। वरपरका गाउँले सुख्खा खडेरी परेमा रिमिघा पुगेर सिद्धबाबाको पूजा किर्तन गरी बर्षाको आह्वान गर्ने परम्परा अद्यापि कायम छ। 

रिमिघा वरपर मगर जातिको वाहुल्यता छ। विगतमा रिमिघा मगर राज्यको राजधानी भएको अनुमान गर्न सकिन्छ। त्यहाँ रहेका भूरे राजाका दरवारका भग्नावशेष, गहिरो इनार, सिद्धस्थान, देवीस्थान, युद्ध वा प्रशिक्षणका लागि वनाइएका ट्रेञ्च र किल्लाका अवशेष, परेड मैदान र उत्तरी  पहरोमा रहेको रहस्यमयी गुफा, आदिको अनुसन्धान हुनु आवश्यक देखिन्छ।

पछिल्ला बर्षहरुमा रिमिघाको पर्यटकीय महत्व वारे स्थानीयमा चेतना वढ्दै गएको छ। डाँडाका थुम्कामा तीनकन्या मन्दिर तथा बौद्धमूर्ति स्थापना गरिएको छ। रिमिघावाट प्रशिद्ध हिमाल मनास्लु, अन्नपूर्ण र धवलागिरी अन्तर्गतका चुचुरा एकसाथ अवलोकन गर्न सकिन्छ।

रिमिघालाई आन्तरिक र वाह्य पर्यटकको हिलस्टेशनका रुपमा विकास गर्न सकिन्छ। सन् २०२०लाई नेपाल पर्यटन बर्षका रुपमा मनाउने सन्दर्भमा सरकारले विकास गर्न छानेका सय नयाँ गन्तव्यको सूचीमा रम्भादेवी पनि परेको छ। त्यहि सिलसिलामा गाउँपालिकाको पहलमा वैशाख ३० गते ‘रम्भा रिमिघा पर्यटन महोत्सव’ गरिँदैछ। महोत्सवले यस क्षेत्रलाई उजागर गर्ने छ। अब पर्यटन गुरु योजना बनाएर अघि बढ्नु पर्छ।

प्रकाशित: २८ वैशाख २०७६ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App