१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

व्यवसायी श्रेष्ठकाे घरमा भोज

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ५०औं वैवाहिक वर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भव्य बंगलामा मनाए। सीतासँग वैवाहिक बन्धनमा बाँधिएको ५० वर्ष पुगेको उपलक्ष्यमा दाहालले बिहीबार भव्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए।

व्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन्। यति बेला एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। श्रेष्ठको सुनाकोठी (ललितपुर) स्थित १८ रोपनीमा फैलिएको निवास परिसरमा दाहालले ५०औं वैवाहिक वर्षगाँठ मनाइरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए। राज्यसँग मुद्दामामिला गरिरहेका र ठूलो परिमाणको कर बुझाउनुपर्ने व्यापारीसँग आफ्ना नेताको साँठगाँठ र भव्य भोजले आफूलाई ‘लज्जाबोध भएको’ नेकपाका केही नेताले नाम उल्लेख नगर्ने सर्तमा नागरिकलाई बताए। यो घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको ‘शून्य सहनशीलता’ लाई समेत जिस्क्याएको अनुभूति भएको ती नेताको बुझाइ छ।

नेकपाका नेता भन्छन् : हामीलाई लज्जाबोध भयो

व्यापारी श्रेष्ठसँग दाहालको सम्बन्ध अहिलेको मात्र होइन। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पनि दाहाल परिवारले श्रेष्ठकै उक्त घरमा आश्रय लिएको थियो। दाहाल दम्पतीको वैवाहिक वर्षगाँठ मनाउन श्रेष्ठ केही दिनअघिमात्रै विदेशबाट नेपाल आएको स्रोतले जानकारी दियो। ‘पूर्वप्रधानमन्त्री दाहालको ५०औं वैवाहिक वर्षगाँठ मनाउनकै लागि नेपाल आउनुपरेको हो,’ श्रेष्ठलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छिट्टै फिर्ता भइहाल्नुपर्ने छ।’ श्रेष्ठ पुँजीगत लाभकरबापतको रकम तत्काल तिर्नुनपर्नेगरी सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएपछि बेलारुस र साइप्रस जाने तयारीमा रहेको स्रोतले बतायो।

दाहाल दम्पतीको वैवाहिक वर्षगाँठ अवसरमा आयोजित भोजमा मन्त्री, सांसद, व्यापारी, विभिन्न राजनीतिक दलका नेता÷कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थित थियो। दाहालको वैवाहिक वर्षगाँठको खानपानको व्यवस्था सोल्टी होटेलको क्याटरिङले गरेको थियो।

एनसेल र उसको साझेदार कम्पनी आजिआटाले सरकारलाई बुझाउनुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पँुजीगत लाभकर नतिर्न श्रेष्ठले शक्तिकेन्द्रसँग लबिङ गर्दै आएको स्रोतले बताएको छ। एनसेलमा श्रेष्ठको २० प्रतिशत सेयर थियो। उनले आफ्नो नामको सेयर भावना सिंहको नाममा स्वामित्व हस्तान्तरण गरेका छन्। बाँकी ८० प्रतिशत सेयर टेलियासोनेराका नाममा थियो। टेलियासोनेराले आफ्नो स्वामित्वको सेयर आजिआटा कम्पनीलाई २०७२ चैत २९ गते बिक्री गरेको थियो। एनसेल र आजिआटाको जिकिरअनुसार सरकारलाई तिर्न बाँकी कर १४ अर्ब ३६ करोड रुपैयाँ मात्रै बाँकी छ।

आफूले खरिद गर्नुपूर्वको कम्पनी टेलियासोनेराबाट कर उठाउनुपर्ने दाबी एनसेल र आजिआटाले गर्दै आएका छन्। तर सर्वोच्च अदालतको माघ २३ गतेको फैसलामा टेलियासोनेरा नभई कर तिर्ने दायित्व एनसेल–आजिआटाको नै भएको उल्लेख छ। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै एनसेल–आजिआटा कर नतिर्नेगरी पुनः सर्वोच्चमै पुगेकाले मुद्दा विचाराधीन छ।

पहिलेको फैसलाविपरीत सर्वोच्चले नै तत्काल एनसेलबाट कर नउठाउन सरकारलाई अन्तरिम आदेश दिएको छ। ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको फैसलापछि एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ७४ हजार रुपैयाँ ३ महिनाभित्र तिर्न पत्राचार गरिसकेको थियो।

राजनीतिक शक्तिकेन्दकै स्वार्थमा एनसेललाई कर नतिराउन चलखेल हुँदै आएको देखिएको छ। यस मामिलामा राजनीतिक नेतृत्वको भूमिका शंकास्पद मानिएको छ। रिटपछि तत्काल कर असुल्ने प्रक्रिया अघि नबढाउन सर्वोच्चले आदेश दिएको छ। सर्वोच्चको उक्त आदेश र एनसेलकै लगानीकर्ताको घरमा सत्तारुढ दलका अध्यक्षको भोजभतेरलाई ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) का रुपमा लिइएको छ। ‘राज्यलाई तिर्नुपर्ने कर नतिर्ने विवादास्पद व्यापारीको प्रायोजनमा अध्यक्षकै पारिवारिक भोजभतेर हुनुले हामीलाई पीडाबोध भएको छ,’ नेकपाका एक वरिष्ठ नेताले भने, ‘हामीबीच भोजभतेरकै क्रममा पनि खासखुस भयो, असजिलो महसुस ग¥यौं। यस विषयमा राजनीतिक कारणले तत्काल खुलारुपमा बोल्न सक्ने स्थिति छैन।’

प्रकाशित: २८ वैशाख २०७६ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App