१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'कार्की विरुद्वको महाअभियोगले अख्तियार मर्माहत'

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोग प्रमुख लोकमासिंह कार्की विरुद्वको महाअभियोग प्रस्तावले अख्तियार परिवारलाई मर्माहत तुल्याएको बताएका छन्।

कार्की माथि व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव पेश र कार्कीको निलम्वन पछि आयोगका कर्मचारीहरुलाई निर्देशन दिँदै बस्न्यातले आयोग एउटा जीवन्त संस्था भएको र घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारीतामा विचलन नआउने बताए।

उनले कर्मचारीहरुले आयोगद्वारा निर्धारित आचरण र संवैधानिक तथा कानूनी म्यान्डेटको इमान्दारीपूर्वक परिपालना गर्नुपर्ने बताए।

आयोग प्रमुख कार्की माथिको महाअभियोगको प्रस्तावले संविधा बमोजिम सार्वभौम संसदमा प्रवेश पाइसकेको हुँदा अब यो विषय संबैधानिक प्रक्रियाबाटै निरुपण हुने उल्लेख गर्दै उनले सार्वभौम संसदले गर्ने निर्णय सबैका लागि सिरोधार्य हुने बताए।

बस्न्यातले आयोगको अनुसन्धान प्रक्रिया र तिनको गोपनियताको प्रश्न अत्यन्तै संबेदनशील र मार्मिक भएको हुँदा त्यसप्रति जिम्मेवार रहन कर्मचारीहरुलाई निर्देशन दिँदै कुनै पनि विषय माथिको आयोगको आधिकारिक धारण प्रवक्ता वा सूचना अधिकारी मार्फत मात्र सार्वजनिक गर्न निर्देशन दिए। उनले आयोगमा प्राप्त उजुरीसँग सरोकार राख्ने जो- कसैलाई पनि हैरानी वा दु:ख दिने कार्य नगरि अनुसन्धानको दायरामा आएका सबैमाथि सम्मानजनक व्यवहार गर्न निर्देशन दिए।

अख्तियार प्रमुख कार्की विरुद्ध गत बुधबार प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महाअभियोग प्रस्तावका विषयमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले हालसम्म कुनै निर्णय गरेको छैन भने सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले सबै दलसँगको सहमतिका आधारमा निर्णय लिने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ। महाअभियोग समितिले अख्तियार प्रमुख कार्कीलाई समितिमा बोलाएर बयान लिने छ। ११ सदस्यीय  समितिले महाअभियोग प्रस्तावमा आरोप लगाएका विषयमा एक महिनाभित्र अनुसन्धान गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

 

 

प्रकाशित: ७ कार्तिक २०७३ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App